Our Son Will Be A Doctor – Story By Santosh Basnet

हाम्रो बिहे गरेको पाँच बर्ष पछि दुइहजार पचपन्न साल जेठमा जन्मिएको थियो ऊ। ऊ जन्मिए संगै हाम्रो परिवारमा खुशिको बहार छाएको थियो।

उसको जन्मले म भन्दा धेरै खुशी त अरु को हुन सक्थ्यो र? बर्षौँ पछि त्यो दिनबाट मलाइ ‘बाँझी’ भन्नेको मुख टालिएको थियो। उसका बालाइ अर्को बिहे गर्न सल्लाह दिनेहरु चुप भएका थिए।

शाशु आमा खुशी हुनु भएको थियो। उसका बा त झन् फुर्किएका थिए त्यो दिन। खुशी पनि किन नहुनु? त्यतिका बर्ष सम्म धामी झाँक्री अनि देखे सुनेका सारा मन्दिर र देबि देवता भाकेपछि जन्मिएको थियो ऊ। ऊ मेरो कोखबाट निस्किएर जब मैले पहिलो पटक उसलाइ छोएकी थिएँ, मेरा आँखाबाट आँशुका धारा बगेका थिए।

म रोएको देखेर पल्ला घरे दिदिले भनेकी थिइन् “ल हेर! यत्रो यसलाइ जन्माउन्जेल एकथोपा आँशु झारेनौ। अनि जन्मी सकेपछी पो रुन थाल्यौ त।”

त्यो मेरो आँशु पिडाको आँशु थिएन। त्यो त खुशिको आँशु थियो। मैले दिदीलाइ कुनै जवाफ दिइन। उसलाइ एकहोरो नियाल्दै छातिमा टाँसीरहेँ।
हो त्यती नै बेला मैले मनमनै कसम खाएकी थिएँ “यसलाइ मेरा बुताले भ्याएको सारा खुशी दिनेछु।”

ऊ जन्मिएको केहि घन्टापछी उसका बाले उसलाइ हातमा लिएका थिए। एकोहोरो छोरालाइ नियालि रहेका उनका आँखा रसाएको प्रस्टै देखिन्थ्यो। केहिबेरमा साशु आमा बाहिर निस्किएपछी मैले उनलाइ मुस्कुराउँदै सोधेकी थिएँ “कस्तो छ हाम्रो छोरो?”
“म जस्तै।” उनले मलाइ हेरेर मुस्कुराउँदै बोलेका थिए। म खुशिले गदगद भएकी थिएँ। गर्वले मेरो छाती ढक्क फुलेको थियो।

“म आँफुलाइ बेचेर पनि यसलाइ खुशी दिनेछु।” उनले छोराको अनुहारमा हेरेर बिस्तारै बोलेका थिए। यति बोल्दै गर्दा उनका आँखाबाट आँशुको ढिक्को खसेको थियो। म टुलुटुलु उनलाइ हेरेर रुन्चे मुस्कान मुस्कुराएकी थिएँ।

उसले पहिलो बाक्य “आमा” भनेर बोलेको थियो। म फुर्किएकी थिएँ। म उसलाइ दोहोर्याइ दोहोर्याइ त्यही बाक्य बोल्न लगाउथेँ। ऊ कतिकति खेर मात्र खुट्टा र हात एकैपटक हल्लाउँदै बोल्थ्यो “आमा!”

उसले “आमा” भनेर बोलेको दिन मैले उसका बा’लाइ खुशी हुँदै सुनाएकी थिएँ “सानिध्य बोल्न थाल्यो त।”

“हँ! के भन्छे? काँ बोल्छ अहिले नै?” उनले पत्याएका थिएनन्।

“हो के। साँच्चै बोल्न थाल्यो। ‘आमा’ भन्छ मलाइ।” मैले फुर्किदैँ बोलेकी थिएँ।

“आमा मात्र भन्यो? बा भनेन?” ऊ हाँस्दै बोलेका थिए।
“भन्छ नि बिस्तारै। मलाइ त बोलाउन थाली हाल्यो क्यारे मेरो छोराले!” म हाँस्दै जिस्किएकी थिएँ।

“ए तेरो मात्रै छोरो पो? मेरो हैन?” उनले मुसुमुसु गर्दै बोलेका थिए।

“अनि मेरो त होनि। मैले पाएकी हैन त्यत्रो दुख गरेर।” म हाँसिदिएकी थिएँ।

उनले मेरो कुराको जवाफ नदिइ छोरा भए ठाउँ गएर उसलाइ हातमा उठाएका थिए।

“बा भन् छोरा।” उनि हाँस्दै छोरालाइ जिस्काउन थालेका थिए। छोरो फुर्किएर नानाभाती आवाज निकालेर कराउन थालेको थियो तर उसले ‘बा’ भनेको थिएन। म छेउमा गएर छोरालाइ हेर्दै बोलेकी थिएँ “आमा… भनत छोरा।”

“आम्मा!” छोराले लेग्रो तान्दै बोलेको थियो।

“देख्नु भयो त?” म प्रसन्न हुँदै बोलेकी थिएँ।

“देखेँ देखेँ! तेरो प्यारो छोरो खुब आमा मात्रै भन्ने भाको। बा चाहिँ भन्दैन।” उनले मलाइ हेर्दै बोलेका थिए।
“आफ्नी आमालाइ त बोलाउँछ त अनि पहिले।” म गमक्क पर्दै बोलेकी थिएँ।

छोरो जन्मिए देखि नै घरको बाताबरण खुब रमाइलो हुन थालेको थियो। उसका बा दिनभरको थकान उसलाइ देख्ने बित्तिकै भुल्थे। शाशु आमा पनि काखमा राखेर खुब खेलाउनु हुन्थ्यो उसलाइ। म उसका साना आँखामा मेरो संसार देख्थेँ। उसको तोते बोलि मलाइ संगित झैँ लाग्थ्यो। ऊ जब दाँत नउम्रीएका गिजा देखाउँदै हाँस्थ्यो तब म त्यही हाँसो भित्र हराउथेँ।

छोरो छ बर्षको भएको थियो। ऊ स्कुल जान थालेको थियो। उसलाइ कहिले स्कुल जान कर लगाउन परेन। ऊ स्कुल जान तयार हुँदै गर्दा उसका बा उसलाइ जिस्काउँदै सोध्थे “धेरै पढेर के बन्छ अरे मेरो छोरो?”

“डाक्टर बन्छु।” ऊ लजाए झैँ गर्दै बोल्थ्यो।

“के गरि बनाउनु होला र यसलाइ डाक्टर हामिले?” उसलाइ कपडा लगाइ दिँदै गरेकी म अनुहार बिगारेर बोल्थेँ।

“यसले पढ्यो भने जसरी पनी पढाउँछु म।” उसका बा दृढ स्वर बनाएर बोल्थे। मलाइ उनको हिम्मत देखेर उनि माथी गर्व लागेर आउँथ्यो। म उनलाइ पुलुक्क हेर्थेँ अनि अलिकती मुस्कुराउथेँ।

“पछि हामिलाइ पाल्छस् कि पाल्दैनस् बाबु?” एकदिन मैले उसलाइ जिस्काउँदै सोधेकी थिएँ।

“पाल्छु नि।” ऊ फुर्किदैँ बोलेको थियो।

“कसरी पाल्छस् हौ?”

“जागिर खाएर।”

“के जागिर खान्छस्?”

“डक्टर हुन्छु।” उसले छाती तनक्क पार्दै बोलेको थियो।

“अनि बिहे गरेपछी त त तेरि बुढिलाइ मात्र माया गर्छस् होला।” मैले जिस्काएकी थिएँ।

“बिहे..?” ऊ अकमकाएको थियो।

“अँ त। बिहे गर्दैनस्?” मैले उसलाइ हेर्दै सोधेकी थिएँ।

“गर्छु।” ऊ घोसे मुन्टो लाउँदै बोलेको थियो।

“को संग गर्छस?”

“संगिता संग।” ऊ लजाएर खुम्चिएको थियो।

“छिमेकमा बिहे गर्छन् त लाटा?” म हाँसेकी थिएँ।

“गर्छन्।” उसले छोटो उत्तर फर्काएको थियो।

“अनि बिहे गरेसी त्यही संगितालाइ मात्र माया गर्छस् होला। त्यसले हामिलाइ खाना पकाएर नि दिन्न होला।” मैले उसको कुरा सुन्न चाहेकी थिएँ।

“म त कुट्छु पो त्यसलाइ।” उसले हात टकटक्याउँदै मुख फुलाएर बोलेको थियो।

“किन कुट्नु नि अनि?” म फेरि हाँसेकी थिएँ।

“तपाइँलाइ खान दिइन भने।” उसले मेरो गुन्युँको फेर पकड्दै बोलेको थियो। मैले उसलाइ हेरेर मुस्कुराउँदै उसको टाउको सुमसुम्याएकि थिएँ।

ऊ दश बर्षको हुँदा एकदिन उसका बा’ले उसका लागी साइकल लिएर आएका थिए। ऊ साइकल देख्ने बित्तिकै फुर्किएर साइकल लिएर गाउँतिर हानीएको थियो। उसका बा उसलाइ हेर्दै आंगनमा उभिएर मुसुमुसु मुस्कुराएका थिए। त्यती नै बेला म भान्साबाट बाहिर निस्किदैँ कराएकी थिएँ “हैन फेरि साइकल लिएर पो आउनु भएछ त। केके गर्नु हुन्छ तपाइँ पनि।”

“रहर गर्यो त। गनगन गरिराख्छ।” उनले मलाइ हेर्दै बोलेका थिए।

“कति हाल्नु भो?”

“पाँच हजार।” उनले मुस्कुराउँदै बोलेका थिए।

“अँ नि तपाइँको ढाड चाहीँ डाक्टरलाइ देखाउनु भयो की भएन त?” मैले कराएकि थिएँ।

“देखाइन हौ। यो केटालाइ साइकल ल्याउँदा नै सकियो पैसा। अब अर्को महिना देखाउन पर्ला।” उनले असहज तरिकाले मलाइ हेर्दै बोले।

“कस्तो मान्छे होला तपाइँ त। त्यसलाइ किन चाहिएको थ्यो अहिले साइकल। पहिले आफ्नो उपचार त गर्न पर्छ नि। बुद्दी पनि के भाको होला।” म गनगनाएकी थिएँ।

“नकरान हौ। अब छोराले रहर गर्यो त कसरी नाइ भन्नु।” उनी आँगनबाट भित्र आउँदै बोलेका थिए। म केहि नबोली फन्किएर भान्सामा पसेकी थिएँ। भान्सामा पुगेर सोच्दै गर्दा मेरो मनले भनेको थियो “सायद उनको ठाउँमा म भएको भए नि त्यही गर्ने थिएँ।” म सान्त भएकी थिएं। उनलाइ छोरालाइ यति धेरै माया गरेको देखेर अलिकती मुस्कान आएको थियो मेरा ओठमा।

छोरो अठार बर्षको भएको थियो। ऊ कक्षा बारमा पढ्थ्यो। हाम्रो उमेर दिनदिनै ढल्कदैँ जाँंदै थियो। उसका बाको त कपाल फुलेर सेतै हुन थालेको थियो। तर उनले अझै पनि मेहनत गरेर छोरालाइ पढाउने हिम्मत हारेका थिएनन्।

उसले बार कक्षा सकेपछी मोटरसाइकल चाहिन्छ भनेर माग राखेको थियो। त्यो पनि किन्दिन्छु भनेर उसका बा’ले बोलेका थिए। म अब छोराको कमाइ खाएको अनि उसको बिबाह गरेर घरजाम गरेको सपना देख्न थालेकी थिएँ। यो सब सम्झिँदा पनि मलाइ आनन्द लागेर आउँथ्यो।

केहि दिन देखि छोरो चिन्तित देखिन्थ्यो। ऊ अचेल खासै गफ गर्दैन थियो। घरिघरी त मैले बोलाउँदा पनि झर्कन्थ्यो। बाको त छेउ नै पर्दैन थियो। एक्लै कोठामा पसेर बसिरहन्थ्यो। कुनै ठुलै पिडामा परे झैँ देखिन्थ्यो उसको अनुहार। हामी उसको बादलिएको स्वभाव देखेर चिन्तित थियौँ।

एकदिन खाना खाँदै गर्दा मैले उसलाइ सोधेकी थिएँ “हैन के भाछ तँलाइ? बोल्दैनस् पनि हाँस्दैनस् पनि।”

“केहि भा छैन।” उसले ठाडो उत्तर दिएको थियो।

“अचेल अर्कै भाछस् तँ। के भयो भन्।” मैले उसलाइ हेर्दै बोलेकी थिएँ।

“भने त केहि भा छैन भनेर। कति कराउन पर्दो रहेछ।” ऊ झर्किएर बोलेको थियो।

“आमा संग बोल्ने तरिका यहि हो तेरो?” उसका बाले ठुलो स्वरमा कराएका थिए।

“आउँदैन मलाइ बोल्न।” ऊ खानाको थाल पर ठेल्दै झर्किदैँ उठेर बाहिर निस्किएको थियो।

उसको यस्तो व्यबहार देखेर मेरा आँखा रसाएर आएका थिए। मुटु फुट्ला झैँ भएको थियो। मैले रोक्न खोज्दा खोज्दै पनि मेरा आँखाबाट आँशु बगेका थिए।

“भयो नरो। कलेज तिर केहि भयो होला, म बुझ्छु। यस्तो त थिएन।” उसका बा’ले लामो सास फेर्दै बोलेका थिए।

भोली पल्ट उसकी बच्चा देखिकी साथी संगिता घर अगाडि बाटोमा देखिएकी थिइ। ऊ त्यही संगिता थिइ जो संग हाम्रो छोरो बिहे गर्छु भन्थ्यो।

मैले देख्ने बित्तिकै उसलाइ बोलाइ हालेँ। ऊ घरमा आइ। मैले उसलाइ सोधिहालेँ “हाम्रो सानिध्यलाइ के भएको छ अचेल?”

“किन र आन्टी?”

“खाली झर्किन्छ मात्रै। बोल्दैन पनि। कलेजमा केहि भयो कि? कुनै तनाबमा छ कि? तिमिलाइ त थाहा होलानी मिल्ने साथी हौ क्यारे।” मैले अँध्यारो अनुहार बनाएर पिडा पोखेकी थिएँ।

“अलिअली त थाहा छ आन्टी। तर तपाइँलाइ सुनाएको थाहा पायो भने मार्छ त्यसले।” उसले अनकनाउँदै बोलि।

“भनन। थाहा हुन्न त्यसलाइ। त्यो बदलिएको देखेर साह्रै चिन्ता भाछ हामिलाइ।” मैले आग्रह गरेँ।

“एउटी केटि संग लभ परेको थियो रे उसको। अनि अहिले चाहिँ त्यसले छोडी रे सानिध्यलाइ। कलेजमा सबैजना यस्तै हल्ला गर्छन्। सानिध्य त अचेल क्लास पनि जाँदैन।” उसले खुरुखुरु सुनाइ।

उसको कुराले मेरो तनाब झन् बढ्यो। त्यहाँभन्दा बढी केहि सोध्न मन लागेन। टाउको चड्किएर आँखा निस्किन्छन् कि झैँ भयो।

केहिबेरमा सबै कुरा मैले उसका बा’लाइ सुनाएँ। उनि केहि बोलेनन्। खुइय गरेर सास फेर्दै एकोहिरिएर बसिरहे।

बेलुकाको खाना खाँदा बस्दा पनि ऊ केहि बोलेन। खाना खाँंदा केहि कुरा नगर्नु भनेकोले उसका बाले पनि केहि सोधेनन्।
खाना खाइ सक्ने बित्तिकै उसका बाले उसलाइ बोलाए।

“ओए केटा याँ आइज।”

“ऊ घोसे मुन्टो लगाएर नजिक आयो।”

“एउटि केटिका लागी मर्छस् गधा?” उनले कोठा थर्किने गरि कराए।

उसले केहि बोलेन। घोसे मुन्टो लगाएर बसीरह्यो।

“यस्तो लाछि त छस् जस्तो लाग्दैन थियो तँ।” उनि अझै कराउन थाले।

ऊ पिलपिल आँशु चुहाउन थाल्यो।

“भयो नकराउनु। त्यस्ता नाथे केटि बिर्सिन्छ भोली देखी।” म उसका बालाइ गाली गर्न रोक्दै नजिक गएँं।

“अनि के सारो त हौ! नाथे केटिको लागी यस्तो गर्छन् त छोरो मान्छे भएर? म मरेको छु? यसलाइ एउटि केटि खोजेर ब्या गर्दिन सक्दिन?” उनले दिक्क मान्दै बोले।

ऊ घुँक्क घुँक्क आवाज निकालेर रुन थाल्यो।

“हे भगवान! कस्तो चाहिँ लाछी छोरो रैछस्। आइमाइ जस्तो रोएको छ।” उनि उसलाइ हेर्दै कड्किए।

“कसैले बुझ्दैन मलाइ। कसैले मलाइ देख्नै सक्दैन।” ऊ भक्कानिएर रुँदै कोठा भित्र पस्यो अनि ढोका थुन्यो।

मैले भरिएका आँखाले उसका बालाइ हेरेँ। उनि खुइय गर्दै अर्कापटी फर्किए। त्यो रात हामी केहि नबोलि सुत्यौं। मलाइ खटपटी भैरह्यो आधारात सम्म। उसका बा पनि अबेर सम्म निदाएका थिएनन्।

भोली पल्ट आठ बजे सम्म ऊ उठेन। उसका बा म संग पनि अझै राम्रो संग बोलेका थिएनन्। चुपचाप बसेर रेडियो सुनिरहेका थिए।
मैले उसलाइ बाहिरैबाट बोलाएँ। उसले कुनै जव्वाफ दिएन।

“हैन किन उठ्दैनस् हँ यतिबेला सम्म?” म कराउँदै उसको ढोका बाहिर गएँ। उसले जवाफ फर्काएन।

“हैन किन बोल्दैनस् हँ?” मैले ढोका ठेल्दै कराएँ।

ढोका खुल्लै थियो। मैले छुने बित्तिकै खुलिहाल्यो। ढोका खुल्ने बित्तिकै म अताल्लिएँ। म माथी कुनै बज्र खसे झैँ भयो। कोठा भित्र पँखामा गलबन्दी बाँधेर मेरो छोरो तर्लङ्ग झुन्डिएको थियो।

म चिच्याएर कराएँ “ए बाबु!…… बाबु हौ।”

उसका बा दौडिएर आए। “हैन के भो हँ?”

“हेर्नु न बाबुले के गर्यो यस्तो……….।” मेरो बोलि आएन। म रुन पनि सकिन। उसको झुन्डिएको शरिरमा छुने बित्तिकै भुइँमा लडेँ।

“हे भगवान्। यो के गरिस् छोरा तैँले?” उसका बाको भक्कानिएको आवाज मेरो कानमा गुन्जियो। त्यसपछि मलाइ केहि होस् भएन। सबैतिर सुन्यता छायो। मेरो संसार एकै पटक उजाडियो।

हो यसरी हाम्रो छोराले हामिलाइ छोडेर गयो। उसले उसका खुशिका लागी आँफैलाइ बेच्न तयार हुने बा’अनि उसलाइ नै संसार ठान्ने आमाको लागी बाँच्न जरुरी ठानेन।तर उसलाइ माया नै नगर्ने एक युवतिको लागी आफ्नो प्राण त्यागी दियो।

समाप्त।
लेखक:- सन्तोष बस्नेत

यो कथा “असफल प्रेम अनि आत्महत्या” कथाको अर्को पाटो हो! त्यो कथा पढ्न यहाँ क्लिक गर्नुहोला:- आत्महत्या

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here