“She”- A Story Of A College Student | Part 2

0
3697

बसमा यात्रुहरु संख्या तराईबाट ट्रकमा जिउँदो म:म ओसार्दाको भन्दा दयनीय भैसकेको रहेछ । स्टेसन नै पिच्छे झनझनै यात्रुको संख्या थपिँदै थियो । सहचालक भाइ “दाई- दिदि, अंकल-आन्टी अलिक पछाडी सरेर मिलेर बसिदिनुस है ?” भन्दै थिए । साँच्चै यो देशमा गाडीको सहचालकले बाहेक अरुले मिलेर बस्नुस न भन्दैनन् । दोहोरो लाइनमा बसेका यात्रुको चापले गर्दा सिटमा छेउतिर बसेको म घचेटीएर उनिसंग ढेपिन पुगीसकेको थिएँ । बसको हालत तर्फ ईंगीत गर्दै उनले सोधिन् । “तिमिलाई अफ्ट्यारो भयो हो ?” अलिकती आँट बटुलेर भन्ने मन भयो कि तिम्रो सामिप्यता र साथ पाए यो अफ्ट्यारो त के ? म संसारका हरेक अफ्ट्याराहरु बिना सुस्केरा काट्न सक्छु भन्न चाहन्थेँ । तर अफसोस के ले रोक्यो मैले भेउ पाउन सकिँन । यति लामो सोचाईलाई वस सोचाईमै सिमित राख्दै छोटकरीमा “नाई हैन” भन्दै जवाफ दिएँ ।

भाग एक पढ्न यहाँ क्लिक गर्नुहोस् 

औपचारिकता राख्दै सोधेँ

“साँच्चै दसैं सपिङ्ग सक्कायौ त ?”

जवाफमा उनले

“अँ”
मात्र भनिन् ।

“अनि के-के सपिङ्ग गर्यौ त”

मैले फेरि सोधेँ । उनले अलि लाडिँदै जवाफ दिईन “तिमिलाई के ?”
मैले
“यत्तीकै”
भने फेरि मौनता छायो ।

चोभार पुग्दा नपुग्दै उनी फेरि बोलिन् ।

“म आज सम्म चोभार आएको छैन ।”

“अहिले आयौ त !” मैले भनेँ ।

छ्या तिमी त घुम्ने गरि भनेको नि भन्दै फेरि फिस्स हाँसीन् । उनी रिसाईन या लाडीईन मैले मेसो पाईन । “कुनै दिन चोभार मात्रै घुम्ने गरि आउँला नि त !” उनले उत्सुकताका साथ आँखीभौँ खुम्चाउँदै हल्का मुस्कुराई गालामा डिम्पल बनाउँदै भनिन “कैले ?” जुन दिन म तिमिलाई आफ्नो मनोदशा प्रेमप्रस्ताबको रुपमा राख्छु । र तिमी आफ्नो आलिंगनमा मलाई कस्दै त्यसलाई स्विकार्छौ त्यो बेला यसरी भन्नुपर्थ्यो सायाद ! अनि कुन दिन कैले आउँछ र त्यो दिन भन्दै उनी लाडिन् । मेरो दिल र दिमाग बिच उसलाइ दिने उत्तरको बादबिबाद चल्दै थियो । मन भन्थ्यो जुन तीन तिमी र म बिच औपचारिकता र भेटघाटका लागि मध्यस्तकर्ताको आवश्यकता नरहला त्यो दिन तर दिमाग भन्थ्यो जुन दिन कलेजको पिकिनिक हुन्छ साथी साथी मिलेर आउँला, त्यसरी नभए “कुनै दिन साथीहरु संग कलेज बंक गरेर ग्रुप नै” यस्तै थियो दिमागको उत्तर मन र दिमागको बादबिबाद अत्यन्तै चर्को भएपनी मुखबाट भने अक्सर छोटा-छोटा बाक्यहरुमात्रै निस्किरहेका थिए । म मन र दिमागको बादबिबादमा अल्झिँदा अल्झिँदै उनले भनिन् ।

“कता हरायौ ?”

हतारीँदै जवाफ फर्काएँ
“नाई”

एउटा प्रश्नको गतिलो उत्तर दिन नसकेको समयमा फेरि अर्को प्रश्न थपिदिईन ।
“के नाईँ ?”

सम्हालिँदै जवाफ फर्काएँ
“कतै हैन तिमी संगै टाँसिएको छु त ”
उनी हाँसीन मात्र !
“किन हाँसेको ?”

मैले प्रश्न गरेँ । उनले जवाफ फर्काईन
“यत्तेकै”
म जिस्किँदै बोलेँ ।

“यत्तीकै पनि हाँस्छ्न त ?”
सायद म एकहोरो उनलाई नै हेर्दै थिएँ ।
“के हेरेको यसरी ?” उनले सोधिन ।
“तिम्रो सुन्दरता” मैले जवाफ फर्काएँ ।

उनको आँखा अलिक झुके र गालामा लाली चढे सायद उनी लजाईन कि ? यस्तो हुँदा हुँदै मोबाईलमा घुईँ घुईँ गर्दै भाईब्रेसन आयो । यसो मोबाईल निकालेर हेरेँ । मेसेज आएको रहेछ त्यो पनि पल्लो सिट बाट
Kura garis? kehi vanis uslai? usle k vani? Khus khus k kura garirakhya chas?
मैले मुन्टो घुमाएर उ भएतीर हेरेँ । उ सायद उसैगरी लिला संग प्रेमालापमा मस्त थियो । म फेरि उनी पट्टीनै फर्किएँ ।
“कस्को मेसेज ?”
उनले सोधिन् ।

“Ntc” भन्दै छोटो जवाफ फर्काएँ ।
उनले आँखीभौँ मास्तिर लाँदै भनिन् ।
“कि गर्लफ्रेण्ड ?”
मैले नकार्दै भनेँ
“ह्या हैन”

ओठ लेब्र्याउँदै उनले मेरो कुराको खिल्ली उडाईन् । उनलाई बिश्वास दिलाउन मैले भनेँ
“मेसेज हेर्छौ त ?”
“अर्काको ब्यक्तीगत कुरा हेर्न हामिलाइ के खाँचो” उनी इतरीईन् ।

जब देखि तिमिलाई देखेको छु त्यो दिन देखि मलाई यस्तो लाग्छ कि मेरो ब्यक्तीगत कुराहरु भन्ने केवल तिमी मात्र हौ भन्ने चाह थियो । तर यहाँ पनि मन र दिमागलाई मुखले पनि जिन्त सकेन म निशब्द नै रहेँ । लगनखेल देखि दक्षिणकाली सम्मको करिब करिब एक घण्टाको यात्रा आज एक मिनेटको जस्तो लागीरहेको थियो । यसैगरी निरन्तर बस गुडीरहोस जस्तो लाग्दैथियो । मलाई त पूरा जिन्दगी यसैगरी उनिसँग बसमै बिताउँ जस्तो लाग्दैथियो । तर त्यो मेरो चाहाना मात्रै न थियो । बसभरी कोचिएका ती यात्रुको हालत र सोचाई बिल्कुलै भिन्न थियो । जो बहुमतको कदर भयो बस स्टेसनमा रोकियो । यात्रुहरु सबै एक एक गरि ओर्लिए । र हामी पनि ओर्लियौँ ।

दक्षिणकाली दर्शन गर्नेहरुको भिड अचकाली थियो । नहोस पनि किन ? नौरथाको समय जो थियो । हामी बिस्तारै भिड छिचोल्दै अगाडि बड्दै थियौँ । उता प्रेमिल जोडी थियो । यादब र लिला हात समातेर हिँडीरहेका थिए । यता आफ्नो भने गफ पनि स्क्राच डिभिडी जस्तो अड्की अड्की भैरहेको थियो । उनि बिस्तारै मेरो नजिकै आईन र उनले नै मौनता छिचोल्दै बोलिन् ।
“कस्तो भिड रहेछ ।”
मैले जफाफ दिएँ ।
“अँ नौरथा भएर होला ।”
हामी बाटो छेउछाउको स्टलहरु हेर्दै अगाडी बढ्दै गर्दा उनले सोधिन् ।
“साँच्चै नै मेरो कबिता राम्रो थियो त ?”
मेरो लागि त त्यो श्री स्वस्थानीमा कुमार जि ले आज्ञा गरेझैँ, हजार जिब्रो भएको सेषनाग ले पनि व्याख्या गर्न नसक्ने भगवानको बयान जस्तो थियो । यो त बस मनको अनि दिमागको तर्कना थियो तर मुखबाट फिस्स निस्कियो ।
“अत्यन्तै राम्रो थियो नि ! तिमी त मेजर नेपाली पढ्नुपर्ने मान्छे अझै लेखनशैली र बाचन झनै निखारिन्थ्यो नि ।”
फेरि केही सम्झे जसरी उ तिर प्रश्न तेर्साएँ ।
“साँच्चै प्रेमको बारेमा चाहिँ लेख्दैनौ ?”
फेरि निधार तिर झरेको कपाललाई कान पछडी सिउरीँदै उनले भनिन् ।
“कोसिस गर्छु कहिलेकाही तर लभ वाला फिलिङ्ग नै आउँदैन । आफ्नो लभ परेको भए पो फिलिङ्ग आओस् ।”
ओठ लेब्राउँदै म बोले ।
“गफ”
“कसम”
उनले भनिन् । कसम भनिरँदा मलाई उनको मुहारमा बिछट्टै गम्भिरता महसुस भयो । म अझै जिस्केने मुडमा नै थिएँ । फेरि जिस्केर उनलाई सोधिहालेँ ।
“कस्को कसम ?”
फेरी खिसिक्क हाँस्दै उनले थपिन् ।
“जस्को भन्छौ उसैको”
म लाडिदै कुरामा कुरा थपेँ ।
“तिमी जसलाई सबैभन्दा बढी चाहन्छौ उसैको कसम खाउ न त ।”
उसले लभ वाला फिलिङ्ग आउँदैन भनिसक्दा पनि यति राम्री मान्छे अझै पनि एकल नै छिन भन्ने कुरा बिश्वास गर्न सकिरहेको थिईन । र म उनको मुख बाट सिधा कुरा नघुमाई उनको आज सम्म पनि कोहि प्रेमी छैन भन्ने सुन्न चाहन्थेँ ।
उनि बोल्दै थिइन ।
“न त आज सम्म मैले कसैलाई चाहेको छु न त कसैले मलाइ नै चाहेको छ ।”
फेरी केही सोचे जसरी या भनौँ मलाई व्यंग्य गरे जसरी भनिन् ।
“यदी मलाइ कसैले हृदयदेखी नै मन पराउँछन भने पनि त्यो कुरा सुन्ने सौभाग्य अझै पाएको छैन ।”
उनको जवाफ सुनेर उनी म संग अलिक घुलमिल भएझैँ आभास भयो । अलिक आँट गरेर अनि यो पटक मन र दिमागलाई अलिक पछि पार्दैँ म बोलेँ ।
“तिमिले चाहाने पो नहोलान् त ! तर तिमिलाई एकतर्फी चाहने पागल प्रेमी त कति धेरै होलान्,कति त तिम्रै अघिपछि पनि घुम्लान ।” अझै कुरा छेडेर ती मध्य एक म पनि हुँ भन्न मन थियो तर हतार गर्नु उचित ठानिन । उनले ओठमा नक्कली हाँसो ल्याउँदै भनिन् ।
“सायद”
त्यो भिड होहल्ला अनि कोलाहलको ठाउँमा पनि हामीबिच पुन: मौनताले डेरा जमायो । मन्दिर प्रांगणमा झर्ने ठाउँसम्मै दर्शन गर्नेहरुको लामो लाईन थियो ।
पछाडीबाट आवाज आयो ।
“लाईन लागेर त सकिन्न ढिला पनि हुन्छ । बरु वरिपरि मात्रै घुमौँ न ।”
यसो पछाडी फर्केर हेरेँ लिलाको आवाज रहेछ । उनिहरु अघि देखिनै हाम्रो पछाडी नै रहेछन् । मलाई याद नै थिएन सायद उनलाई पनि उनिहरु पछाडी भएको याद नै थिएन कि ? उनले पनि लिलाको कुरामा सहमती जनाउँदै बोलीन ।
“अँ त्यसै गर्ने ।”
मान्छेको भिड यत्ती थियो कि हिँड्न कष्ट नै गर्नुपर्ने थिएन । भिडमा उभिए मात्रै पुग्थ्यो । भिडले ठेलेर जानुपर्ने ठाउँमा आफैँ पुगिन्थ्यो । मन्दिर बाहिर बाटै दर्शन गरियो । प्रसाद लगाउँदै गर्दा उनले आफ्नो फराकिलो निधार म तर्फ झुकाउँदै टीका लगाईदिन ईसारा गर्दै बोलीन् ।
“माथी पट्टि सानो लगाईदेउ है ?”
टीका लगाईदिँदै गर्दा मेरा मनभित्र उठेका भावनाका लहरहरु सायद उनले मेरो आखामा देखिन् होला ! त्यसैले बिस्तारै उनको परेला भुईँतर्फ झुके । उनको झुकाईपछी झनझनै मेरो मनमा भावनाको लहरहरुको ज्वारभाटा पैदा भयो । मन मा एकप्रकारको माया भनौँ या पाप भनौँ फाल्गुन चैतमा रुखमा पलाएको पालुवा झैँ एकाएक पलायो । उनलाई टीका लगाईदिदै गर्दा सोचेँ । हो उनी त्यतीबेला पनि यसरीनै मेरो सामु झुकिरहेकी हुन्छिन जतिबेला हामी ब्रम्हाण्ड अनि अग्नीलाई साछी राख्दै अग्नीको सात फेरो लिएर म उनको सिउँदो यसरी नै रङ्गाईरहेको हुनेछु । मन्दिर घुमेर चियानास्ताको लागि हामी बस स्टेसन नजिकै बस्यौँ । यादब र म ट्वाईलेट जाउँ भनेर होटल साहुनीलाई ट्वाईलेट कता छ ? सोधेर हल्का हुन लाग्यौँ । सायद यादबलाई पनि हाम्रो बारे जान्न उकुसमुकुस भएको हुनुपर्छ हत्तपत्त सोधिहाल्यो ।
“प्रगती हुँदै छ नि ?”
आत्मसन्तुष्टि भएझै बस मुन्टो मात्रै हल्लाएँ ।
फर्किएर होटल पुग्दा टेबलमा चिया नास्ता आईसकेको रहेछ । बिहान यादबले दिएको ५०० सानले निकाल्दै बिल मैले नै दिएँ ।
“अब फर्किनु पर्छ । ढिला भयो भने घरमा गाली गर्नुहुन्छ ।”
लिलाले हतार गरि । समर्थन मा उनी पनि पनि बोलिन् ।
सायद मलाई जस्तै यादबलाई पनि बस्न गफ गर्न समयको अपुग भएको थियो होला ! त्यसैले एकैछिन त बसौँ न भनेर यादब कर गर्दै थियो । आफू उनिहरुको बिचमा नयाँ भएकाले म मौन नै रहेँ । यादबको अपिलको सुनुवाई भएन । हामी बस चढियो । बसको हालत बिहान आउँदाको भन्दा खराब हुने करिबकरिब पक्कापक्की थियो । उनी मलाई नै हेरीरहेकी रहेछिन् । चिरपरिचित लाई सोधे जसरी सोधेँ ।
“के हेरेको ?”
उनि अलिक लजाउँदै भनिन् ।
“नाई”
फेरि सोधेँ ।
“के नाई ?”
अकमकाउँदै उनको जवाफ आयो ।
“केही होईन के”
कुराकानिलाई सहजता तर्फ मोड्ने कोसिस गर्दै म बोलेँ ।
“तिमिलाई रातो रङ्ग एकदमै सुहाउने रहेछ । साँच्चै राम्री देखिएकी छ्यौ ।”
उनी हाँसीन मात्र !
“एउटा कुरा भनौँ ?”
उनले सोधिन ।
“एउटा मात्र हो नि?”
म जिस्किएँ ।
“तिमी त कस्तो के”
लाडिदै उनी बोलीन् ।
“कस्तो भन न ।”
भन्दै झनै जिस्किएँ ।
“बोल्दिन जाउ”
उनी रिसाएजस्तो गरिन् ।
“sorry sorry ल भन न के भन्न खोजेकी ?”
उनलाई ढाडस दिँदै बोलेँ ।
केहिबेरको मौनता पछि उनले भनिन् ।
“मेरो सोचाई भन्दा तिमी भिन्न रहेछौ ।”
मैले उनको कुरो को चुरो ठम्याउन सकिन । र सोधेँ ।
“कस्तो भिन्न ? भन्नाले ?”
“खै ! अब कस्तो भन्नू ?”
उनी रोकिईन् ।
“जस्तो लागेको छ त्यस्तै भन न”
मैले भनेँ ।
उनी एकैछिनको लागि पुन: मौन भैइन् । सायद उनको पनि मेरो जस्तै मन मस्तिष्कमा सब्दचयनका निमित्त द्वन्द चलिरहेको थियो कि ? उनको जवाफको व्यग्र प्रतिक्षामा थिएँ । मौनता तोड्दै उनि बोलिन् ।


“मैले सुरुमा सोचेभन्दा राम्रो”
म हाँस्दै बोलेँ ।
“अनुहारमा बुट्टा भरेको त छैन फेरि साउथ ईन्डियन चलचित्रको हीरो जस्तो रङ्गीचङ्गी कपडापनी लगाएको छैन । के-कसरी राम्रो ? अनि मलाई के नराम्रो कुरा सँग तुलना गर्यौ र ?”
उनले आँखा तर्दै भनिन् ।
“कस्तो के तिमी त”
“कस्तो”
म उनिसांग झन झनै खुल्दै थिएँ ।
उनी मौन रहिन अनि मैले पनि उनको मौनतालाई साथ दिएँ ।
बडो आँट गरेर हात सिटमाथी उनको कुम छेउमा राखेँ ।
“अफ्ट्यारो भयो ?”
उनले सोधिन् । म हाँसे मात्र ! त्यसपछी बसको कोलाहल अनि भिडले गर्दा हामिलाई कुरा गर्ने खासै मौका मिलेन । लगनखेल बस स्टेसन झर्नेबेला झिसमिस झिसमिस हुन लागिसकेको थियो । त्यसैले होला उनिहरु अलिक हतार गर्न थाले । उनिहरुलाई उनिहरुको बस स्टेसन पुर्याएर बस चढाएपछी हामीले पनि आफ्नो बस समात्यौँ । चोकमा झर्ने बेलामा सहचालकलाई भाडा दिँदै यादब बोल्यो ।
“चिया चु खाएर जाउँ है ?”
बिहान देखि चुरोट नतानेकाले आफ्नो पनि घाँटी खसखस गरीराखेकोले सहमती जनाउँदै “हुन्छ” भनेँ ।
चिया को सुर्कोमा चुरोटको मिठास थप्दै यादबले सोध्यो ।
“केही भन्यौ ?”
“एकैचोटीमा के भनौँ ? त्यसमाथी बसमा अझै त्यत्रो भिडमा”
उ हाँस्यो अनि मैले पनि उसलाई साथ दिएँ । चियापसलमा हाम्रो नजिक बसेका सबैको ध्यान हामितिरै केन्द्रीत भयो । फेरि हाँसो रोक्दै सानो आवजमा यादब ले बोल्यो ।
“उसको कोहि ब्वाईफ्रेन्ड चाहिँ पक्कै छैन ।”
मलाई त्यो आवाज मात्र यादबको तर भावना भने लिलाको हो भन्ने कुरा स्पष्ट भयो । उसको कुरामा समर्थन अनि मनभित्रको खुसी ब्यक्त गर्दै बोलेँ ।
“अँ मलाई पनि त्यस्तै लाग्यो ।”

क्रमश: लेखक- सन्तोष आचार्य

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here