Women’s Day Poem

0
596

यदि म पनि
नारी भएको भए
सानै उमेरमा
ठूलो जिम्मेवारी लिन्थे होला
त्यो जिम्मेवारी
जुन जिम्मेवारी
मै हुँ भन्ने पुरुषले पनि
लिन सक्दैन
रजस्वला :

कलिलै उमेरदेखि शरीरबाट निस्किन्छ रगत
जुन रगतले प्रमाणित गरिदिन्छ कि म नारी हो भन्ने
र त्यसैगरी मेरो पनि पेट दुख्दो हो
बेस्कन सासै जाला जसरी
भित्र आन्द्रा देखि
पेट दुखेको बेला
कसैले मलाइ
पोटासियम साइनाइट
ल्याएर दिए
त्यो पिडा
खप्न नसकी
बरु एकै घुटकीमा
सकिदिने थिए
यो सास
किनकी
यो पेट दुख्ने पीडा
म खप्नै नसक्ने रहेछु

तर आज पनि
यो पीडा
खपिरहनु भएका नारीहरु प्रति
मेरो सलाम

रजस्वला
यदि म नारी भएको भए
प्रत्येक महिनाको चार दिन
म पनि थुनिन्थे होला
छाउपडी गोठमा
जुन गोठमा
सूर्यका किरणहरुले
कहिल्यै मितेरी गाँसेनन
अनि
बर्सातको पानी
कहिल्यै अडिएन
त्यो छाउपडीको छानोमा
चुहिरह्यो लगातार
बर्सातको समयमा
छाउपडीको छानोमा

बर्षमा ४८ दिन
महिनामा ४ दिन
मेरो शरीर भत्किएर
रगत चुहिन्थ्यो
त्यसरी नै
छाउपडीको छानोबाट
पानी चुहिरहयो

जीवनमै पहिलो पटक
मलाई रजस्वला भएको छण
म पनि आमा खोज्थे होला
रुँदै
कराउदै
किनकी
अस्तिकै दिन हात काटदा
त्यत्रो रगत बग्यो
तर पटक्कै डर नलागेको मलाइ
तर
आज
सोच्दै नसोचेको भागबाट
एकाएक रगत निस्कदा
म पनि बेहोसिन्थे होला

रजस्वला भएकै दिन
पल्लो छेउ बा
वल्लो छेउ म
एउटै सोफामा बसेर
टिभी हेर्ने मेरो बानी
म बाट एकाएक हटदो हो
र म बा भन्दा अलिक पर
वा भनौ
बा बसेको सोफा
र सोफाले छोएको गलैँचा
भन्दा अलिक पर
चिसो भुइँमा बसेर
म पनि टिभी हेर्दी हुँ

मलाई
पुजाकोठामा पुग्न
मेरो सुत्ने कोठादेखि
चार दिन लाग्थ्यो होला
अनि
भान्साकोठाका भाँडाकुँडाहरु
भात पाकेर खाइनसकुन्जेल
म बाट अछुत रहन्थे

खाइसके पछि
ती जुठा भाडाकुडा
मलाई छुन स्वतन्त्र हुन्थे
हो
यस्तै कुरा सम्झदै
सुतेको दिन
म मध्यरातमा
एउटा सपना देख्छु
म मा रजस्वला भएको
अनि मेरी आमाले
एक टुक्रो कपडाको टालो दिएको

मेरो मुहारमा
झल्याँस्स सूर्यको किरण पर्दछ

म उठदछु
र दौडन्छु
मैले देखेको सपना
आमालाई सुनाउन

बहिनी भान्साको कुनामा उभिएकी छे
चियाको कप समाएर
म उसलाई चिया माग्दछु
आमाले कराउनु हुन्छ
हुदैन त्यसले
म सोध्छु किन के भो ?
आमा
ओठबाट दाँत
देखिन्छ कि गरि हास्दै भन्नू हुन्छ
बहिनी पर सरेकी छे ।।

Poem by : निरज दाहाल

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here