Unsuccessful Love And Suicide | Story By Santosh Basnet

Young man with hands clasped together

This is a motivational story for every youths. Now a days the rate of youngsters committing suicide is increasing day by day. This story tends to give a positivity on how to feel the precious life. Suicide is a disgraceful act, say a big NO to Suicide.

कथा :- असफल प्रेम अनि आत्महत्या

लेखक: सन्तोष बस्नेत

अन्तिम पटक उस्लाइ म्यासेज पठाएं। “आज बाट म कहिल्यै तिमिलाइ सताउने छैन। सधैँ खुशी हुनु तिमी…. तिमिले जित्यौ अनि मैले हारेँ……।”
आँखाबाट आँशुका धारा बग्दै थिए। मुटु पोलि रहेको थियो। पलङको छेउमा उस्ले चिनो दिएको ढाकाको गलबन्दी थियो। मैले त्यसलाइ तानेर धेरैबेर सम्म नियाली रहेँ। ओठमा लगेँ अनि चुम्बन गरेँ। मलाइ झनै गाह्रो भएर आयो। उस्ले त्यो गलबन्दी उपहार दिँदा खेरिको पल आँखामा नाच्न थाल्यो। मलाइ असहैय्य भएर आयो। म पलङ बाट उठेँ अनि छेउमा रहेको प्लास्टिकको कुर्सी तानेर बिचमा ल्याएँ। हातमा गलबन्दी लिएर म कुर्सी माथी उभिएँ। गलबन्दिको कुना पटिबाट एक सर्को घाँटिमा बेरेँ अनि घाँठो पारेँ। गलबन्दिको अर्को कुनो तन्काएर माथी पंखामा बाँध्न खोजेँ। पंखा अलिक माथी भएको कारण मैले सजिलै भेट्न सकिन। खुट्टाका औंलाले मात्र कुर्सिमा टेकेर केही तन्किए पछि बल्ल पंखामा गलबन्दिको फेरो हाल्न पुगेँ। अफ्ठेरो गरि बल्लतल्ल पंखामा गलबन्दी बाँधिं सकेपछी सोचें “अब उस्लाइ थाहा हुनेछ, म कति धेरै मायाँ गर्थें उस्लाइ भनेर। उ पछुताउने छे, मलाइ यसरी धोका दिएकोमा।”
मैले लामो सास फेरेँ अनि खुट्टाले बल गरेर कुर्सिलाइ ठेलिदिएँ। कुर्सी भुइँमा लड्यो। म तर्लङ्ग गलबन्दिमा झुन्डिएँ। घाँटिमा जोडले गलबन्दी कसियो। म केहीबेर छटपटाएँ अनि बिस्तारै सान्त भएँ। मेरा आँखा बन्द भए। मेरो अगाडि अन्धकार अनि सुन्यता छायो।

मलाइ होस् आयो। मैले आँखा खोलेर हेर्दा म चकित भएँ। यस्तो कसरी हुन सक्छ ? म कसरी जिवित छु अझै? म गलबन्दिमा तुर्लुङ्ग झुन्डिएको छु तर पनि म कसरी अझै मरेको छैन? अहं यस्तो हुनै सक्दैन। घाँटिमा पासो लगाएर झुन्डिएको मान्छे कसरी जिवित हुन सक्छ ? म संग प्रश्न नै प्रश्न थिए तर जवाफ एउटै थिएन। कदापी हुनै नसक्ने कुरा भएको थियो। मैले घाँटिमा कसिएको गलबन्दी फुकाएँ अनि पलङमा गएर बसेँ। म यो आश्चर्य हुनुको जवाफ खोज्दै थिएँ। त्यति नै खेर मेरा नजर पंखा भए तिर पुगे। म झनै चकित भएँ। अर्को ठूलो झट्का लाग्यो मलाइ। चक्कर आउला झैँ भएर आयो। पंखामा गलबन्दी झुन्डिएको थियो अनि गलबन्दिमा म पनि तुर्लुङ्ग झुन्डी राखेको थिएँ। म आत्तिदैँ पलङबाट उठेँ अनि झुन्डिएको मेरो आफ्नै शरिरलाइ समाउन खोजे। तर अहँ मैले आफ्नो शरिरलाइ छुन पनि सकिन। मेरा हातहरु मात्र हावामा सलबलाए। यो के हुंदैछ ? म आफ्नो शरीर झुन्डिएको देख्दैछु तर म त्यसलाइ छुन पनि सक्दिन। कस्तो अचम्म? म हार खाएर फेरि पलङमा बसें अनि सोच्न थाले। सुनेको थिएं, आत्मा र शरीर अलग कुरा हुन्। भौतिक शरीर मर्दैमा आत्मा मर्दैन र मृत शरीर संग आत्माको मिलन हुन पनि सक्दैन।अब भने मैले केही बुझें झैं लाग्यो। जिवित मात्र मेरो आत्मा थियो। मेरो शरीर त मरि सकेको थियो। म आत्मा मात्र थिएँ। सोच्दा सोच्दै बाहिर बाट आवाज आयो। “बाबू….ए बाबू… यति बेला सम्म किन उठ्दैनस् आज ?” आवाज आमाको थियो।

म आत्तिदैँ कराएं “आमा… यहाँ आउनुन……।”
केहिबेर आमाको आवाज आएन। फेरि केहिबेर पछि आमाले ढोकै बाहिर बाट कराउनु भयो ” हैन किन सुन्दैनस् हँ ? उठ् भनेको छिटो।”
म उस्तै आत्तिँदैं रुँदै बोलेँ “आमा हौ… सुन्नुन….।”
आमाले ढोका ठेल्दै कराउनु भयो “हैन बोल्दा पनि बोल्दैन त….।”
ठुलो झट्काले ढोका खोल्ने बित्तिकै आमा आत्तिनु भयो। आत्तिएर ठूलो आवाजमा कराउनु भयो “बाबू………… ए बाबू…….।”
आमा मेरो झुन्डिएको शरिरलाइ पकडेर पागल झैँ चिच्याउदै रुन थाल्नु भयो। बाहिर बाट बुबाको आवाज आयो “हैन के भयो हँ..?”
आमाले उस्तै रुंदै चिच्याउनु भयो “यहाँ हेर्नू न…. बाबू हौ…. बाबू।”
बुबा दगुर्दै कोठामा आउनु भयो। मेरो शरिर पकडेर उभिनु भएकि आमा रुँदै भुइंमा ढल्नु भयो। आमाको आवाज मधुरो भयो। बुबाले आत्तिदै मेरो शरीर पकडेर चिच्याउनु भयो “बाबू…. यो तैले के गरिस् छोरा….?”
बाहिर बाट छिमेकी हरु “हैन के भयो” भन्दै कोठामा पस्न थाले। सबै चकित भए। आमा बुबा संगै धेरै जनाको रुवाइ अनि चिच्याहटले कोठा शोकाकुल भयो। म भुइंमा ढलेकी आमा भए ठाउँमा गएर उठाउन खोजेँ, तर अहँ मैले आमालाइ छुन सकिन। मैले कराएँ “आमा……।” मेरो आवाज कसैले सुनेन। मैले बुझेँ अब म बोल्नु ब्यर्थ छ। मलाइ कसैले देख्न अनि सुन्न सक्दैन। म त मरिसकेको छु। म हार खाएर फेरि पलङमा नै थ्याच्च बसेँ। आमाको फेरि आवाज आयो “ए मेरा छोरा….. किन यस्तो गरिस् बाबू ? हामिले माया गरेनौं तंलाइ ?…… मलाइ पहिले मारेको भए हुन्थ्यो नि बाबू।” चिच्याउदा चिच्याउदै आमाको आवाज सुकेर फेरि लड्नु भयो। छिमेकी काकिले छेउको जगको पानी टाउकोमा छेप्दै आमालाइ काखमा राख्नु भयो। बुबा पनि रुंदा रुंदै लड्न खोज्नु भयो। छिमेकिहरुले बुबालाइ सम्हाल्दै पलङमा बसाए। बुबाले रुंदै भन्नू भयो “के दशा लाग्यो यो….. छोरो ज्ञानि छ जस्तो लाग्थ्यो….. कति सपना देखेकों थिएँ।” बुबा भक्कानो छोडेर रुन थाल्नु भयो।

मैले कहिल्यै मेरो बुबा रोएको देखेको थिएन। बुबा सधैँ कडक देखिनु हुन्थ्यो। ठूलो स्वरमा बोल्नु हुन्थ्यो। बुबाले फेरि भक्कानो छोडेर रुंदै भन्नू भयो “हामिले के गरेको थिएन बाबू तेरो लागि ? हामिलाइ केको सजाय दिएको यस्तो ?” हुन पनि हो, मेरा बा’आमाले मेरा लागि सबथोक गर्नु भएको थियो। आफ्नो हैसियत भन्दा धेरै गर्नु भएको थियो। सहरकै राम्रो कलेजमा पढाउनु भएको थियो। कहिले कुनै कुराको अभाव हुन दिनु भएको थिएन। बुबाले आफ्नो सन्चय कोष रित्याएर मेरो लागि मोटरसाइकल किनुदिनु भएको थियो। आमाले आफ्नो गहना बेचेर मेरो लागि ल्यापटप किन्ने पैसा दिनु भएको थियो। मेरा लागि ज्यान दिने मेरा बुबाआमालाई बिर्सिएर मैले केही महिनाको प्रेमको लागि ज्यान दिएको थिए। मलाइ आफै देखि धिक्कार लागेर आयो। म भक्कानो छोडेर रुन थालेँ। तर मेरो रुवाइ कसैले सुनेन अनि वास्ता गरेन। घरमा कोलाहल छाएको थियो। मान्छेहरु खचाखच भरिएका थिए।
कोठामा प्रहरी प्रबेश गरे। मान्छेहरुले बाटो छोडिदिए। प्रहरिले सबैलाइ कोठा बाहिर निस्किन भने। छिमेकिहरु बाहिर निस्किए। प्रहरिले मेरो शरिरको तस्बिर लिए, कोठाको तस्बिर लिए अनि गलबन्दी काटेर मेरो शरिरलाइ भुइंमा झारे। आमाले चिच्याएर रुँदै मलाइ अंगालो हाल्न खोज्नु भयो। तर प्रहरिले दिएनन्। आमाले रुंदै भन्नू भयो “मलाइ पनि कसैले बीष ल्याइ देउन…… म पनि जान्छु बाबू संगै।” मैले मेरा बुबाआमा रोएको सुन्नै सकिन। म रन्थानिएर बाहिर निस्किएँ। घर बाहिर मान्छेको भिड थियो। कोहि आँसु पुछ्दै थिए त कोहि खासखुस गर्दै थिए। कसैले बिस्तारै भन्यो “कस्तो हुतियारा रहेछ…. झुन्डेर मर्नेको त माया पनि लाग्दैन।” अर्कोले बोल्यो “केटिले धोका दिएर मरेको रे।” फेरि अर्को बोल्यो “यस्ता सन्तान त नजन्मिनु नि बरु…. हेर बाआमालाई ज्युदै मारेको… बिचरा।”

मैले सुन्न सकिन। म बाटो छेउ तिर पुगेँ। त्यहाँ मेरा साथिहरु भेला भएर बसेका थिए। कोहि रुंदै थिए त कोहि बिस्तारै बोल्दै थिए। म नजिक गएँ। साथी रामेले बोल्यो “किन यस्तो गरेको होला यार त्यसले?” बिक्किले आँसु पुछ्दै भन्यो “अस्ति देखि तनाबमा थियो तर यस्तो गर्छ भनेर त सोचेको पनि थिएन यार।” सबिनले लामो सास फेरेर बिस्तारै बोल्यो “कस्तो केटिको लागि ज्यान दियो यार…. जसका लागि ज्यान दियो त्यस्लाइ त अलिकती पनि फरक परेको छैन।”
रामेले उत्सुक हुँदै सोध्यो “संगितालाइ सुनाइस्?”
सबिनले भन्यो “अगि फोन गरेको थिएं।”
बिक्किले सोध्यो “के भनित ?”
सबिनले सुनायो “के भन्नू यार, मैले उस्लाइ मर भनेको हैन, पो भन्छे। उस्को स्वरमा अलिकती पनि दुख थिएन यार।”
सबिनले फेरि थप्दै भन्यो “मरेको खबरले सम्म नपगाल्ने केटिको लागि के ज्यान दिएको होला।”
मलाइ रिंगटा लाग्ला जस्तो भयो। मेरो सास रोकिन खोज्यो। मैले जस्को प्रेममा मृत्यु रोजेको थिएं उस्लाइ मेरो मृत्यु खबरले कति पनि फरक परेनछ। मलाइ मैले मृत्यु रोजेकोमा पछुतो लागेर आयो। प्रेममा पागल भएर मैले मेरा बुबाआमालाइ नै बिर्सिएर यस्तो गलत कदम उठाएको थिएँ, तीनै बुबाआमाको भने सारा खुशी छिनिएको थियो। मैले केही महिनाको प्रेमको लागि बर्षौ सम्मको प्रेमको हत्या गरेको थिएं। जसले मलाइ प्रेमको बदलामा प्रेम दिएन उस्को लागि मैले आफुलाइ भन्दा बढी प्रेम गर्ने अनि मलाइ संशार ठान्ने मेरा बुबाआमाको प्रेमलाइ लात हानेको थिए।

पासो म लागेको थिएँ तर मरेको मेरो सारा परिवार थियो। म रुँदै कोठा भित्र पसेँ। मेरा बाआमा अनि आफन्तहरु डाको छोडेर रोइ राखेका थिए। रुंदा रुंदै आमाको आवाज बिलिन हुन लागेको थियो। बुबाको पनि श्वर सुकि सकेको थियो। बुबाआमा दुबैजना अर्धचेत अवस्थमा हुनुहुन्थ्यो। मलाइ असहैय्य भएर आयो। मलाइ आमालाइ बोलाउन मन लाग्यो। मैले कराएं “ए आमा… सुन्नुन…..।”
मेरो आवाज कसैले सुनेन। मैले झनै जोडले रुंदै कराएँ “ए आमा…. सुन्नुन हौ…….।”

म झल्यास्स ब्युझिएँ। सबै सपना रहेछ। मेरो शरीर पसिनाले भिजेको थियो। आँखाबाट आँसु बगेका थिए। सास स्याँ स्याँ भएको थियो। पल्लो कोठाबाट आमा बोल्नु भयो “के भयो बाबू, किन कराको ?”
मलाई रुन आयो। म रोइ दिएँ । आमा ढोका खोलेर मेरो नजिक आउनु भयो अनि सोध्नु भयो “के भयो…. ?”
मैले रुंदै आमालाइ अंगालो हालेर बोलें “सपना….।”
आमाले मेरो टाउको सुमसुम्याउदै भन्नू भयो “नराम्रो सपना देख्दा रुन्छन् त …..यत्रो मान्छे भएर?”
मैले केही जवाफ दिइन। आमाको काखमा टाउको राखेर सुतिदिएं। केहिबेर पछि आमाले मेरो केस सुम्सुम्याउदै भन्नू भयो “कहिलेकाहीँ खराब सपना देखिन्छ…. अर्कै तिर सम्झेर सुत अब।” यति भनेर आमा आफ्नो कोठा तिर जानू भयो। मेरो धड्कन लगभग शान्त भइ सकेको थियो। मैले मेरो सिरानिमा राखेको मोबाइल निकाले। ग्यालरी खोलेँ। मोबाइलको ग्यालरी लगभग उसैका तस्बिरहरुले भरिएको थियो। मैले सबै तस्बिर एकै पटक डिलिट गरिदिएं। आमाबुबाको एउटा तस्बिर छानेर मोबाइको वालपेपर लगाएं। उस्लाइ गरेका सम्पुर्ण म्यासेज अनि उस्को नम्बर पनि डिलिट गरें। अनि मनमनै कसम खाएं “म कहिल्यै यस्तो खराब कदम चाल्ने छैन। मलाइ संसार ठान्ने मेरा बुबाआमालाइ कहिल्यै रुवाउने छैन। मेरा बाआमाले जति माया मलाइ कसैले प्रेम गरेको छैन र गर्ने पनि छैन। उहांहरुको प्रेमलाई बिर्सिएर म अरु कसैको प्रेममा आफुलाइ मार्ने छैन।”
-समाप्त-

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here