Silence – A Story Of Silent Couple

लगनखेल ! लगनखेल ! लगनखेल ! लगनखेल ! गाडीको सहचालक चिच्चाउँदै थिए । सायद तीन बर्ष अघि हुनुपर्छ । म भर्खरै किटिनि कलेजमा टौखेलमा ब्याचलर join गरेको थिए । नागार्जुना कलेजमा +2 पढ्दा देखी मंगलबजारको बाटो हुँदै पाटन दरबार स्क्वायरमा बसेर चिनिबिनाको कडक कालो कफि खाने बानी परेको थियो । म प्राय सनिबार एक्लै एक्लै दरबार स्क्वायर पुग्थेँ । खैरेहरु फोटो खिच्दै हिँडेको, मान्छेहरुले मलेवाको बथानलाई चाहारा हालेको अनि मन्दिर को सत्तलको ठिक माथीतिरको त्यो कास्ठकला मलाई अत्यन्तै मनपर्थ्यो । त्यसैले त म फुर्सद हुनासाथ दरवार स्क्वायर पुगोहाल्थेँ । माईक्रोबसको देब्रेपट्टीको एकल सिटमा बसेँ । मोबाईल निकालेर समय हेरेँ, एकैछिनमा गाडी गुड्यो,गाडी हाँडीगाउ पुगेपछी मान्छे भर्नको तिमित्त गाडी एकैछिन रोकियो । यो गोदावरी रुटको गाडीपनी अत्याचार नै गर्छन त्यो बिचको सिटमा पनि तीन तीन जना कोच्दिने । माईक्रोमा मै नजिकको एउटामात्र सिट खाली थियो, म मोबाईल निकालेर मोबाईलमा गेम खेल्दै थिएँ । मेरो ध्यान मोबाईलमै थियो गाडी गुड्यो, मोबाइल खल्तीमा हालेर यस्सो जिउ तन्काउँदै थिएँ । आफ्नो दायाँपट्टि त अहो ! साक्षात स्वर्गको अप्सरा पो प्रकट भएकी रहेछिन ।

बोल्न पाए?

चिनजान गर्न पाए?

अझै लभ गर्न पाए? मेरो आँखा राम्रा भएका हुन कि आजकालका केटीहरु राम्रा भएका हुन ठम्माउनै सकिन । अचम्ममा परेँ माईक्रो गुडिराखेको हो कि उडीराखेको हो कत्ती छिट्टै सातदोबाटो आईसकेछ । सहचालक भाइ भाडा माग्दै आए । कार्ड र पैसा निकालेर हातमा पैसा थमाईदिएँ । नजर फेरि परितर्फ दौडीहाल्यो कुनबेला कार्ड निकाल्छिन र नाम हेरौँला ! फेसबूकमा एड गरौँला ! अनि उनको र आफ्नो नामको पर्मानेन्ट ट्याटु मुटुभित्रै हानौला ! सोच्दा सोच्दै प्रतिक्षाको घडी समाप्त भयो उनले कार्ड निकालिन् क्या संयोग उनी पनि किटिनी कलेज नै पढ्ने रहेछिन् । कलेज भर्खर भर्खर सुरु भएकोले होला मैले कलेजमा उनलाई नदेखेको, एउटै जंगलमा उड्ने पंछी परेछौँ । बोलौँ बोलौँ लाग्यो आँट आएन, नाम त हेरीहालेँ, ११ मा पढ्ने रहेछिन ! उनी पनि कलेजमा नयाँ अनि म पनि नयाँ, केटाकेटी बेलामा “मोटे मोटे भेटभयो,घ्याम्पो जत्रो पेट भयो” भनेर उफ्रेको याद आयो । अब फेसबूकमा एड गर्ने । चिटिक्क परेर कलेजको गेटमा उनको बाटो ढुकेरै भए पनि बस्ने बिचार गरियो ।

दरवार स्क्वायर पुगेर सत्तलमा बसेर मोबाईलको डाटा खोलेर फेसबूकमा उनको नाम खोजेर फ्रेन्ड रीक्वेस्ट पठाएँ अनि डाटा अफ गरेर सदा झैँ कालो कफिको चुस्की सँगै दरवार स्क्वायरको रमाइलो हेर्न तिर लागेँ ।
साँझमा घर फर्किने समयमा दीउँसोभरी को रमाइलो घटनाहरु मानसपटलमा खेलाउँदै बिहान जस्तै माईक्रोबसमा ती परिलाई देख्न पाए पनि हुने भनेर तर्कना गर्दै घर फर्किएँ । राती सुत्ने बेलामा मोबाईलको डाटा नखोली निन्द्रा न आउने सम्भावना दीउँसोनै पक्कापक्की भैसकेको थियो । डाटा खोलेँ हत्तपत्त फेसबूक खोलेँ । म त खुसीले नाचुँनाचुँ जस्तो भयो । घरमा सबै निदाईसक्नुभएको थियो नभए त कोठाको झ्यालढोका बन्द गरेर उफरमा ठूलो आवाजले गीत बजाएर छमछमी नाच्थेँ होला उनले फ्रेन्ड रीक्वेस्ट एसेप्ट गरिछिन । हत्तपत्त मेसेज पठाएँ “नमस्कार हजुर”

“Hello” उताबाट रीप्लाई आयो !

“Hi” मैले पनि कहिल्यै नदेखे जस्तै गरि कुरा गरेँ । उस्लाई people may you know मा देखेर राम्रो लागेर एड गरेको कुरा बताएँ । कुराकानीको क्रममा एउटै कलेज पढ्ने कुरा भैहाल्यो भोलीपल्टै कलेजमा देखादेख बोलचाल हुने भयो । आफुले आफुलाई राजा नै भएँ कि कसो ? जस्तो लाग्न थाल्यो । देख्न नपाई कुरा हुनु अनि कुरा भाको भोलीपल्ट नै देखादेख अनि आमनेसामने भएर बोलचाल हुनु । भोलीपल्ट कलेज गैयो देखादेख भयो तर उनले वास्ता गरेझैँ लागेन । सायद उनलाई मन परेन होला । हैट ! म किन उल्लु भएको होला ? म मैले पो देख्नासाथ मन पराएँ सबै मै जस्तो कहाँ हुन्छन त ? फेरि उनलाई के थाह मैले उनलाई देखेर मन पराएर उनको आईडीकार्ड हेरीवरी उनलाई फेसबूकमा रीक्वेस्ट पठाएको । उनको नजरमा त यो केवल एउटा संयोग मात्रै भयो । मेरो तर्फबाट पो उनको नजिक हुने पुर्वयोजना थियो त । दिनहरु बित्दै गए हल्काफुल्का गफगाफ हुँदै गए । म आफुले उनलाई भेट्दा देख्दा आफैँ बोलाउने गर्थेँ अनि उनीलाई अनलाईन देख्दा पनि आफैँ बोलाईहाल्थेँ । उनिसँग गफ गर्नु मेरो बानी नै भैसकेको थियो र पनि उनी खुलेर नबोलेकी हुन कि झैँ लाग्थ्यो ।

त्यतीखेर हामी फेसबूकमा भर्खर भर्खरै कुराकानी गर्थ्यौँ। हुन त उनिलाई कलेजमा पनि भेटिन्थ्यो तर उनी त्यति सार्हो वास्ता गर्दैनथिन। खै कसरी हो कसरी उनी मेरो बानी बनिसकिछिन । उनिसँग एक दिन मात्र अनलाईनमा कुरा नभए पनि अलिनु तरकारी खाएझैँ लाग्थ्यो ! त्यति धेरै कुराकानी हुँदा पनि खै मैले उन्लाई बुझ्नै सक्दिनथेँ । उनको मनमा आफ्नोलागी के कुरा छ भनेर ठम्याउनै सक्दैनथेँ। कैलेकाहिँ आमाले घरमा माया गरेर अनि गाली गरेर “लाटो मोरो” भन्नुहुन्थ्यो । उनको व्यबहार बुझ्न नसक्दा साँच्चैनै म आफुले आफुलाई लाटो नै हो कि क्या हो ? झैँ लाग्थ्यो ! फेब्रुअरी को मैना थियो । फेब्रुअरी महिना माया गर्नेहरुको लागि अत्यन्तै महत्वपुर्ण महिना अरे ! तर मैले त सायद एकहोरो मात्रै माया गरेथेँ होला, म बबुरोले कहाँबाट बुझौँ मायाको महत्व सायद त्यसदिन प्रपोज डे थियो होला । म सबेरै कलेज गएको थिएँ एकाएक
मसिनो स्वरमा आएको आवाज मन्द गतीले मेरो कानमा ठोक्कियो।

“I Love You”

प्रतिउत्तरमा मैले भनेँ “साँच्चै? कस्सम?” हिजो सम्म वास्ता नगर्नेले आज एक्कासी यसो भन्दा बिश्वास नै लागेको थिएन । फेरि उनी आफ्नो मसिनो अनि सुरिलो आवाजमा बोलिन “कस्सम” कस्को कसम खाउँ ? तिमिनै भन त ? आफुले आफुलाई भन्दा पनि धेरै माया गर्ने मान्छेको कस्सम खाउ भन्दै म लाडिएँ । फेरि उनको मधुर आवाज गुन्जियो ” तिम्रो कस्सम” एकैछिनका लागि म मौन भएँ ।

कलेज सक्किए पछि घर पुगेँ । खाना खाएर थाल उठाउने सम्म पनि बानि नभएको म, आज थाल माझ्दीउँ कि क्या हो ? झैँ लाग्यो ! त्यस दिन यत्ती धेरै खुसी भैयो कि म ती खुसी शब्दमा बयान गर्नै सक्दिन । प्रत्यक बिहानी उनीसँगको भेटघाट, बोलाई अनि उनको त्यो जुन जस्तो मुहारको दर्शन ले मेरो दिन नै राम्रो बनेजस्तो आभास हुन्थ्यो । मलाई दिन बितेको पत्तै हुँदैनथ्यो, बिहान उनिसँग कलेजमा भेटघाट घर पुग्न नपाइ उनको फोन आउँथ्यो । घर पुग्नुभयो त ?? खाना खानुभयो त ?? कति मिठास थियो सम्बन्ध, कति ख्याल राख्थिन उनले ! साँच्चै नै म भाग्यमानी नै रहेछु । पहिलो पटक मन पराएको थिएँ कसैलाई जस्लाई आफ्नो बनाउन सफल हुनु चानचुने भाग्यमानी हैन ।

समय कत्ती छिट्टै बितेको हेर्दा हेर्दै उनिसंग समय बिताएको पनि एक बर्ष हुन लागिसकेछ । हाम्रो सम्बन्धमा कुनै प्रकारका नीति नियम, एक-अर्कालाई नबुझ्ने अनि स-साना कुराहरुमा कचकच गर्ने बानी नै थिएन । साँच्चै नै भगवानले नै हाम्रो जोडी तय गरिदिए झैँ लाग्थ्यो । म यसरी नै उनी सँग बर्षौ बिताउन चाहन्थेँ अनि उनी पनि आफ्नो अन्तिम सास पनि मेरै काखमा फेर्न चाहन्थिन ।

त्यस दिन हाम्रो मायाको पहिलो बर्ष अनि हामी संगै भएको दोस्रो प्रणय दिवस थियो । म निन्द्रामै थिएँ, एकाबिहानै मोबाईलको घण्टी बज्यो। फोन मेरी उनी को रहेछ । उताबाट उहीँ सँधै सुनिरहुँ लाग्ने मधुर स्वरमा आवाज आयो “हेल्लो” म पनि धिमी आवाजमा बोलेँ “हजुर” अलिक रिसाए जस्तो आवाजमा उनि बोलिन । “आज त प्रणय दिवश भेट्ने कुरा त कता हो कता आफैँले फोन पनि गर्नसक्नुभएन है ?” हाम्रो लागि सँधै प्रणय दिवश हो नि प्रीय के के प्रणय दिवश भनेर मरिहत्ते गर्नु ? अलिकती मिठास सहित उनी फेरि बोलिन । “अनि मलाई त नभेटेपनी पछि भए नि गिफ्ट चाहिन्छ नि! अनि के गिफ्ट दिनुहुन्छ त ?” बिनम्रता पुर्वक फेरि जवाफ फर्काएँ । “मनभरीको माया, अटुट बिश्वास अनि तिम्रो माया को महत्व बुझ्ने प्रयास गर्नेछु अरु के गिफ्ट चाहियो भन ?” केही समयका लागि उनी मौन !

एक बर्ष अघि प्रपोज डे को दिनमा यसरी नै म मौन भएको थिएँ । हाम्रो सम्बन्धमा कयौँ पटक यसरी मौनता छाउने गर्थ्यो । कहिले उनको माया बिश्वासले म मौन त कैले उनको माया अनि ख्याल राख्ने बानी ले म मौन !

हाम्रो सम्बन्धमा कति धेरै मिठास थियो । हामी हाम्रो सम्बन्ध देखि कति धेरै आनन्दित थियौँ ।फेब्रुअरी सक्कियो हाम्रो क्यालेन्डर अनुसार फाल्गुन को महिना चलीराखेको थियो । फाल्गुनको अन्तिम अन्तिम समयतिर उनले भनिन ” मलाई बिहान देखि साँझ सम्म एकदिनको पूरा समय तपाईं संग बिताउनु छ ।”
सहमती स्वरुप म बोलेँ ” भैहाल्छ नि लाटी सनिबार बिहानै बाट कतै घुम्न जाउला नि हुन्न ?”

बिमती जनाउँदै उनी बोलिन “कलेज लागेकै दिन भेट्नुपर्छ के लाटा नभए घरबाट मिल्दैन । ”

फेरि हौसीँदै म बोलेँ ” भोलि नै बंक हान्दिम न त लाटी हुन्न?”

उनले सहमती स्वरुप टाउको हल्लाईन ।

भोलीपल्ट बिहान हामी टौखेल चोकमा भेट्यौँ । उनको हातमा एउटा सानो लेडिज मनि ब्याग अनि अर्को कलेज आउँदा बोक्ने गरेको ब्याग थियो । हामी टौखेल चोक बाटै गाडी चढेर लास्ट सिटमा बस्यौँ । आज उनको अनुहारमा हिजो अस्ति देखेजस्तो चमक थिएन । उनको अनुहार अलिक मलिन थियो । सधैं झैँ जिस्किएर सोधेँ ” के भयो लाटी तिमिलाई ?” उ फिस्स दाँत देखाएर बोली क्यै भाको छैन । हामी लगनखेल पुगेर पाटन दरबार स्क्वायर पुग्यौँ । उनलाई थाह थियो मलाई दरबार स्क्वायरमा टहालिन मनपर्छ । हामी कृष्ण मन्दिर भन्दा ठिक अगाडीपट्टी गएर बस्यौँ । म उनलाई बस्दै गर है भनेर कफि लिन गएँ ।

म फर्केर आउँदा उनी गहभरी आँसु टिलपिलाएर एकोहोरिएर बसेकी रहेछिन । म नजिकै गएर उनलाई बोलाएँ ” ओई के भयो ? मलाई पनि भन्दैनौ के भयो ? ” ती टिलपिलाएका आँसु त्यो गोरो गालाको बाटो गर्दै दुईथोपा आँसु तप्प तप्प मेरो हातमा भएको कफिको कपमा पर्यो । कुर्सीमा कफिको कप राखेर उनको चिउँडोमा हात राखेर शिर उठाएर सोधेँ । ” भन न लाटी के भयो ? रोएर मात्रै हुन्छ त ?” भक्भकिँदै उनी बोलिन ” हामी आजै अहिले नै भागेर बिहे गरौं न प्लिज” म छाँगोबाट खसे जस्तै भएँ । बिहे गर्न घरमा आफू भन्दा ठूलो एक दाइ एक दिदी बाँकी नै हुनुहुन्छ । मैले उनलाई सम्झाए । यसरी हामी यत्तीछिट्टै बिबाह नगरौँ, आफ्नो खुट्टामा उभिनुपर्छ । फेरि आमा बुवाको सहमतीबिना कायर झैँ भागेर बिहे नगरौँ । अहिले के कति कारणले बिहे गर्न हतार गरिराखेको छौ ? समस्या के हो ? मलाई सबै कुरा भन म समस्याको समाधान निकाल्ने प्रयास गर्नेछु । उनी झनझन रुँदै भन्न थालिन ” उसो भए तपाईं मलाई भुल्दिनुस ।” उनी उठेर फटाफट लगनखेल तिर लम्किन । म अक्कमक्क परेँ, मैले उनको कुरा बुझ्नै सकिँन । यति मज्जाले चलेको सम्बन्ध एकाएक सिसा फुटेझैँ चकनाचुर भयो भयो । मैले उनलाई कल गरेँ मोबाईल स्विछ अफ थियो । भोलिपल्ट कलेज गएँ उनको कक्षाकोठा तिर हेरेँ ।हामी चिया पिउन बस्ने होटल तिर हेरेँ । हामी हात समाएर घुम्ने बाटो सम्झिएँ । मैले आफ्नो गल्ती के हो ? र उनीले एक्कासी यस्तो निर्णय किन लिईन बुझ्नै सकिन । साँच्चै समय आफ्नो हातमा नहुने रहेछ । त्यो खुसीको पल त्यो हाँसो मजाक अनि साथ हुँदा त्यतीधेरै एक अर्कालाई बुझ्ने हाम्रो प्रेम खै कसरी कसरी एकाएक उनी कता पुगिन । म मात्रै तड्पिएको होला कि उनी पनि यत्तीकै तड्पिकी होलिन ? मनभरी यस्तै आवाश्यक अनावश्यक प्रश्नहरुले सँधै डेरा जमाईरहे ।

दुईचार दिन अघि प्रणय दिवस नजिकँदै गर्दा उनलाई त्यही रुटको माईक्रोबसमा देखेँ । उनको काखमा एउटा कलिलो बच्चा थियो । बल्ल यतीखेर आएर सबै कुरा मनमनै थाह पाएँ ।

बोल्ने चाहना हुँदाहुँदै पनि म मौन नै रहेँ ।

लेखक- सन्तोष चौंलागाई

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here