Saara – A Girl From Pokhara | Love Story

0
21354

सिरानीमुनि घुर्रर्रर्र गरेर थर्किएर बिउँझिएँ। साराको फोन रै’छ। आँखा मिच्दै उठाएँ।
‘हेलो!’ अल्छि पाराले बोलेँ।
‘हेल्लो! गुड मर्निंग काठमाण्डु।’
उसको आवाजको इनर्जी मेरा कानमा ठोक्किँदै मेरा ओठहरूमा पनि ट्रान्सफर भयो। ठुलो स्वरले बोलेँ,
‘हेल्लो। गुड मर्निंग पोखरा।’
‘नो नो पोखरा इज हियर इन द काठमाण्डु सिन्स एस्टरडे!’ उसले आफु काठमाण्डु आएको जानकारी गराएकि थिई। उसको यति अँग्रेजीले झन् बढि इनर्जी ट्रान्सफर गर्यो। म ओछ्यानबाट जुरूक्कै उठेँ। ब्लांकेट फ्याँकेँ। र बोलेँ,
‘कहाँ छौ? कता बसेकि छौ?’
‘हिहि हाउ एक्साइटेड। म त यो नयाँबजार टाउनप्लानिंगमा बसेको छु, आण्टिकोमा।’
‘अनि हिजो आएर यतिबेला कल गर्दैछौ?’ अलि घुर्क्याउने तरिकाले बोलेँ।
‘हिजो धेरै थाकेँ र निदाइहालेँ के।’
‘ए ए ल ठिक छ। भन कतिबेला भेट्छौ?’
‘इट्स अपन यु। म त एनि टाइम एभाइलेबल।’
उसको अँग्रेजी बोल्ने शैली बेजोड लाग्यो। च्याटमा खासै अनुभव गरेको थिइनँ। ऊ रोमनमा टाइप गरे पनि नेपालीमै गफ गर्थि। थोरै फोटोहरू थिए फेसबुकमा ती पनि सबै नर्मल ड्रेसपमा थिए। यतिसम्म अत्याधुनिक थिई जस्तो लाग्दैनथियो।
‘म आउँछु नि त सोह्रखुट्टे। ठिक दश बजे है?’
‘दश बजे पो?’ उसले प्रश्न गरि।
‘अँ।’
‘अनि म खाना खाएर आउनु कि, नखाई आउनु त त्यतिबेला?’
मलाई अप्ठ्यारो लाग्यो के भनौँ भनौँ।
‘नखाई आउ न। सँगै खाउँला नि।’
‘ओके।’ यति भनेर उसले फोन राखि।
दश बजेर दश मिनेटमा ऊ सोह्रखुट्टेको बाजेको सेकुवामा आइपुगि। म दश बज्न दश मिनेट अघि नै पुगेर उसलाई कुरिरहेको थिएँ। मैले यो बीस मिनेटमा उसैको बाटो हेरेर बिताएको थिएँ।
मैले चिकेन खाना अर्डर गरेँ। उसले भेज खाना भनि।
‘तिमी नन भेज खान्नौ?’ मैले चासो लिएर सोधेँ।
‘अहँ। आई हेट नन भेज। तर नन भेज जोक्स चाहिँ मन पर्छ। हिहिहि।’ ऊ बेस्सरी हाँसि। म जिल्ल परेँ। कान राता भए। यति स्मार्ट केटि त मैले देखेकै थिइनँ।
खाना आइपुग्यो। मैले हातले नै खान थालेँ। उसले चम्चाले खान थालि।
‘म त पुरै नेपाली पाराले खान्छु है।’ भात मुछ्दामुछ्दै बोलेँ।
‘नेपाली त हामी पनि हौँ नि हजुर। तर यो पालिस गरेको नंगको खुब माया लाग्छ।’ उसले चम्चा चलाउँदै गर्दा हातका नंगहरू देखाई। दुबै हातमा चटक्क मिलेका सफा र लामा नंगहरू थिए।
‘यसरी दुबै हातमा किन नंग पालेकि तिमीले?’
‘सेल्फ डिफेन्सको लागी नि। हिहिहि।’ ऊ जतिबेला पनि हाँसिरहन्थि। ‘यति राम्री छु, कसैले गलत नियतले छुन खोज्यो भने घाँटि प्वाल पार्दिन्छु।’ ऊ हाँसि नै रहि। मलाई उसका कुराहरू खुब मन पर्न थाले। म उसका आँखाहरू हेर्दै खाना खान थालेँ।

रातो वानपिसमा अति नै स्टाइलिस देखिएकि थिई सारा। गोरो अनुहार, ओठमा रातो लिपिस्टिक अनि कानमा कालो कोठिजस्ता टप साँच्चै कम्बिनेसन आकर्षक थियो। खाना खाइसकेपछि मैले एउटा चुरोट मगाएँ। साराले आँखा ठुल्ठुला पारेर हेरि।
‘तपाईँ चुरोट पनि खानुहुन्छ र?’
‘अँ कहिलेकाहिँ। तिमी खान्नौ र?’
‘हाहाहा म पनि कहिलेकाहिँ तानिदिन्छु।’ टेबुलमा आइसकेको चुरोट उसैले समाति। म अक्क न बक्क परेँ। ‘म फाएर गरूम्?’ राता गुलाबी ओठमा चुरोट च्यापेर उसले सोधि। मेरो मनमा के रसायन बन्न थाल्यो खै मुटु जोडले धड्किन थाल्यो।
मैले हुन्छ भनेँ। उसले झ्वार्रर्र सलाई कोरेर चुरोट बालि। एउटा लामो सर्को तानि। अनि पातला राता ओठहरू गोलो चोसो पारेर खैरो धुवाँ फुरूरूरू पारेर उँडाई। म हेरेको हेरेई भएँ।
‘मलाई थाहा थिएन तिमी पनि चुरोट खान्छौ होला भनेर। मलाई त सोझोजस्तो पो लाग्थ्यो त।’ चुरोटको अर्को सर्को तान्दै उसले भनि। अचम्म लाग्यो। मैले भन्नुपर्ने कुरा उसले पो मलाई भन्दै थिई। उसले मलाई तिमी भनि। म पुरै डोमिनेटेड भइसकेको थिएँ।
‘अब एक्कासी तिमी पो?’ मैले असन्तुष्टिको मुस्कान फ्याँकेँ। उसले एक मुस्लो धुवाँ अर्को फ्याँकि र चुरोट मेरो हातमा पास गरेर बोलि,
‘अब तिमी र म साथी-साथी भइसक्यौँ भने यो तपाईँवाला फर्मालिटि छोडौँ के। तिमी मभन्दा केहि वर्ष सिनियर होला बट एज डजन्ट म्याटर्स!’
मैले उसका रातो लिपिस्टिकको दाग बसेको चुरोटको फिल्टर च्यापेँ। मलाई पहिलोचोटि चुरोट मीठो लाग्यो।
‘हुन्छ तिमीलाई जे सजिलो लाग्छ त्यहि भन।’ यति बोल्ड, यति सेक्सी यति मोडर्न केटिले साथी बनाउँछु भन्दा म उसका लागी जे पनि गुमाउन तयार थिएँ। माया पाइन्छ भने सम्मान गुमाउन के फरक पर्छ र!
‘ईफ यु फिल अकवार्ड, म तपाईँ नै भनौँला। तर म तपाईँ भनेपछि दाई भन्छु नि हिहिहि।’ उसको हाँसो बाजेको सेकुवाको चिम्निबाट निस्केको धुवाँजस्तै गरि बाहिर नयाँबजारतिर पनि फैलियो होला।
मेरो हातको चुरोट बल्दै-बल्दै फिल्टर छेउ पुगिसकेको थियो। मलाई उसको लिपिस्टिकको छाप बसेको फिल्टरलाई एस्ट्रेमा किचेर निभाउन मन भएन। यतिकै छाडिदिएँ, माया गरेर।
निस्किने बेलामा मैले बिल तिरेँ। उसले ‘थ्यांक्स’ भनि।
‘अब कता जाने?’ हातमा हेल्मेट अँठ्याएर मैले सोधेँ।
‘नाईँ आज त आण्टिसँग शपिंग जानुछ दिउँसो। मे बि भोली भेटम्ला। यु ह्याभ टु पिक मि फ्रम माई होम अनि कता घुमाउन लैजान्छौ एम रेडि। तिम्रो शहर, तिम्रो टाइम। जता भन्छौ भोली दिनभरि मलाई घुमाउने जिम्मा तिम्रो।’
मैले ‘ओके’ भनेर हाँसेँ। मैले उसलाई घरसम्म छोड्न चाहेँ। तर उसले मानिन।
म मनभरि तरंगहरू बोकेर घर फर्किएँ। मलाई सारालाई कता लैजाने भनेर मनमा कुराहरू खेलिरहे। मलाई उसका पातला गुलाबी ओठ, गाजलु आँखा र वानपिसमा छोलिएर बसेका छातीमा उठेका बाटुला आकारहरूको याद आइरह्यो। साँच्चै मलाई पृथ्वी आफैँले घुमाइदिएर एकैछिनमा बिहान पार्दिन मन लाग्यो। भोली कहिले आउला?

साराको अनुहार सम्झिएरै रात कट्यो। भोलीपल्टको बिहान बेग्लै बनेर आयो। मलाई कसैले उठाउनु परेन, आफैँ उठेँ। जिन्दगीमा पहिलोचोटि बिहानै नुहाएँ। नित्यकर्म सकेर तल ओर्लिएँ। बाइक धोएर पुछपाछ पारेँ। कतै जन्मदिन पो हो कि भनेर आमा पनि झुक्किनु भएछ।
‘हैन के अचम्म हो यस्तो। के को तयारी हँ?’ चियाको कप दिँदै आमाले व्यंग्य कस्नुभयो।
‘केहि हैन।’ मैले चिया समाएर उतापट्टि फर्किएँ। सायद मेरो केहि हैनमा धेरै कुरा भएको आमाले मेसो पाउनुभयो होला। मैले फर्केर हेरेँ। आमा मुसुमुसु हाँस्दै जानुभयो।
खाना खाइसकेपछि सारालाई मेसेज गरेँ। निस्किने बेलामा ‘कल’ गर्नु भनेँ। केहिबेरमै उसको फोन आयो। उसले आफु बसेको आन्टिको घरको लोकेशन बताई।
मलाई उसको घरसम्म पुग्न बीस मिनेट पनि लागेन। बालाजुको धुवाँ र धुलोसँग रिसाउँदै-रिसाउँदै पुगेँ।
मेरो अगाडि साक्षात् बलिउडकि नायिका खडा थिई। उसको आँखामा गोलो फ्रेम भएको निलो रंगको गगल्स थियो। सेतो टिसर्टमाथि रातो चेकसर्ट लगाएकि उसले निलो जिन्सको टाइट सर्ट्स लगाएकि थिई। मेरो मनमा उथुलपुथुल हुन थाल्यो। मेरा आँखाहरू उसका कसिएका सेता तिघ्रातिर जान खोज्थे तर उसले के सोच्दि हो भनेर धक लाग्थ्यो।
‘भन कता जाने आज?’ बाइक घुमाउँदै सोधेँ।
‘जता तिमी लैजान्छौ।’ बाइकमा उक्लिएर बस्दै उसले भनि। उसका नरम हातहरूले मेरा कुमहरू थिचिए। मलाई आनन्द लागेर आयो।
‘अलि अगाडि बस न’ भन्न मन थियो तर अप्ठेरो लागेर आयो। बाइकले हुत्तिएर पिक-अप लिएपछि ऊ आफैँ टाँसिन आइपुगी। बटन नलगाइएको उसको सर्ट फररर उँडेको ऐनामा देखिन्थ्यो।
मेरो ढाडमा नरम-नरम वस्तुहरूको महशुस हुन्थ्यो। म रोमान्चित हुन्थेँ। ठमेल, दरवारमार्ग हुँदै म थापाथलि पुगिसकेको थिएँ।
‘कता जाने हो के भन न?’ उसले मेरो काननेर नै आएर चिच्याई।
‘हाहाहा भन्दिनँ। तिम्लाई किडन्याप गरेको हो।’ मैले अगाडि हेरेरै चिच्याएँ।
छेउछाउका गाडिवाला, बाइकवालाहरू सारालाई लोभी नजरले हेरेर जान्थे। मेरो छाती गर्वले फुल्थ्यो।
‘किडन्याप गरेर चाहिँ कता लैजान्छौ नि।’ ऊ फेरि काननेर आएर कराई।
‘भन्दिनँ।’ मलाई अझै जिस्किरहन मन भइरह्यो। ऊ मसँग बोल्न हरेकचोटि कुममा टाँसिन्थि। मेरो ढाडमा उसका बाटुला दुई अंगहरूले मालिस गरिदिन्थे। मलाई यो यात्रा, यो जिस्किरहने कुरा केहि पनि नसकियोस् जस्तै लागिरह्यो।
सातदोबाटो कटेपछि बल्ल बताएँ,
‘हामी गोदावरी घुम्न जाने।’
‘के छ र त्यता?’ उसले प्रश्न गरि।
‘छ न त केहि छैन नि। जता गए पनि आखिर तिमीलाई नै हेर्ने न हो।’ मेरो कुरा गर्ने कन्फिडेन्स बढिसकेको थियो।
‘हम्! सो यु आर फ्लर्टिंग?’ उसले मेरो पेटमा चिमोटि। मलाई काउकुति लाग्यो। बाइक नाच्यो। बाँडेगाउँ पुगेपछि बाइक रोकेँ। नजिकको पसलबाट एउटा पानी लिएँ। साराले पानी पिई। मैले चुरोट सल्काएँ। साराले अर्को चुरोट फाएर गरि। हामी एकजोडि बाटोछेउमा बाइकमा अडेस लागेर धुवाँ फ्याँकिरहेथ्यौँ। बाटामा हिँड्नेहरू अनि वरिपरिका मान्छेहरू हामीलाई हेरेर जिल्ल पर्थे। सायद सारालाई हेर्थे होला।
‘ती मान्छेहरूले तिमीलाई हेरेका होलान् है?’ मैले सारालाई सोधेँ।
‘हु केयर्स। तिमी नहेर न अरूलाई। त्यसरी आफुले हेर्न थाल्यो भने आफ्नै कन्फिडेन्स हराउँछ। वास्तै नगरिदिने हो नि।’ उसले भनि। मैले मुन्टो हल्लाएँ।
‘तिमीलाई एउटा कुरा सोधौँ?’ फेरि उसैले सोधि।
‘अँ भन न।’
‘मेरो ड्रेस-अप कस्तो लाग्छ तिमीलाई?’
‘राम्रो लाग्छ नि।’
‘हाहा तर तिमीले ‘अड’ मानेजस्तो लाग्छ मलाई त। बट आई डन्ट केयर। माई लाइफ, माई च्वाइस।’ उसले चुरोटको एक मुस्लो धुवाँ फुरूरू पारेर आकाशतिर उँडाईदिई। ऊ स्वतन्त्र लाइफ बिताउनमा विश्वास राख्थि।
हामी त्यहाँबाट पनि हिँड्यौँ। गोदावरी बोटानिकल गार्डेनमा बाइक रोकेपछि मैले दुईवटा टिकट किनेँ। ऊ यताउतिका बोटबिरूवाहरू हेर्दै हिँडिरहि। म भने उसलाई हेरेर हिँडिरहेँ।

केहि प्रेमिल जोडिहरू गोदावरीको बँगैचामा प्रेममा तल्लीन थिए। केहि परिवारसहित आएका थिए। केहि साथीहरूको ग्रुपमा आएका थिए। सेल्फि स्टिक लिएर फोटो खिच्नेहरू पनि थिए।
म र सारा मात्र सायद साथीमात्र थियौँ। अरू देख्नेहरूका निम्ति प्रेमिल जोडि पनि देखिन्थ्यौँ होला। तर सारा मेरा निम्ति ‘अनएक्सपेक्टेड’ खालको चरित्र थिई, बुझ्नै नसकिने।
‘कतै बसौँ न!’ मैले सारालाई भनेँ।
‘एकछिन हिँडौँ न तलसम्म।’ ऊ मेरो अघि-अघि हिँडिरहि। म उसलाई पछ्याइरहेँ। उसको शारिरिक बनावटले मन लोभिइरह्यो। खै कसरी बनाउँछ होला दैवले यति सुन्दर मान्छे? यसरी हामीमा गलत नियत जगाइदिने दैब नै पापी हो। यस्तै सोच आइरह्यो।
‘मेरो फोटो लिउदेउ न ल!’ पोखरीजसरी पानी जमेको ठाउँनेर पुगेपछि उसले मोबाइल मेरो हातमा थमाइदिई। मैले फोटो लिन थालेँ। उसका पोजहरू आकर्षक थिए।
‘आजमात्र हो कि सधैँ यसरी फोटोहरू लिन्छौ तिमी?’ मैले उसलाई मोबाइल दिँदै सोधेँ।
‘हाहा सधैँ लिन्छु नि। कस्तो लाग्यो त मेरो पोज?’ मोबाइलको ग्यालरीमा भर्खर खिचेका फोटोहरू हेर्दै उसले मलाई आँखा झिम्काई।
‘राम्रो छ नि। आखिर फोटोग्राफरको मेहनत छ।’ मैले पनि आँखा झिम्काएँ।
‘हिहिहि होला होला।’ ऊ खुशीले हाँसि।
‘अनि तिम्रो फेसबुकमा त यति राम्रा फोटाहरू नै छैनन् त! खिचेर कता राख्छौ त नि?’ मैले नबुझेर सोधेँ।
‘हाउ ओल्ड फ्यासन्ड म्यान। तिमी कता छौ। इन्स्टा चलाउँदैनौ?’ उसले आँखा ठुला बनाएर हेरि।
‘के हो इनस्टा भनेको?’
‘आर यु जोकिंग?’ उसले नपत्याएर बोलि।
‘आएम सिरियस यार।’
‘इन्स्टाग्राम के। तिमी चलाउँदैनौ र?’
‘अहँ!’ म खिन्न भएँ। म पछाडि परेको रहेछु।
‘आज गएर इन्स्टा अकाउन्ट खोलेर मलाई फलो गर्नु नि। केटिहरूको हट एण्ड सेक्सी फोटो हेर्न इन्स्टाग्राम चलाउनु पर्छ भन्ने था’छैन? कति सोझो हो के तिमी त खाली फेसबुक मात्र। हिहिहि।’ ऊ खित्का छोडेर हाँसि। मलाई आज फेरि आफु पेलिएजस्तो भयो। हाँस्दाखेरि ऊ झन् सेक्सी देखिई। मैले मेरो मोबाइलले उसको एउटा फोटो लिइदिएँ। उसले रिसाएजस्तो नखरा पारि। अरू केहि बोलिन।
गोदावरीको बँगैचामा घामले बेला-बेलामा अग्ला रूखहरूको बिचबाट चिहाएर हेरिदिन्थ्यो। सायद उसलाई पनि साराको ‘फिगर’ मन परेको हुँदो हो। रूख र बुट्यानमा छेलिएर बसेका प्रेमिल जोडिहरू बेपरवाह ओठमा ओठ जोडेर बसेका देखिन्थे। उनीहरूलाई ‘डिस्टर्ब’ होला भनेर बरू घाम ती झाडिहरूमा ओझेल परिदिन्थ्यो।
एउटा खुला चौरमा बसेका हामीहरू सानातिना कुराहरू गरेरै जिस्किरह्यौँ। एकहुल चराहरू आए, चिर्बिराएर गए। सारा दंग परेर हेरिरहि। एकछिनमा एकहुल चराजस्तै प्लस टु का केटिहरू आए, हाम्रो छेवैमा आएर चिर्बिराए। सारालाई झिंजो लागेछ। जाउँ भनि।
हामी फूलहरू हेर्दै हिँड्यौँ। मलाई भने सारा नै फूलजस्ती लाग्यो। कतै बाहिर निस्किँदा पालेले सारालाई देखेर ‘यो फूल किन लैजान लागेको?’ भनेर नरोकिदियोस्! मलाई हाँसो उठ्यो। एक्लै मुस्कुराएँ।
‘ओ हिरो। पागल भयौ कि के हो? एक्लै हाँस्यौ त!’ साराले प्याट्ट कुममा हिर्काई।
‘हैन।’ म लजाएँ।
घाम त्यहि जंगलका रूखका हाँगाहरूमा कतै हरायो। एउटा पातलो अँध्यारो घामलाई खोज्दै आइपुग्यो। हामी पार्कबाट हतार-हतार बाहिर निस्कियौँ। बाहिर भने दिन अझै बाँकि नै थियो। बाटोमा खाजा खाने सोच बनायौँ। बाइक चढेर फर्कियौँ। बाटोमा फेरि केहि खिल्लि चुरोटहरू जले। बाटो छेउकै एउटा रेष्टुरेण्टमा खाजा खायौँ।
अलमल गर्दागर्दै साँझका बत्तीहरू बल्न थालिसकेका थिए। साँझको चिसो सिरेटो जति जति छातीभित्र पस्न खोज्थ्यो उति उति ढाडमा साराको न्यानोपन गढिरहन्थ्यो। मेरो जिउ एउटा खेलमैदान भएको थियो। तातो र चिसोको लडाईँ हुने मैदान। खेल तातोले जित्यो। म पुरै साराको प्रेममा तातिएँ। मन रोमान्चित भइरह्यो। मलाई यो तातो जिन्दगीभर चाहियो। म पछाडि फर्केर मेरो छातीमा उसलाई अँठ्याउन चाहन्थेँ। उसका ओठहरू चुम्न चाहन्थेँ। उसका ती बाटुला अंगहरू स्पर्श गर्न चाहन्थेँ। म पुरै उसको शरीरमाथि पौडिन चाहन्थेँ।
हामी नयाँबजार आइपुगिसकेका थियौँ। यात्राभरि न त ऊ बोलि न म बोलेँ। बस् सोचहरू मात्र आइरहे। सायद उसलाई पनि केहि सोचहरू आए होलान्। छोटो दुरिको यात्रामा सोचहरू साथी बनिदिन्छन् भने जिन्दगीको लामो यात्रामा यादहरू।
सारालाई छोडेर घर फर्किएँ। केहि बोलिनँ। केवल मनले सोचिरह्यो। साराका यादहरूलाई मात्र हैन म सारालाई नै जिन्दगीको साथी बनाउनेछु।

साँझपख मोबाइलमा ‘इन्स्टाग्राम’ डाउनलोड गरेँ। आफ्नो आइडि बनाएँ। कसरी चलाउने होला अलमलमा थिएँ। फेसबुकको कन्ट्याक्टले गर्दा साराको आइडि देखियो, फलो गरेँ। केहि अरू आइडिहरू पनि देखिए, सबैमा फलो बटन थिचेँ। साराका पोज पोजका फोटोहरू थिए, सबैमा ‘पान’ थिचेर रातो बनाएँ। कति सुन्दरी, कति बोल्ड वाउ!
एउटा झुस्स दारी पालेको फोटो अपलोड गरेँ। अचम्म लाग्छ, म यति राम्रै छु तैपनि फोटो किन नराम्रो आउँछ? झुर झुर केटिहरूको चाहिँ फेरि अचम्म राम्रो आउँछ। कारण के होला?
‘ब्युटि प्लस।’ साराले भोलीपल्ट भनि।
‘अनि हाम्रो चाहिँ ब्युटि माइनस?’ म जंगिएँ।
‘मे बि! हिहिहि।’ सारा हाँसि। बाटोछेउमा हिँडिरहेका केटाहरूले एकैचोटि हेरे, खासखुस गर्दै गए।
हामी नयाँबसपार्कको बिजि मल अगाडि उभिएका थियौँ। निधारमाथी कालो चश्मा सिउरिएकि मोडलजस्ती सारालाई आउने जाने हरूले मुन्टो बटारेरै हेरेर जान्थे। सारा आज पोखरा फर्कँदै थिई! मेरो मन ढल्किरहेको दिनजस्तै अँध्यारो हुँदै थियो।

‘साँझमा भन्दा पनि तिमी दिउँसोमा जानुपर्थ्यो के!’ टिकट काटेर माइक्रो चढ्ने बेला हुनलाग्दा पनि म सारालाई भनिरहेको थिएँ।
‘हैन दिउँसो झ्याउ लाग्छ के। बरू राती भयो भने बाटो कटेको पत्तो पाउँदिन’ साराले एउटा सानो सुटकेस मलअगाडिको रूखको पेटिमा अड्याउँदै भनि।
‘ठिकै छ उसोभए।’ मसँग बोल्ने शब्दहरू थिएनन्। एकटकले साराका आँखाहरूमा हेरेँ। ऊ फिस्स हाँसि।
‘आई विल बि मिसिंग यु। यो सबै यादहरू लिएर जाँदैछु। थ्यांक्स फर योर टाइम।’ उसले मेरो हात समाति। मलाई कपास छोएजस्तै लाग्यो, नरम।
‘अब कहिले आउँछौ?’ मेरो बोली सानो भैसकेको थियो।
‘कान्ट से!’
‘माया भए चाँडै आउनु।’ मैले जिस्किएँ या साँचो बोलेँ, मलाई नै थाहा थिएन।
‘तिमी पनि!’ ऊ पनि हाँसि।
‘के भनेको?’
‘माया भए तिमी पनि पोखरा आउनु।’
मनले त अहिले सँगै जाउँजस्तो गर्यो तर सम्भव थिएन।
‘पछि आउँला।’
‘प्रमिस?’ ऊसले घाँटिमा छोएर सोधि।
‘पक्का।’ मैले पनि घाँटि छोएँ। ऊ दंग परि।
‘दाई रूम चाहिने हो? रेड सेड केहि हुन्न!’ कानैमा एउटा आवाज फुसफुसायो। यसो हेरेँ। बसपार्कको कुनै एउटा गेस्ट हाउसको दलाल फुच्चे हुनुपर्छ!
‘हैट्! चाहिँदैन।’ मैले समाइरहेको साराको हात छोडेँ। फुच्चे लजाउँदै अर्को ग्राहक खोज्न कुद्यो।
सारा जिल्ल परेर हेरिरहि।
‘के भनेको?’
‘केहि हैन। म लजाएँ।
माइक्रोले हर्न बजायो। हामी गयौँ। खलाँसीले सुटकेस मिलाएर छतमा राख्यो। साराले ग्वाम्लांग्ग अँगालो हाली। मेरो मुटु निचोरिएर आँखाबाट बग्न थाल्यो। सारा गाडि चढि।
‘सि यु सुन!’ उसले हात हल्लाई!
मैले पनि हात हल्लाएँ। मैले हातमै भएको मास्कले आँशु पुछेँ।
गाडि गुड्यो, यता मैले बाइक घुमाएँ। सारा मेरो मुटु लिएर गएकि थिई तैपनि छाती गह्रुंगो भइरह्यो। यादहरू छोडेकि थिई नि त। यादहरू त गह्रुंगा पो हुँदारै’छन्!

साराले फोन गरिरहि। यहाँ पुगेँ, वहाँ पुगेँ भनिरहि। राती खै कति बेला निदाएछु, सायद ऊ पनि सीटमै निदाएकि थिई होला।
भोलीपल्ट म आफ्नै काममा व्यस्त बनिरहेँ। सारा पनि रातभरको यात्राको थकानले आराम गरिरहि होला। साँझ पनि ऊ अनलाइन आइन। मलाई पनि फोन गरेर डिस्टर्ब गर्न मन लागेन। इन्स्टाग्रामका फोटाहरू हेरिरहेँ। साँच्चै सारा आँखाभरि भएर मनमै पोखिन थालेकि थिई। के उसको मनमा पनि म छु होला त? के मेरोजस्तो तड्पन उसलाई पनि छ होला त? पक्कै छ, नभए किन माया भए पोखरा आउनु भनि त?
मन फुरूंग्ग भयो। अहिले नै उँडेर पोखरा जाउँ जाउँ भयो। कल्पनामा नै म पोखरा पुगेँ। सारा मलाई कुरिरहेकि थिई। मलाई देख्नासाथ गम्लंग्ग अँगालो हालि। उसको पातलो र नरम जिउ लपक्क मेरो छातीमा टाँसिएको थियो। हाम्रा मुटुका धड्कनहरू एकैचोटि बजिरहेका थिए। हामी सँगसँगै पोखरा घुमिरह्यौँ। फेवाताल, लेकसाइड, डेविट फल्स जताततै हामी छाइरह्यौँ। प्रेमिल आनन्दमा डुलिरह्यौँ।
‘हैन कतिबेरसम्म सुत्ने होला यो?’ आमा चिच्याउनुभयो। म उठेँ। चिया आइपुगेछ। आमा ढोका ढप्काएर जानुभयो। कति मीठो सपना देखिएछ। बिहान देखेको सपना त साँचो पो हुन्छ रे त!
फेसबुक खोलेँ। सारा अनलाइन नै रै’छे! मन फुरूंग्ग भयो। काउकुति लाग्यो। जिस्किन, छिल्लिने मन भयो।
‘हाई, गुड मर्निंग!’ उसैले लेखि!
‘हेल्लो गुड मर्निंग, हाउ यु?’
‘गुड। तिमि बल्ल उठेको?’
‘हैन म त सुतिरा’छु त!’
‘हैन के आई मिन जस्ट बिउँझेको हो?’
‘हैन दुई मिनेट भयो बिउँझेको!’ म जिस्किएँ! उसले मुख कुच्याएको इमोजि पठाई।
‘तिमी कतिबोला उठेको नि?’ मैले सोधेँ।
‘बिहानै पाँच बजे।’ ऊ गमक्क परि।
‘त्यति चाँडै उठेर दुध बेच्न जान्छौ?’ अलि बढि नै बोलेँ कि के हो!
‘ह्वाट? के भनेको?’
‘केहि हैन।’ मलाई लाज लाग्यो।
‘भन न।’
‘हाम्रोतिर त्यतिबिहानै उठ्ने मान्छेहरू त दुध बेच्न आउने मान्छेहरू मात्र हुन्छन् के!’
‘छि। म त उठेर जगिंग गर्छु अनि आएर हट लेमन पिउँदै फेसबुक चलाउँछु नि।’
‘बल्ल था’भो!’ म झन् मस्किएँ।
‘के था’भो?’
‘तिमी हट हुनुको राज, हट लेमन!’
‘छि हट त छैन है म हिहिहि।’
‘अनि यसो ममीलाई खाना बनाउन होल्प नगरेर किन फेसबुक नि बिहानै?’ मैले प्रसंग मोडेँ।
‘सधैँ गर्छु मिस्टर बट नट टुडे।’
‘किन नि?’
‘म मिन्स भा’कि छु के!’
‘के हो यो मिन्स भनेको?’ म पात्तिन थालेँ।
‘ननसेन्स। था’नपाको जस्तो नगर न। नाटकि!’ ऊ रिसाई!
‘कस्सम था’छैन यार। के हो भन न!’ म जिस्किरहेँ।
‘हेर हेर झुटो कसम खाको पापीले! नछुने भा’कि छु के म!’
‘वाउ! भनेपछि तिमीलाई कसैले छुन पाउँदैन है?’
‘हिहिहि। अँ!’
‘मैले मात्र छुन्छु ल?’
‘हिहिहि। तिमिले नि मिल्दैन।’ ऊ बेस्सरी हाँसि सायद।
‘मिल्ने भएपछि आएर छुन्छु।’
‘के रे?’
‘या। म अब छिट्टै तिमीलाई जताततै छुन पोखरा आउँछु!’
‘रियल्लि?’ ऊ पनि एक्साइटेड भई!
‘हो त!’
‘शरीर त जसले पनि छुन चाहन्छन् तर तिमी मेरो मन छुने गरेर आउ ल! आई वान्ट यु टु टच एण्ड फिल माई हार्ट!’
‘हस्!’ मलाई पोखरा अहिले नै उँडेर जाउँजस्तो भयो। तर धेरैथोक मिलाउन बाँकि थियो!

म कसरी के निहुँ बनाएर पोखरा जाउँ भनेर सोचिरहन्थेँ। घरमा पनि कुनै विश्वासिलो कारण नदिई जाने कुरा पनि भएन। कहिले आउँछौ भनेर सारा सोधिरहन्थि, म पनि चाँडै आउँछु भनेर टारिरहन्थेँ।

एकदिन साराले फोन गरि। उसको आवाज उदास उदास थियो।
‘म काठमाण्डुमै छु!’ उसको बोलीमा त्यो पहिलेजस्तो उर्जा थिएन!
‘कहिले आयौ? खबर पनि गरेनौ। अनलाइन पनि थिएनौ त अस्ति बेलुकिदेखि!’
‘म बिरामी छु! एक्सिडेण्ट भयो!’ उसको आवाज दबिएको थियो। सायद धेरै कमजोर थिई।
‘कहाँ छौ?’ म पनि आत्तिएँ।
‘बि एण्ड बि हस्पिटल।’
म हतार हतार गरेर हस्पिटल पुगेँ। मन एकतमासले एकोहोरो भइरह्यो। सारा बेडमा सुतिरहेकि थिई।
उसका आफन्तहरू हुनुपर्छ, नजिकै बसिरहेका थिए।
‘साथी हो।’ उसले चिनाई। निन्याउरो मुख बनाएर बसिरहेका दुईजना फिस्स हाँसे।
‘धेरै भीड नगर्नुस् है।’ नर्स कराएपछि उनीहरू बाहिर गए। सारा र म मात्र भयौँ।
‘कसरी?’ मैले सासले बोलेँ।
‘स्कुटिलाई ट्रकले।’ ऊ बोल्न सकिन। मेरो मन भक्कानियो।
‘खुट्टा धेरै ठाउँमा फुटेको छ अरे।’ उसका आँखाभरि आँशु जमेका थिए। ‘काट्नुपर्छ भन्यो पोखरामा अनि यता आ’को।’ ऊ पुरै रून थालि। मेरो मन पनि रोयो तर कहिलेकाहिँ आफ्नो आँशु लुकाएर पनि अरूलाई नरोउ भन्नुपर्दो रै’छ।
‘नरोउ नरोउ ठिक हुन्छ।’ उसलाई सम्झाएँ। तर मेरो मनलाई म आफैँले कसरी सम्झाउँ? के ठिक हुन्छे मेरी सारा? उसको खुट्टा साँच्चिनै काटे भने नि? मन बेस्सरी काँप्यो।
‘एमआरआई को रिपोर्ट आएपछि थाहा हुन्छ रे। अनि मात्र अपरेसन गर्ने नगर्ने थाहा हुन्छ रे।’ सारा अर्कै भएकि थिई। रून्चे अनि कमजोर। मेरी सारा त यस्ती छँदै थिइन।
मैले सुस्तरी उसको हात छोएँ। उसका आँखामा हेरेँ। उसका आँशुमा मेरो तस्वीर डुबेको देखेँ। मेरा आँशु पनि उसले देखि सायद, फरक्क अर्कोपट्टि फर्किएर रोई।
साराका आफन्तहरू आए। म एउटा टुलमा बसेँ। अब निस्किनु थियो त्यहाँबाट। मसँग शब्दहरू थिएनन्। के हुन्छ खबर गर्नु भनेर सारालाई भनेँ। उसले मुन्टो हल्लाई।
मेरो मनमा कुराहरू खेलिरहे। भगवानलाई मनमनै पुकारेँ। म जोसँग जिन्दगीभर सँगसँगै हिँड्न चाहन्छु उसैको खुट्टा नखोस् ए दैव! मलाई चिच्याउँदै हिँड्न मन थियो।

मनभरि कुराहरू खेलिरहन्थे। म टोलाएर बसिरहन्थेँ। आमा मलाई देखेर जिल्ल पर्नुहुन्थ्यो। म पहिलेजस्तो फुर्तिलो थिइनँ। मलाई अस्पताल जाउँ जाउँ हुन्थ्यो। सारासँगै बसिरहुँ हुन्थ्यो तर सक्दैनथिएँ। मलाई साराका आँशुहरूले कमजोर बनाउँथ्यो। त्यसमाथी मैले चिनेको सारामात्र थिई र ऊ नै बिरामी थिई। अरू साराका नातेदार जोसँग म अपरिचित थिएँ उनीहरूले झिँजो मान्लान् भन्ने पीर पनि थियो। म फोन गरेर उसको हालचाल सोधिरहन्थेँ र ऊ उस्तै छ भनेर बताउँथि।
एकदिन साराको फोन पनि आएन र मैले गर्दा पनि फोन उठेन। म पिरोलिएँ। सायद अपरेसन भयो होला भन्ने ठानेँ। दुईदिनसम्म पनि फोन नउठे पछि म सरासर अस्पताल पुगेँ। अस्पतालको बेडमा सुतिरेकि सारालाई परैबाट देखेँ। ऊ निदाएकि थिई। छेउमा उसका नातेदारहरू निन्याउरो मुख बनाएर बसेका थिए। उनीहरू केहि नबोलि बाहिर गए। मैले सुस्तरि साराको हात छोएँ। उसले बिस्तारै आँखा खोलि। मलाई देख्नासाथ बररर आँशु झारि। मानौँ उसले आँशु परेलीले टम्म थुनेर राखेकि थिई।
‘कस्तो छौ?’ मैले यति सोध्दा ऊ झन् हिक्का छोडेर रून थालि। मेरो मन आत्तियो, डरायो। मैले सुस्तरि उसले ओढेको पातलो कपडा सारेँ। मलाई भाउन्न भएर आयो। जे नहोस् भन्ने मनले ठानेको थियो, त्यहि भएछ। साराको दाहिने खुट्टा घुँडासम्म मात्र थियो, सेतो पट्टि बाँधिएको। उसको खुट्टा काटिएछ। मलाई संसार अँध्यारो लाग्न थाल्यो। आफ्नै खुट्टाहरू पनि गलेझैँ लाग्न थाले। मेरा आँखाबाट पनि आँशु बगेछन्।
सारा केहि बोलिन। केवल आँखामा आँशु जमाएर हेरिरहि। केहि पछि गह भरिएको आवाजमा बोलि,’यस्तो हुनुभन्दा त बरू त्यहि एक्सिडेन्टमा मर्न पाएको भए हुने रै’छ।’
‘धत्।’ मैले उसको मुखमा हातले छेकेर भनेँ,’ यस्तो कायर कुरा पनि गर्ने हो? तिमीले यसरी हिम्मत हार्नु हुँदैन सारा।’ मलाई पनि थाहा थियो हिम्मत यति सजिलै जुटाउन सम्भव थिएन।
म गह्रौँ मन लिएर घर फर्किएँ। जोसँग जिन्दगीको यात्रा गर्छु भन्ने सोचेको थिएँ, उहि हिँड्न नसक्ने भएकि थिई। मनमा अनेकथरि विचारहरू आइरहे। जस्तो सुकै होस् म सारासँगै जिन्दगी बिताउँछु, म भावुक बन्थेँ। मेरो मनमा साराका निम्ति प्रेम बर्खायामको बिरूवा झैँ झन् मौलाउन थाल्यो।
सारा डिस्चार्ज भएर पोखरा गइसकेकि थिई। म मनभरि पीर बोकेर काठमाण्डु मै थिएँ। आमा मलाई हेरेर सोध्नुहुन्थ्यो, ‘के सोचेर टोलाउँछस् हँ आजभोली?’ म केहि हैन भनेर टारिदिन्थेँ।
सारा अनलाइन आउँदिनथि। फोन गर्दिनथि। म तड्पिँदै फोन गर्थेँ। तर ऊ मन नलागेजसरी फोन उठाउँथि। मलाई सारासँग बिताएका, घुमेका दिनहरू यादमा आउँथे। साराले मैले भुलोस् भन्ने चाहन्थि तर मीठा अतितहरू भुल्न गाह्रो हुँदोरै’छ।
‘को हो त्यो चश्मा लगाउने केटि? त्यसकै कारणले हो तँ यस्तो टोलाउने भा’को?’ आमाले एकदिन एक्कासी सोध्नुभयो।
‘को चश्मा लगाउने केटि? अनि हजुरले कहाँ देख्नुभो नि?’
‘म आमा हुँ बाबु थाहा पाउँछु।’ आमा हाँस्नुभयो।
‘भन्नु न कसरी थाहा पाउनुभो?’
‘तैँ मोबाइलमा फोटो हेरेर टोला’को देखेर विचार गरेको नि।’ आमा मुस्कुराउनुभो।

मेरो अनुहार निन्याउरो भयो। फोटोकि मेरी सारा अहिले अर्कै भैसकेकि थिई। यो सम्झेर मेरा आँखाभरि आँशु जमे। आमा जिल्ल पर्नुभयो।
‘के भो बाबु तलाई?’ आमाले सोध्नुभयो।
मैले सारा पोखराकि केटि हो। उसलाई मैले मन पराउँछु आदि इत्यादि सुनाएँ।
‘अनि यसमा रूनुपर्ने कारण के छ त?’ आमाले सोध्नुभयो।
‘उसको एउटा खुट्टा छैन आमा। अस्ति भर्खर दुर्घटनामा परेर खुट्टा गुम्यो।’
आमा जिल्ल पर्नुभयो। आमाको अनुहारको उज्यालो हरायो।
‘उसलाई बिर्सिदे छोरा।’ केहिबेरको मौनतापछि आमा बोल्नुभयो।
‘कसरी भुल्नु आमा, म उसलाई माया गर्छु।’
‘उसलाई माया गर्छु भनेर भनेको छस्?’
‘भनेको त छैन।’
‘हेर छोरा जिन्दगी धेरै लामो छ। सबल मान्छेहरूले पनि जिवनमा धेरै कठिनाईको सामना गर्नुपर्दछ। तैँले त्यो अपांग केटिसँग जिन्दगी कटाउन धेरै गाह्रो छ बाबु।’
‘तर जस्तै कठिनाई पनि म बेहोरूँला नि आमा।’
‘सक्दैनस् बाबु। भोली मलाई तैँले स्याहार्नुपर्ने हुनसक्छ। तैँले क-कसलाई हेरचाह गर्छस् बाबु। व्यवहारिक जिवन मायाप्रेमका मीठा कथाहरूभन्दा धेरै नै नमिठो हुन्छ बाबु। तैँले मेरो अनुहार हेरेर उसलाई बिर्सिदे।’ यति भनेर आमा जानुभयो। मेरो मनमा कुराहरू खेलिरहे। म चाहेर पनि सारालाई बिर्सिन सक्दिनथेँ।
साराले मेरो फोन पनि उठाउन छाडेकि थिई। पछि पछि त उसको फोन ‘अफ’ हुन थालेको थियो। मलाई उसको केहि अत्तोपत्तो भएन। मेरो मनले खोजौँजस्तो पनि गरेन। एउटि चुलबुले, आधुनिक केटि फुत्त आएर मेरो मनभरि प्रेमको रंग दलेर गायब भएकि थिई। यो कस्तो स्वार्थी प्रेम थियो। न त मैले प्रेम गर्छु भनेर भन्न पाएँ न त मैले सँगै जिन्दगी जिउँछु भन्ने हिम्मत गर्न सकेँ। रंगरूप र सक्षमता हेरेर गरिने आजभोलीको कारोबारलाई पनि प्रेम भनिँदो रै’छ ।

लेखक: सुरेश बादल

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here