“She” – A Story Of A College Student

भर्खरै एसएलसी पास गरि प्लस टू जोइन गरेको संसार जितेको जस्तो अनुभव थियो, नहुनु पनि किन फलामको चिउरा जो चपाएको त्यो पनि एकैपटकमा 11 join गरि क्लास रेगुलर जाँदैगर्दा चुज पाईट्मा चटक्क धार बस्ने गरि ईस्त्री लगाएर कपाल बिचबाट सिउँदो पारेर अनुहारमा छुसछुस पलाएको दारीलाई फ्रेन्चकट काटेर ऐना अनुहार हेर्दा भित्र भित्रै चलचित्र को नायक झैँ फिलिङ्ग्स आउँथ्यो।

कलेजमा चल्तीकै ग्रुप थियो हाम्रो! पढाई, झगडा अनि हल्ला सबैमा अग्रसर हुन्थ्यौँ। पढाईमा पनि राम्रै भएकोले होला सिक्षकहरुबाट पनि राम्रै रेस्पोन्स आउँथ्यो। कलेजको जीवन यसैगरी रमाईलोमै बित्दैथियो। लगभग दसैँअघिको कुरा हो हाम्रो कलेजमा प्रत्यक साल जस्तै यो साल पनि १२ लाई बिदाई अनि ११ लाई स्वागत गर्ने कार्यक्रम हुने कुरा चल्यो। यसपालीको कार्यक्रम ११-१२ ले मिलेर संयुक्त रुपमा कार्यक्रम गर्ने निस्कर्षमा पुग्यौँ। कार्यक्रमको लागि दिनहुँ जस्तो मिटिङ्ग हुन्थ्यो। तर हामिलाई काम के कसो गर्ने भनेर सल्लाह भन्दा हाँसो, मजाक अनि क्लास बंक गर्ने सजिलो बहाना भएको थियो। कार्यक्रम कसरी गर्नेभन्दा पनि कलेजले दिएको बजेट बाट फाईदा कसरी निकाल्ने र सोलमारीमा जम्ने कुरामै बढी ध्यान हुन्थ्यो। हामी मध्य सबैभन्दा सोझो र सिक्षकहरुको पनि अत्यन्तै प्यारो भएकोले बिकासलाई आर्थिक संयोजकको जिम्मेवारी दिईयो। आफू सोलमारी नसड्काउने भएपनी हाम्रो कुरालाई काट्न सक्दैनथ्यो।

कार्यक्रमको दिन नजिकिदै जाँदा सम्पुर्ण जिम्मेवारी को पनि बाँडफाँड हुँदै गयो। कक्षा-कक्षामा गएर कार्यक्रमको बारे जानकारी गराउन पर्ने अनि सिक्षकहरुसँग पनि सल्लाह लिनुपर्ने अनि स्टेज समेत सम्हाल्नुपर्ने भएकाले कार्यक्रम संयोजक र संचालको जिम्मा लिने हिम्मत हाम्रो कक्षाबाट कोहि पनि भएनन। १२ बाट भने आकाशले जिम्मा लिएको रहेछ। पर्दा पछाडी बसेर रमाईलो गर्ने सोचमा म सम्पुर्ण जिम्मेवारीबाट पन्छिएँ।

कसरी सोलमारी ल्याउने?

के सितन खाने?

कतिबेला खाने?

कता बसेर खाने?

त्यो सबै तारतम्य मिलाउने मास्टर माईन्ड मेरै थियो। हप्तादिन देखीको योजनाले त्यतीखेर पानी खायो। जतिबेला प्रधानाध्यापक ११ बाट पनि कार्यक्रम संयोजन र संचालनको जिम्मा लिने एकजना चाहिन्छ भन्नुभयो। कक्षामा आएर एकजना त जस्ले भए पनि जिम्मेवारी त लिनै पर्छ भने। प्रधानाध्यापक को बोली भुईँमा खस्न नपाउँदै पुरै कक्षाले मुन्टो म तिर फर्काए। म हत्तपत्त भुईँतिर आँखा लगाउँदै त्यो बिपत बाट आफुलाई जोगाउने अनवरत प्रयासमा थिएँ। यत्तीकैमा आकाशलेको आवाज सुनियो। मानौँ उ पनि प्रधानाध्यापक सँग मलाई नै फसाउने योजना बोकेर आएको रहेछ। प्रधानाध्यापक ले पनि मेरो नाम पुनः दोहोर्याउँदै, मेरो टाउकोमा त्यो जिम्मेवारी जबर्जस्ती थोपरिदिए। हप्तादिनदेखीको सोलमारीको योजना चौपट बनाईदिए। म आकाशदेखी मनमनै मुर्मुरिएँ। मुला लाई कक्षाबाट बाहिर निस्केर गाली पनि गरेँ। तर के गरौँ प्रधानाध्यापक को अगाडि भिजेको मुसा भएको थिएँ।
अनि अर्कोदिनदेखी कार्यक्रको तैयारी जोडतोडको साथमा सुरु गरियो। अनि कार्यक्रमको मिति घटस्थापनाको दिन तय गरियो। कार्यक्रम सकिएको दिनदेखी १५ दिन दसैं बिदा थियो। कार्यक्रमको लागि हप्तादिन मात्रै भएकाले प्रस्तुती कस्ले कस्ले गर्ने? कति कति समयको प्रस्तुती राख्ने? कार्यक्रमको पुर्ब तैयारी कता कता बसेर गर्ने? कस्ले कस्ले के के काम गर्ने?

सबै कामकुराको ब्यबस्थापन गर्ने जिम्मा मेरो थियो। अहो! कस्तो नमज्जाले फसियो भनेर सोच्दै कार्यक्रमको पुर्वतयारी गर्दै थिएँ। ब्रेकमा आकाशले भन्यो ” ओइ अब त दुई दिन मात्रै बाँकी छ।” भोलि नै फण्ड कलेक्सन गर्नुपर्छ। उ पट्टि नफर्की मैले सोधेँ। “कताबाट गर्ने नि फण्ड कलेक्सन?” फेरि उस्ले जवाफ फर्कायो ” प्रत्येक क्लासमा गएर उठाउने नि मुला” मलाई झर्को लाग्यो लेघ्रो तानेर ह्या !!! मात्रै भनेँ । आकाश अलिक च्याँठिएर भन्यो ” के ह्या नि मुला?” कलेजले दिएको रकले त कार्यक्रम लाई नै पुगनपुग हुन्छ। यत्रो कार्यक्रमको जिम्मेवारी लिएपछी “फोकटमा त उहि गरेमात्र हो।” हल्का घाँटी भिजाउने ब्यबस्था त गर्नुपर्यो नि ! मैले पनि नकार्न सकिँन ” घाँटी भिजाउने सबाल जो थियो।” तुरुन्तै समर्थन स्वरुप टाउको हल्लाईदिए।

भोलीपल्ट कक्षा कक्षामा जाँदै कार्यक्रमको लागि आर्थिक सहयोग माग्नु थियो। चाउचाउ को कार्टुन हातमा लिई हामी कक्षा तर्फ लाग्यौँ। सुरुवात ब्यबस्थापन फ्याकल्टीस आफ्नै कक्षाबाट गरियो। सबै चिनेजानेका साथीहरु भएता पनि कक्षामा गएर बोल्दा बोली लर्बरिएको थियो। खुट्टा थर्थर काम्दै थिए। निधारमा चिटचिट पसिना आएको बोल्दा बोल्दै थुक सुकेको महसुस गर्दैथिएँ। कक्षाबाट बाहिर निस्किने बित्तिकै आकाशलाई भनेँ। “अब अरु कक्षामा म बाट यो काम हुँदैन।” बरु कार्टुन मै समाउँला बोल्न चैँ तैँ बोल। ११ को सम्पुर्ण फ्याकल्टी तेरै जिम्मा हो भाइ १२ जत्ती म हेरम्ला भन्दै मलाईनै टाँसो लगायो। त्यसपछी शिक्षा संकाय अनि मानबिकी संकायको कक्षाहरुमा जानू थियो। सिक्षा संकायमा त के के बोलेँ याद नै रहेन। जब मानबिकी संकायको ढोकाबाट कक्षाकोठा भित्र पाईला राखेँ। मेरो आँखाहरु सिधै उनको मुहारमा ठोकिन पुगेँ। सायद उनी कपिमा केही कोर्दै थिईन। अब मेरो गला पुर्ण रुपमा अबरुद्द भयो । म नित्तान्त रुपमा निशब्द भएँ। उनको मुहार यति शान्त र सुन्दर थियो कि मेरो मानसपटलमा उनको मुहारको तस्बिर बाहेक अर्थोक केही बाँकी नै रहेन। जिनदगीको १७ औँ वसन्त पार गरिसक्दा पनि कसैको मुहारमा त्यती सालिनता र सुन्दरता महसुस गरेको थिईन। म पंख हालेर सपनाको संसारमा उड्दै थिएँ

आकाशले पछाडीबाट चुटुक्क ढाडमा चिमोटेपछी म उनको मुहारबाट आँखा हटाउन बाध्य भएँ। त्यो कक्षाकोठामा बोलिएको कुराहरु आफैँलाई थाह भएन।
कार्यक्रमको दिन कार्यक्रम आकाशले उद्घोषण गर्दै थियो। म कार्यक्रमको तालीका अनुसार प्रस्तोताहरुलाई जानकारी गराउँदै तयार हुन अनुरोध गर्दैथिएँ। यत्तीकैमा आकाशले पुनः मलाई अफ्ठ्यारोमा पार्यो । अब मेरो काम उसले अनि उसको काम मैले गर्नुपर्ने भयो। म कार्यक्रम तालीका पल्टाउँदै स्टेजको एक छेउमा उक्लिएँ। स्टेजमा नाटक मन्चन भैरहेको थियो। नाटकका सर्जक सन्तोष चौलागाईँ अनि निर्देशन पनि उनैको रहेछ। कार्यतालीकामा सरर आँखा दौडाएँ। सायद आत्महत्याको बिषयमा थियो त्यो नाटक! र लगभग उत्तरार्धमा पुगिसकेको थियो। अर्को प्रस्तुती कबिता रहेछ। बाचकको नाम भने “मनिता सिल्वाल” रहेछ। म माईक हातमा लिई आफुलाई तयार गर्दै थिएँ।

नाटक समापनका लागि सन्तोष चौलागाईँ कलाकर टिमलाई धन्यबाद दिँदै स्टेज बाट बाहिरिए। मैले अर्को प्रस्तुतीको लागि उद्धघोष गर्दै गर्दा उनी हातमा कपि कलम लिई स्टेज तिर नै आउँदै गरेको देखेँ। स्टेज तिर आउँदै गरेको उनी अरु कोहि नभएर हिजो मलाई आफ्नो सुन्दरताको मोहित पार्ने उनी नै रहिछिन। उनलाई देखेर म एकाग्र भएँ । अनि अझै उनको नाम थाह पाएर भित्र भित्रै अत्यन्तै खुसी भएँ। सायद हिजो म टोलाएको थाह पाएर नै होला आकाशले उनको प्रस्तुती भन्दा पैले मलाई माईक थमाएको, मलाई आकाशले जिन्दगीमा पहिलोपल्ट राम्रो काम गरेको जस्तो आभास भयो। मनमनै दङ्ग पर्दै उनको प्रस्तुतीका लागि माईक उनको हातमा दिँदै गर्दा अन्जानमै उनको हातको स्पर्श मेरो पैतालादेखी मुटु हुँदै दिमाग सम्मै सरर एउटा झन्झनाहट दौडियो। उनको हातमा माईक थमाईसकेर पुनः स्टेजको कुनामा गएर ढाड अड्याउँदै एकाग्र भएर उनलाई नै हेर्न थालेँ।

उनी आफ्नो प्रस्तुतीमा मग्न थिइन । मेरो आँखा त्यो कबिता बाचन गरिरहेको ओठमा नै केन्द्रीत थिए। क्याटबरी जस्ता उनका ती ओठ एक आपसमा आलिंगन हुँदै छुटिँदै गर्दै गर्दा उनको तल्लो ओठलाई उनी र मथिल्लो ओठलाई आफू भएझैँ कल्पना गर्दैथिएँ। उनी प्रस्तुती कबिता बाचन थियो मेरो मनले भने उनको नामको कबिता जप्दै थियो। उनको सुरीलो आवाज फेरि फेरि सुन्नको लागि मैले आफ्नो मोबाईल झिकेर उनको कबिता खुसुक्क रेकर्ड गरेँ। उनको कबिता अझै सम्म पनि मलाई जस्ताको त्यस्तै याद छ । जुन यसप्रकारको थियो।

खोजेर कस्लाई यहाँ मान्छे पुज्नु छ र ?
खाली छ, सुख छ, भरी ठाउँ यहाँ कस्लाई दुख्नु छ र?
एकान्त छ, खाली छ, सुनसान छ त कोईली गाउँछ!
भिडभाडमा राक्षस रुवाई, कागको गीत कस्लाई सुन्नु छ र?
खोजेर कस्लाई यहाँ मान्छे पुज्नु छ र ?
खाली छ, सुख छ, भरी ठाउँ यहाँ कस्लाई दुख्नु छ र?

शान्त छ, विशाल छ, चुपचाप तैरीरहेछ यसै!
ढुङ्गा खसाली, खाली यसै त्याहाँ तरङ्ग उठाउनु कहाँ छ र?
आफ्नै माया आफैँलाई के गरे नगरे खोट कता कस्ले लाउँछ र?
साटी मुटु यहाँ, आफ्नै हलाल आफैं कस्लाई गर्नुछ र ?
खोजेर कस्लाई यहाँ मान्छे पुज्नु छ र ?
खाली छ, सुख छ, भरी ठाउँ यहाँ कस्लाई दुख्नु छ र?

उनी आफ्नो प्रस्तुतीमा त्यसैगरी ब्यस्त थिईन, म उसैगरी उनको सुन्दरता नियाल्नमै ब्यस्त थिएँ । प्रस्तुतीको समाप्ती सँगै तालीको गुन्जाहट संगसंगै मेरो दिवा सपना पनि टुट्यो । आफुलाई सम्हाल्न नपाउँदै मेरो हातमा माईक थमाउन, उनी म तर्फ नै आउँदै थिइन । मन्द मुस्कान र नशालु आँखाको मन्द मन्द नशा मेरो मन मस्तिष्कमा छर्दै फेरी उनको कोमल हातको स्पर्श अनि अचानक पुन: मलाई सोहि झन्झनाहट महसुस भयो । कार्यक्रम लगभग १ बजेसम्म चल्यो । त्यसपछि सिक्षकहरु संग मिटिङ्ग अनि आयोजक टिमलाई खाजा नास्ता गर्दा ३ त बजिनै गयो । धन्न आर्थिक हिसाबकिताबको जिम्मामा बिकास भएकाले अझै त्यसको बोझ थिएन । ब्यबस्थापन गरिसक्दा नसक्दै घडीले चार बजेको संकेत गर्यो । अफिसकोठा बाट निस्किन नपाउँदै आकाशले आँखा सन्काउँदै एकप्रकारको व्यंग्य गर्यो ।

“के हो राजा तेरो मन एकातिर अनि तन एकातिर छ नि ?”
“के भन्छ ?”
नबुझेको पारामा मैले प्रतिप्रश्न गरेँ ।
धेरै नौटंकी नदेखा तेरो पारा ठिक लागेन । भन्दै उस्ले कुरो को चुरो सम्म पुग्न खोज्यो ।
ह्या के-के कुरा गर्छ साले ! अलिक बुझ्ने गरि भन न म घुमाउरो कुरा बुझ्दिन, भन्दै म फन्किएँ ।
ल ल फेरी नाटक नगर साले बुझेर पनि बुझ नपचा भन्दै उ कड्कियो ।
हामी कलेज गेटबाट बाहिर निस्कियौँ । उ तर्फ नहेरी मैले सोधेँ
“अब कता जाने ?”

“सोलमारी टुच्च जता लड्यो त्यतै सुत्छ ।”
उ खित्का छोड्दै हाँस्यो ।
फेरी मैले सोधेँ
“अनि ठाउँ चैँ कता नि ?”
फेरि उ उत्सुक हुँदै बोल्यो
“चाउरेको कोठा मा नि उस्कोमा कोहि पनि छैनन । केटाहरु अघिनै उडीसके होलान !”
बाईकमा बसेर बाईक स्टार्ट गर्दै उ बोल्यो
“बस मुला”
म उस्को निर्देशन सिरोपर गर्दै बाईक पछाडी बसेँ । चारैतिर अँध्यारो झ्याल नभएको गल्लीको भित्रपट्टी चाउरेको कोठा टाउको निउराएर पस्नुपर्ने रहेछ । ढोकाबाट यस्सो चिहायौँ । केटाहरु सबै लडीसकेका रहेछन साथमा केही बोत्तल अनि गिलास पनि उनिहरु सँगै लडीसकेका रहेछन । धन्न “जेसा गया वेसा आया, हाम्ने क्या बिराया ” मतलब बान्ता गरिसकेका रहेनछन । हामी कोठामा छिर्न नपाउँदै चाउरे (दिनेश, मुखभरी उमेर पाकेको मान्छेको जस्तो मुजा पर्ने हुनाले उस्को नाम चाउरे राखिदिएका थियौँ ) उसले गिलास निकाल्दै बोत्तल बाट एक एक लार्ज पेग जिन गिलासमा हाल्यो । त्यस ताकाको एकदमै लोकप्रीय पेय पदार्थ
“गन्ध पनि नआउने, हाम्रो बजेटमा पनि फिट, अनि हाम्रो फेबरेट पनि” अब हामी दुईजनाको सुरुको पेग हुनाले हामिलाई साथ दिन सबैले एक पेग चैँ निट हान्न पर्छ भन्दै दारे (सुरेन्द्र, आफ्नो ओठभन्दा दुई ईन्च बाहिर आएको दाँतको कारण उसले यो नाम पाएको थियो ।) करायो । यादब, दारे, चाउरे, दिपेश, आकाश, सज्जन, सुदिप अनि म एकैपटक गिलास बजाउँदै चियर्स गर्यौँ । त्यसपछि कति पटक गिलास ठोक्कियो याद नै भएन । भोलीपल्ट बिहान उठ्दा टाउको पड्केला जसरी चर्किँदै थियो । चाउरे दारेलाई गाली गर्दै भुइँ पुस्दै रहेछ । दारेले रातभरी भुइँ वालछ्याल बनाएछ। उसै त झ्याल बिनाको कोठा झन त्यसमाथी भमिट त्यो गन्ध सम्झिँदा अझैपनी पेट निमोठेर आउँछ । कलेज त हिजो देखि बिदा नै थियो । चाउरेको कोठाबाट चिया खान निस्किदै गर्दा यादबले सोध्यो ।
“के हो मुला तिमी छुपारुस्तम ?”
“के भन्छौ ?” भन्दै मैले प्रतिप्रश्न गरेँ ।
अलिकती लजाएझैँ अनि अलिकती जिस्काएझैँ गरि यादब फेरि बोल्यो ।
” मुला मनिता सँग क्या?”
मनमनै सोचेँ ” लौ जा सोलमारी ले बिताएछ ”
हिजो त रातभरी उस्कै बयान थियो त अहिले चाहिँ के रे? यादबले फर्कायो । अब लुकाएर फाईदै भएन । मैले भने
“मलाई राम्रो लाग्यो ।”
राम्रो मात्रै लाग्या कि मन पनि पर्या ?? भन्दै यादब छिल्लियो । अलि धकाउँदै फर्काएँ
“दुबै उस्तै हैन र ?”

फेरि यादबले ठाडो भाषामा थप्यो ।
“हुन त हो तर हगेको र छादेको जस्तो हो मोरा !” बाटै थर्किनेगरी सबैकेटाहरु हाँसे र म पनि ! यादबले फेरि थप्यो
“अनि क्यै कुरा अगाडी बढायौ त ?”
“नाई छैन यार ! दुई दिन अगाडि त देख्या कार्यक्रमको ब्यस्तताले खै र कुरा अगाडी बढाउने मौका मिलेको ? त्याँ माथी अब कलेज पनि दसैँ बिदा भैहाल्यो ।”

“के म भेटघाट को कार्यक्रम मिलाउँ त ?”
उस्ले चुरोटको धुवाँको मुस्लो हावा उडाउँदै मलाई उडाएझैँ लाग्यो । उ तर्फ नहेरी नै मैले भनेँ
“कसरी ?”
उसले फेरि थप्यो । “गरौँ कि नगरौँ त्यो भन न के- कसरी त्यो तेरो चिन्ताको बिषय भएन नि !” त्यसो भए के सोधिराख्या छौ र सबै कुरा थाह भैसकेपछी ?” मैले जवाफ फर्काएँ । उसले चुरोटको ठुटो न तिर दिँदै भन्यो “लाउ लास्ट पफ इज बेटर देन थाउजेन किसेस” चिया पसलबाट निस्केर घर फर्किँदैगर्दा बिकासलाई सोधेँ ।
” हिजो म धेरै झ्याप थिएँ र ?”
मुला रातभरी मनिता मनिता भजन गाउँदै बसिस अहिले झ्याप थिएँ र ? रे !”
भन्दै बिकासले पनि मलाई उडायो । फेरि कौतुहलाता पुर्वक मैले बिकासलाई सोधेँ ।
“अनि उसलाई यादबले राम्रैसंग चिन्छ र? एकदमै ढुक्क संग भेट्ने कार्यक्रम मिलाईदिन्छु भन्छ त” बिकास कन्दै बोल्यो
“भेटाउला त्यसले! उसकी वालीको बेस्ट फ्रेन्ड हो अरे मनिता अनि भेटघाट त मिलाईहाल्ला नि !” तँलाई भन्दा पनि यादबलाई नै बढी फाईदा हुनेभएरै त शानले भनेको होला नि मिलाईहल्छु नि भनेर ! यादब कि वालीलाई घरबाट मनिता संगै घुम्न निस्किन्छु भनेर बहाना बनाएर उसलाई भेट्न आउन पनि सजिलो, तँ भन्दा पनि फाईदा बढी उसलाई नै हुनेभएकोले पो सानले भनेको त्यसले कम्ती बाठो छ र ? त्यो साले !”
नौरथाको समय
“दसैँ खर्च जुटाउनै भए पनि घरबाट मन्दिर जान्छु भनेर निस्किँदा दुई तीन सय रुपैयाँ पनि पाईने हुनाले नौरथाभरी नजिकैको मन्दिर हिँडिन्थ्यो ।” फुलपातीको दिन बिहानै यादबले फोन गर्यो । “ओई उठेको छैनस अझै?”
“अँ भन न”
मैले भनेँ । आज भेटघाटको कार्यक्रम बनाएको छु दक्षिणकाली जाने । मैले थर्काउँदै जवाफ फर्काएँ “साले हिजै भन्न सकिनस ?”
“मुला हल्का भेटघाट मात्रै हो । डेटिङ्ग नै जान लागेको जस्तो नगर न ! बरु खर्चबर्च म हेरौँला ” फेरि मैले भनेँ
“एक्कासी योजना बनाएपछी खर्च गर्ने त तिमिले नै हो नि म भन्नासाथ कहाँ बाट निकाल्नु खर्च ?” फोन राखेर हतारहतार नुहाएर तयार भएर घरबाट निस्किएँ । अत्तर अलिक बढी भएछ कि क्या हो “तँ मन्दिरको देवीको दर्शन गर्न जान लागेको कि मनको देवीको दर्शन गर्न जान लागेको भन्दै ममिले व्यंग्य गर्नुभयो ।
“मैले पनि ममिकै पारामा व्यंग्य गर्दै थपिदिएँ । “नौरथा भरी देवीकै दर्शन गर्ने त हो चाहे मनको देवी होस या मन्दिरको”
तिनकोस टाढा देखीबाटै ठुस्स गन्हाउने गरि भन्दै ममि कराउँदै हुनुन्थ्यो । म निस्किनै लाग्दा ला चियाखाजाको लागि भन्दै दुईसय हातम थमाईदिनुभयो । चिया त हो तर खाजाको ठाउँमा छोराले धुवाँ पनि उडाउँछ भन्ने कुरा मेरी ती सोझी ममिलाई के थाह ?
मैले यादबलाई फोन गरे
“ओई हामी के मा जाने हो र ?”
उसले जवाफ फर्कायो “बसमा जाने नि मुला”
फेरि मैले भनेँ “किन त्यति टाढा जानू कतै नजिकै बस्दा हुन्न र ? फेरि नौरथाको समय ज्यादै भिड पो हुन्छ त दक्षिणकालीमा”
तिमि आउ न अनि बसेर गफ गरौँला भन्दै यादबले फोन काट्यो । गाडी चढ्ने चोकमा भेट्नासाथ उसले मलाई हकार्यो ।
“तिमिलाई माया गर्नु पनि छ दुनियाँले देख्लान कि भन्ने पिर पनि छ साले ! अझै छोरो पाउनुको पनि रहर, दुख्ला भन्ने पनि डर”
मैले उत्सुक हुँदै सोधेँ ” कहाँ आउँछन उनिहरु ?” दङ्ग पर्दै उसले जवाफ फर्कायो” फर्कायो !
“डेटिङ्ग जान लागेको उ पनि उसको मुहारमा खुसीको रेखाहरु स्पस्ट देखिन्थ्यो तर आफुलाई भने कता कता अफ्ठ्यारो लागिरहेको थियो । हामी भेट्दा बिहानीको झिसमिसे नै थियो । यादबले किराना पसल तिर ईसारा गर्दै भन्यो “झिसमिसे नै छ एउटा “श्वेत लम्ब चुसिका” सल्काईदीउँ न त आउ” हामी चुरोटलाई मान्छेहरुका अगाडि संस्कृतमा श्वेत लम्ब चुसिका भनेर भन्थ्यौँ । म हच्किएर बोलेँ “बाटोमै ?” “अँध्यारो छ के नै फरक पर्छ र ?” भन्दै पसलमा चुरोट मागेर पसलको टेबलमा झुण्डाएको लाईटर प्याट्ट पार्दै उसले चुरोट सल्कायो । र पसलेसँग दुईवटा मेन्टस माग्यो । अनि एउटा मेन्टस म तर्फ बढाउँदै भन्यो ।
“लाउ तिमि पनि दिमागको बत्ती जलाईदेउ” गाडी चढ्नेबेला हुनै लाग्दा मैले ठुटो हुनै आँटेको चुरोट फ्याँक्नै आँट्दा उसले भन्यो
“पख् ! पख् ! एक रुपैया अझै बाँकी नै छ भन्दै फिल्टर सम्म चुसी भ्यायो ।”
बिहानको खाली बाटो लगनखेल पुग्न खासै समय लागेन । गाडीबाट झर्नै लाग्दा मेरो हातमा ५०० को नोट थमाउँदै उसले भन्यो ।
“तिमी मुलाले पनि खर्च गरेजस्तो गर्न पर्यो नि” यसो भनिरहँदा लेडिज साईकोलोजिमा उसले पि.एच.डी. नै गरिसकेको आभास भयो । मैले ज्ञानी बालक झै उसले दिएको ५०० को नोट आफ्नो खल्तीमा हालेँ । दक्षिणकाली जाने बस स्ट्पमा पुग्ग्दा नपुग्दै उसले भन्यो
“उता हेर !”

मैले उसको औँलाले ईशारा गरेतिर हेरेँ । औँसीको रातमा टहटह चम्किरहेको जुनको जस्तो थियो । त्यो झिसमिसमा रातो रंगको कुर्तामा साँच्चै नै स्वर्ग बाट झरेको अप्सरा भन्दा पनि कम देखिन्नथिन । उनी ठ्याक्कै एकादेशको कथामा बयान गरेको राजकुमारी जस्तै देखिन्थिन । भगवानले पनि फुर्सदमै बनाएको जस्तै लाग्थ्यो । उनि जति हामी भएतीर नजिकिदै थिईन मेरो मुटुको धड्कनको रफ्तार उत्तिकै बढ्दैथियो । म उनलाई हेर्दै टोलाएछु क्यारे ! यादबले ढाडमा घुचघुच्चाउँदै भन्यो
“के हो राजा फ्लासब्याकमा गयौ कि कसो ? बास्तबिकता मा आउ ।” उनिहरु हामी उभिएकै ठाउँमा आईपुगे । यादब कि लिला ले hi भनिन । उसको वालीलाई हामी दुबैले hi फर्कायौँ । उसले मनिता तर्फ ईशारा गर्दै उसको परिचय दिँदै गर्दा मैले भनेँ । “मलाई कवयत्री ज्यु नाम थाह छ ।” उनी आफ्नो मिलेको दाँत देखाएर मुस्काइन मात्र !
हामी दक्षिणकाली जाने बस चढियो । हामी चारजना हुनाले म सोच्दै थिएँ कि अन्तिमको सिटमा एकैठाउँमा अट्नेगरी बस्ने होला ! यादबले आँखा सन्काउँदै छुट्टाछुट्टै बस्न ईसारा गर्यो । यादब र लिला एउटा सिटमा बस्दै उनिहरु बसेको सिटको ठिक उल्टोपट्टी हामिलाइ बस्न ईशारा गरे । फेरि यादबले सांकेतीक् रुपमा मोज गर् भन्ने ईसारा गर्यो । मोज त मोज तर आफुलाई भने बोल्ने हिम्मत समेत आईरहेको थिएन । मलाई बोलिचालीक्प सुरुवात उनी बाट नै होस जस्तो लागेको थियो । तर उनले भने बोल्ने कुनै ढाँचा नै देखाएकी थिईनन् । प्रसङ्ग आफैँले उक्काएँ “तिमी कबिता त एकदमै राम्रो लेख्दी रहेछौ । अनि बाचन पनि स्पष्ट रहेछ ।” आँखा नजिकैको कपाल हल्का रुपले कानमा सिउरीँंदै उनले ओठ खोलिन “त्यो त बस् टाईम पास मात्रै हो नि”
गफ गर्नु भन्दा पनि अ उनको सुन्दरता नियाल्न मै ब्यस्त थिएँ । उनका ठुला ठुला आँखा,गुलाबी ओठ अनि अझै मुसुक्क हाँस्दा गालामा डिम्पल पर्ने रहेछ । कुराकानीको सिलसिला अघि बढाउन र उनलाई अफ्ट्यारो महसुस पनि नहोस भन्ने हेतुले स्कुल कलेज अनि साथीभाईको प्रसङ्ग उप्काएँ । उनी बिस्तारै कुराकानीमा खुल्दै गैइन । बल्खु पुग्दा नपुग्दा मलाई बल्लतल्ल कुरा गर्न सहज महसुस हुँदै थियो र सायद उनलाई पनि ! हामी यताउताको टुटेफुटेका कुराकानी गर्दै थियौँ । आँट गरेर सोधिदिएँ ।
“कसैको प्रेममा छौ ?”
उनले सिधा मेरो आँखामा आँखा जुधाएर हेर्दै भनिन् “तिमिलाई के लाग्छ ?”
सायद उनले आँखामा आँखा जुधाउँदा मेरो अनुहारमा आएका परिवर्तनका रङ्ग उनले महसुस गरेकी थिइन । “मलाई लागेको कुराले केहि असर पर्ला र ?”
उल्टै प्रश्न गरेँ । यति भन्दा मेरो ओठमा आएका कम्पन मलाई आफैँलाई महसुस भयो । उनी मुसुक्क मुस्कुराईन मात्र ! केही समयका लागि सन्नाटा छायो । यादब र लिला आफ्नै कुरामा ब्यस्त थिए । सहचालक बसको ढोका मा ढ्याङ्ग ढ्याङ्ग गर्दै दक्षिणकाली दक्षिणकाली भन्दै कराउँदै थिए । बसमा मधुरो आवाजमा
“केही मीठो बात गर” भन्ने गीत बज्दै थियो । हामी बिचको मौनता तोड्दै उनले भनिन
“त्यो मेरो प्रश्न को उत्तर होईन नि !”
मैले पनि थपेँ “अनि मेरो प्रश्न को जवाफ नि ?” उनी फेरि उसैगरी मुस्कुराईन । उनले प्रश्नबाचक सुचांक म तर्फ तेर्साउँदै भनिन
“केही फरक पर्छ र ?” मसीनो आवाजमा मैले भने “सायद”

क्रमशः

लेखक – सन्तोष आचार्य

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here