सडकको ब्यथा

0
880

By RAM PARAJULI

रातको ८ बजे सम्म ट्युसन पढाउँथे, एस.एल.सि का बिध्यार्थिहरुलाइ। सँधै झैँ त्यस दिन पनि क्लास सकिएर फर्कँदै थिएं। लगभग मंसिर महिना लागिसकेको हुनाले चाँडै अँध्यारो भैसक्थ्यो। बाटोहरु पनि सुनसान भैसकेका हुन्थे भने पसलहरु पनि प्राय बन्द भैसकेका हुन्थे। एकान्त बाटोमा रातिको समय कानमा एयरफोन हालेर गित सुन्दै हिड्नु को मज्जा पनि बेग्लै हुन्थ्यो। एक्कासी अलिक अगाडिको पसलमा एउटा घटना देखें। मन सार्है अमिलो भएर आयो। त्यस पसलका साहुजिले लगभग ८-९ बर्षको एक बालकलाइ नराम्रो संग झापड हान्दै थिएं। मैले हतार हतार गएर रोक्दै सोधें “किन दाजु, यस्तो सानो बच्चालाई पिट्नु भएको?? लाज लाग्दैन??”


पसले अझ जंगिदै भने “यस्ता खाते हरुलाइ नपिटेर के माया गर्नु, पसल बन्द गर्न लाग्या थिएं, पसलको पाउरोटी चोर्दै रैछ, अस्ति पनि चोरेको थियो”

“अनि एउटा पाउरोटी चोर्यो भन्दैमा बच्चालाइ यस्तरि पिट्न पाइन्छ त, जाबो एउटा पाउरोटी दिँदा के जान्थ्यो, आखिरमा दिनभरी को नाफाले 10 को पाउरोटी दिन सक्नु हुन्नथ्यो त??” मैले पनि अलिक कडक स्वरमा भनें।
“म व्यापार गर्न बस्या हो, सेवा गर्न हैन, मन छ भने आफैँले किनेर दिए भैहाल्यो नि” यति भन्दै उनले पसल बन्द गर्ने चाँजोपाँजो मिलाउन थाले। मैले पनि पाउरोटी र एउटा जुस किनेर त्यस बालकलाइ दिँदै सोधेँ, “त्यसरी किन चोरेको त??”
रुँदै उसले भन्यो “भोक लाग्यो अनि, दिउँसो भलि मागेको, त्याँ पलको केताहलुले सबै लुते”।

मनमा चिसो पस्यो, कठै बिचरा, यस्ता कति जना बच्चा छन् जो यस्तरी माग्दै अनि खानको लागि चोर्दै र पिटाइ खाँदै बाँची रहेका छन् सडकमा। “नाम के हो, अनि कता बस्छौ, घर कता हो, किन यस्तरी रोडमा बसेको??” मेरो प्रश्न देखेर उ हेर्या हेर्यै भयो, सायद उसलाइ यस्ता प्रश्न सोध्ने कि त धेरै जना थिए, कि त मैले पहिलो चोटि सोध्दै थिएं।

“नाम हल्के, घल थुलोगाउँ” उ मेरो प्रश्नको उत्तर दिनु भन्दा पनि उ खानमै ब्यस्त थियो। “अनि राती कता बस्छौ नि??” हातले पुलमुनी इसारा गर्दै भन्यो “उ त्याँ”
मनमा निकै पिडाको अनुभिती भयो, यतिको पीडा मैले सायद कहिले भोगेको थिइन। “ल अब देखि कहिले नचोर्नु है” यति भन्दै उसको हातमा ५० को नोट थमाउँदै म हिँड्न लागें। “यो कति लुपियाँ हो??” उसले नोट हेर्दै भन्यो, सायद अहिले सम्म उसले ५० को नोट देखेको थिएन होला। “५० को हो, भोलि बिहान खान पुग्छ” मैले यति भन्दै गर्दा उसले हात जोडेर नमस्कार गर्दै थियो, मुखले भन्न नजाने पनि आँखाले भने धन्यबाद हजुरलाइ भनिरहेको थियो।

घर जाँदा जाँदै आफ्नो पुराना पलहरु एक्कासी मनमा आउन थाल्यो। त्यसरी बाटोमै बस्न नपरे पनि कयौँ रात अभाभले गर्दा हामी भोकै सुतेका थियौँ। खाना खान मन लागेन बस त्यही बालकको बारेमा मात्र मनमा कुरा खेलिरह्यो।
भोलि पनि सदाको झैँ त्यही समयमा फर्कें, त्यही बाटो। त्यस बालकलाइ त्यसै स्थानमा भेटें, उसले मलाइ देखेसी एउट मीठो मुस्कान दियो। मैले हातले इसारा गरेर बोलाएं, नजिकै आएसि सोधें “हिजोको पैसाले के गर्यौ??”
“खाना खाएं” मुस्कान सहित उस्ले भन्यो। आज पनि उसलाइ केही खानेकुरा दिएर म फर्कें। यो क्रम निरन्तर केही दिनसम्म चलिरह्यो। एकदिन त्यस बालक केही अँध्यारो अनुहार लिएर बसिरहेको थियो, मैले सोधें “के भयो??”
रुँदै उसले भन्यो “मेलो ओद्ने ल ज्याकेत लुत्यो केताहलुले”

Read another story: गल्ती

त्यस बखत ती केटाहरुलाइ चै पिट्न मन लाग्या थियो मलाइ। त्यस्तो सानो बालक को पनि लुट्ने, तर फेरि ती अरु केटाहरुको पनि बाध्यता हो यी सब गर्ने। केही भन्न सकिन। मैले आफुले लगाएको ज्याकेट र गलबन्दी खोलेर उसलाइ दिएं। उसले खुसी हुँदै त्यो ज्याकेट सुमसुम्यायो। मनमा निकै आनन्द महसुस भयो मलाइ। कोठा फर्कँदा मनमा सोचाइ आयो, त्यस बालकलाइ कुनै अनाथ आश्रममा लगेर राखिदिन्छु। केही दिन ट्युसन बिदा भएको हुनाले अलिक चाँडै घर फर्कदै थिएं, त्यस बालकलाइ देखिन, सायद खानाको जुगाड गर्नलाइ गएको होला भन्ने सोचें। यता मैए भने चिनजानको एउटा अनाथ आश्रममा कुरा गरेर शनिबार त्यस बालकलाइ ल्याउँछु भनेर सम्पुर्ण तयारी सक्काएको थिएं। शुक्रबार बेलुका त्यसबालकलाइ खोज्दै पुगें, तर त्यहाँ न त्यस बालकलाइ देखें न अन्य कुनै बालकलाइ। केही समय पछि एक हुल बालकहरु त्यहाँ देखा परे, तर हर्केलाइ देखिन। अर्को एक बालकलाइ बोलाएर सोधें, “बाबू, खै त हर्के, कता छ? हिजो पनि देखिन मैले।” मेरो कुरा भुइँमा झर्न नपाउँदै अर्कोले भन्यो “त्यसको ज्याकेट नयाँ रैछ, अनि त्यो ठूलो केटाहरुले अस्ति लुट्न खोज्दै थियो, एउटाको टाउको फुटाएर खै कता पो भाग्यो, अहिले यता आएको छैन”

मनमा ढुंगाले थिचेको जस्तै भयो मेरो। मैले चाहेर पनि केही गर्न सकिन। धेरै दिन सम्म त्यस बालकलाइ मैले खोजी रहें, धेरै ठाउँमा तर अहँ कतै फेला पार्न सकिन। सायद अहिले पनि उ यस्तै कुनै पुल वा पाटिमुनी बस्दै होला, त्यसरी नै दिनभरी माग्दै र मागेको अरुले लुटेपछी चोर्दै र फेरि कुटाइ खाँदै आफ्नो अन्धकार भविस्यको लागि भौँतारी रहँदै होला।

बाटामा यस्ता हज्जारौँ सडक बालबालिकाहरु छन् जसलाइ आफ्नो घर कता हो, आमा बा को हुन् भन्ने थाहा समेत छैन, तर यहि सडकमा आफ्ना दिनहरु कटाउँदै छन्। सयौँको संख्यामा त्यस्ता बालबालिकाहरुलाइ राख्ने अनाथाश्रम खुलेका छन् तर मात्र कागजी रुपमा र देखावटी रुपमा।

#समाप्त
#UMemo

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here