Phantom – A Story Of Duality By Suresh Badal

0
4691

नवीन सर सारै असल मान्छे थिए। उनी सबैका आँखाका नानी भएर बसेका थिए। गाउँको स्कुलमा पढाउने उनी केहि सन्चो नभएकोले अस्ति मात्र काठमाण्डु जँचाउन भनेर आएका थिए। बिचरा बितेछन्।

नवीन सर बितेको कुरा धुवाँको मुस्लो फैलिएजसरी सारा गाउँको आकाशमा फैलियो। अधिकांशलाई यो खबर पत्याउन गाह्रो थियो। स्कुल, गाउँ, बजार, चोक र टोलहरू रोए।

आफैँ बाइक हाँकेर जँचाउन भनेर आएका नवीन सर तीन दिनको अस्पताल बसाईमै बित्नु कम आश्चर्यजनक थिएन।

‘अस्पतालले लापरवाहि गर्यो होला।’ धेरैको अनुमान यहि थियो। चालिस पनि नकटेको उमेरले गर्दा उनी मरिहाल्छन् भन्ने कसैले सोचेको पनि थिएन।
मेरी बहिनी पाँच कक्षामा पढ्छे। ऊ मान्छेहरूका कुरा सुन्थि र सँगसँगै रूने गर्थि। उसका लागी नवीन सर सरमात्र थिएनन्। आफ्नो एउटा छोरामात्र भएका नवीन सरले त्यति धेरै विद्यार्थीहरूमध्य बहिनीलाई छोरीजस्तै मानेका थिए।

‘तेरो बा’आमाले मान्ने भए तलाई म मेरै घर लगेर पाल्थेँ। आफ्नु त छोरी पनि छैन। छोरो बौलाहाले केहि टेर्दैन।’ नवीन सर भन्ने गर्थे। बहिनी मुसुक्क हाँस्थि।

‘ओई छोरी चिया खाएर जा। आइज।’ सरको घरको बाटो हिँडेको बेला नवीन सर बहिनीलाई बोलाउँथे। बहिनी लजाएर झन् छिटो-छिटो कुद्थि। नवीन सर ठुलो स्वरले छोरी-छोरी भनेर जिस्काइरहन्थे।

‘यो काउली फुलेपछि खाना खानेगरि आएस् है छोरी।’ काउलीमा पानी हाल्दैगर्दा नवीन सर बहिनीलाई भन्थे। बहिनी ‘हस्’ भनेर खुर्र कुद्थि।
यस्तै-यस्तै सम्झनाले सताएर होला बहिनी सरलाई सम्झेर आँशु झार्थि।

असार लागिसकेको थियो। बेला-बेलामा झरी पर्थ्यो। अस्पतालमा बितेका सरको लाश गाउँ लगिएन। काठमाण्डु मै पशुपति आर्यघाटमा जलाइयो। काठमाण्डुमै भएका केहि गाउँलेहरू मलामी गए। फर्कँदा सरका गुणगान र तारिफ बोकेर फर्किए।

‘मलाई त अझै पनि पत्यार लाग्दैन। सर बिते, जलाएर आए भन्छन् गाउँलेहरू। आँखाले नदेखेसि’ फिटिक्कै विश्वास लाग्दैन। कस्तो मरण है कसैको त।’ आमा अरूहरूसँग गफ गर्नुहुन्थ्यो। हामी सरको कुरा आउनासाथ कान ठाडो पारेर सुन्थ्यौँ। बहिनी पिलपिल गरिहाल्थि। ऊ नवीन सरले पढाउने अँग्रेजी किताब मुसारेर टोलाउँथि। कक्षामा सरले सधैँ उसैको किताब मागेर पढाउँथे रे।

नवीन सर बितेपछि अर्कै सरले अँग्रेजी पढाउन थाले। गुजारा चलोस् भनेर उनको ठाउँमा उनकि श्रीमतीलाई पनि स्कुलले अस्थायी जागिर दियो।
उनी एकाउन्टेन्ट बनिन्।

महिनाहरू बिते। सबैले बिर्सिँदै गए। सहज हुँदै गयो। बहिनी अझै पनि टोलाइरहिन्।

बिहानी प्लस टु को कक्षा हुन्थ्यो भने दिउँसो स्कुलको। म बाह्र कक्षाको विद्यार्थी थिएँ। म बिहानी कक्षा सकेर आउँथेँ र घर आएपछि यसो तल खोलेसातिर ओर्लिएर चर्पी गर्ने बानी बसेको थियो। केटाकेटिहरू स्कुल र ठुलामान्छेहरू खाना खान घरमै हुने त्यो समयमा गाउँ चकमन्न जस्तै हुन्थ्यो। म एकान्त खोजेर रूखहरूको घारीको बीचमा रहेको एकमुट्ठि मात्र पानी बग्ने खोल्सामा बसेर आची गर्थेँ।

एकदिन म मनमा के के कुरा खेलाउँदै चर्पी गरिरहेको थिएँ। खोल्सामाथि रूखहरूले अलिअलि छेकिएको ठाउँमा एउटि कुर्ता लगाएकि केटि सुरूवाल तलतिर तानेर बसि। उसले पिसाब गरेकि होलि। उसका मोटा, सेता तिघ्राहरूले मलाई पसिना-पसिना बनायो। ऊ जुरूक्क उठि र बिस्तारै सुरूवाल माथि सारि। मैले उसको अनुहार ठम्याएँ। त्यो मिलवाला गुरूंगकि छोरी थिई। ऊ स्कुल पढ्दैनथि तर हाम्रो कक्षामा केटाहरूले उसको खुब तारिफ गर्दथे।

‘गितेलाई पाए त।’ सुमने कक्रक्क पर्थ्यो।

‘त्यसका तिघ्रा, छाती ओहो।’ रमेशे अझै बटारिन्थ्यो।

अनपढ र सोझि त्यसमाथी सानैमा बिहे भएर पनि माइत आएर बसेकि गितेमाथी मान्छेहरूले आँखा गाड्ने नै भए। उसका साँघुरा र ठाउँ-ठाउँमा फाटेका लुगाले पनि सायद केटाहरूको गिद्दे नजरलाई ठाउँ दिएको थियो।

तर आज जे देखियो त्यसले गर्दा मेरो दिमागभरि गिते र उसका आकर्षक अंगहरू घुमिरहे। मनमा अनेक कथाहरू बने। म आनन्द मानेर टोलाइरहेँ।
म हरेक बिहान खोल्सामा बस्थेँ। गिते त्यहि बाटो भएर आउँथि। पिसाब गर्थि। मैले हेरिरहेको थाहा पाउँदैनथि। बिस्तारै कहिलेकाहिँ माथीको लुगा पनि यसो सार्थि। त्यो खोल्सोको माथी भएर सिंचाईको कुलो पनि जान्थ्यो। ढलान गरिएको फराकिलो कुलोमा नुहाउनै पनि मिल्थ्यो। ऊ कहिलेकाहिँ त्यहि कुलोमा हातगोडा धुन्थि। छातीसम्म पानी लगाएर मयल माड्थि। मेरो धैर्यताको बाँध भत्कनै आँट्नेगरि ऊ के के गरेर जान्थि।

जाडो आइसकेको थियो। माघेसक्रान्तीमा बजारमा मेला लाग्थ्यो। मान्छेहरू चिटिक्क परेर बजारतिर जान्थे। किनमेल, घुमफिर हुन्थ्यो। धेरैपछि धेरैको एकैठाउँमा भेटघाट हुन्थ्यो। म केटाहरूसँग आफ्नै सुरले जान्थेँ। बहिनी सानै भए पनि उसकै साथीहरूसँग मेला हेर्न जान्थि।

साथीहरूसँग पसल पसल चाहार्दा चाहर्दै बहिनी एक्लै परिछ। मीठाई बेच्ने चियापसल अघि पुगेपछि बहिनीको हात कसैले समात्यो।

‘कता हिँडेकि छोरी?’ सुट, टाई लगाएका नवीन सरले सोधे।

बहिनी लल्याकलुलुक भई। उसका हात गले। अनुहार निलो भयो।

‘आइज चिया खान। मीठाई पनि खान्छेस् कि त!’ नवीन सरले भनिरहे। तर बहिनीको होश गुम भइसकेको थियो। पछि साथीहरूले फेला पारे। एउटिले मलाई बोलाउन आई। म दौडिएर गएँ। चियापसल अघि मान्छेहरूले उसलाई पानी छम्किँदै रहेछन्।

बहिनीले बिस्तारै आँखा खोलि। हामीले उसलाई बिस्तारै घर लिएर गयौँ। बाटोमा पनि ऊ नवीन सर मरेका छैनन् भनिरहि। हामीले उनी मरेका पनि महिनौँ बितिसक्यो भन्यौँ तर पनि ऊ जिद्दि गरिरहि।

‘म पत्याउँदै पत्याउँदिन। मैले मेरै आँखाअगाडि देखेकि हुँ।’ ऊ बोलिरहि।
बहिनीले नवीन सरलाई देखेको कुरा गाउँभरि फैलियो। धेरैले यो केटाकेटिको भ्रम हो भने। केहि मान्छेहरूले भने ‘हुन पनि सक्छ’ भनेर फरक धारणा राखे। कोहि-कोहिले त आफुले पनि देखेको तर ठ्याक्कै नवीन सर नै हो भनेर ठम्याउन नसकेको कुरा बताए।
एकदिन शनीबार बहिनी बिहानै पसल जान भनेर निस्केकि थिई। घर तलको खोल्साभन्दा अलि पर नवीन सर भेटिए। बहिले मन दह्रो पारि।

‘कता हिँडेकि छोरी?’ सरले परैबाट सोधे।

‘पसल।’ बहिनीले काँपेर बोलि।

‘ए ल ल। म काउलीमा पानी लगाउन निस्केको। आफु नहुँदा कसैले खेतिपाति पनि हेर्दो रहेनछ।’ नवीन सर बोल्दै थिए। बहिनी पसल नपुगि बेतोडले घर फर्किई।

उसले सबैकुरा आमालाई सुनाई। आमा खुइय्य गरिरहनुभयो। मेरो आंग सिरिंग्ग भयो। मलाई त्यो खोल्सामा आचि गर्न जान पनि डर लाग्न थाल्यो।

म जाडो महिनाभरि त्यो खोल्साको छेउछाउ नै गइनँ।

बहिनीले नवीन सरलाई देखेको कुरा र अरू केहि गाउँलेहरूले पनि देखेको तर नठम्याएको कुराले गाउँ तातेको थियो। मान्छेहरूका राय बाझिएका थिए।
नवीन सरकि श्रीमती यस्तो सुनेर खुब रोइन् रे।

‘आफुले बिर्सिन खोजेको खाटो बसेको घाउ गाउँलेहरूले बेकार उप्काइदिए।’ उनी भन्थिन् रे।

‘खासमा मरेको भनेर सुनियो मात्र, जलाएर आएँ पनि भने केहिले तर कुरो अर्कै हुनुपर्छ।’ केहि मान्छेहरू साउति मारेर कुरा गर्थे।

‘रिन धेरै भएपछि मरेको नाटक गरेर जताततैबाट पैसा बटुल्ने तरिका होला।’ अब मान्छेहरू यसरी पनि कुरा गर्न थाल्दै थिए।
तर अचम्म के थियो भन्दा सरलाई मेरी बहिनीले बाहेक अरू कसैले पनि देखेको प्रस्ट भन्दैनथे। बहिनीले पनि एक्लै हुँदामात्र देख्थि।

बा’ले बहिनीको चिन्ता लागेर जँचाउन भनेर काठमाण्डु लैजानुभयो। मामाको सल्लाहबमोजिम मनोचिकित्सकसँग भेटघाट गराइदिनुभएछ।

‘नवीन सर मरिसके भन्दाखेरि छोरीको उत्तर के हुन्छ?’ सबैकुरा सुनिसकेपछि चिकित्सकले सोधे।

‘मैले आँखाले देखेकै छैन। पत्यार नै लाग्दैन। यहि कुरा दोहोर्याउँछे।’ बा’ले भन्नुभयो।

‘यस्तै कुरा अरू कसैले पनि गर्थ्यो?’

‘अँ यसकि आमाले भनिरहन्थि कस्तो मरण आँखाले नदेखेसि’ पत्याउनै गाह्रो भनेर।’ बा’ले सम्झिँदै भन्नुभएछ।

‘छोरीले सरलाई अन्तिमचोटि कहाँ देखेकि थियौ?’ चिकित्सकले बहिनीलाई सोधे।

‘खोल्सानेर काउलीबारीमा।

‘त्यो भन्दा अगाडि?’

‘माघेसक्रान्तीको मेलामा।’

‘त्योभन्दा पनि अगाडि?’

‘जेठमा गाउँको सन्दिप दाईको बिहेको दिन जन्ती जान लाग्दा। चिया खाइस् छोरी भनेर सोध्नुभा’को थियो।’ बहिनीले सम्झिएर भनि। मनोचिकित्सक मुसुक्क हाँसे।

‘तिमीले तीनैचोटि देख्दा सरले सुट टाई लगाउनुभा’को थियो हो?’

‘हो।’ बहिनी पनि दंग परि। बा जिल्ल पर्नुभएछ।

‘आमाले आँखाले नदेखेसि’ पत्याउनै गाह्रो भनेको कुरा छोरीको मनमा गढेछ। यसले गर्दा उसले नवीन सर बितेको कुरा पत्याइन। अन्तिमचोटि जन्ति जान सुट लगाएर निस्केको बेलामा उसले सरलाई देखेकि थिई। त्यसपछि उसको मनमा भ्रम रहिरह्यो।

उसले नवीन सरलाई मेलामा पनि सुट लगाएर आएको देखि। चियापसल अगाडि पुग्दा उसलाई सरले चिया खान्छेस् भनेर सोधेको भ्रम पर्यो।
काउलीबारीमा पानी लगाउन पनि नवीन सर सुट लगाएरै आएका थिए। यो पनि उनले काउली खुवाउने बाचा गरेकाले भ्रम पर्न गएको हो। ‘
यसरी चिकित्सकले बा’सँग एक्लै गफ गरेर कारण खुलाए।

‘अब उपचार के त? कसरी हटाउने यो भ्रम?’

‘सन्तुलित भोजन खुवाउनु सँगसँगै एक्लै टोलाउने वातावरण नदिनु। भ्रम हटाउन काउन्सेलिंगको जरूरत छ। आँखाले नदेखेका सत्यहरू पनि पत्याउनु पर्छ भन्ने भावनाको बिकास गर्नुपर्छ। त्यसको लागी एउटा उपाय छ।’

‘कस्तो?’ बा’ले आशाका नजरले हेर्नुभयो।

‘भोली फेरि उसलाई लिएर आउनुस्। म तयारी गर्छु।’

‘हस्।’ बा’ बहिनीलाई लिएर निस्किनुभयो।

भोलीपल्ट चिकित्सकले बहिनीलाई प्रश्नहरू सोध्न थाले।

‘तिमी कति कक्षामा पढ्छौ?’

‘पाँचमा। अब जाँच दिएपछि छ मा पुग्ने।’

‘नेपाल एकिकरण कसले गरेका हुन् थाहा छ?’

‘पृथ्वीनारायण शाहले।’ बहिनी दंग परि।

‘को पृथ्वीनारायण?’

‘गोरखाका राजा।’

‘तिमीले देखेकि छौ?’

‘छैन। किताबमा पढेको।’

‘नदेखेको कुरा कसरी पत्याउनु त।’ चिकित्सकले भने।

‘पढेपछि त पत्याउनै पर्यो नि।’

‘हो र?’

‘हो।’ बहिनी सहज हुँदै थिई।

‘उनको जन्म र मृत्युको साल थाहा छ तिमीलाई?’

बहिनीले सिलिंगतिर हेरि, सम्झिई र भनि, ‘१७७९- १८३१’

‘ओहो कति ट्यालेन्ट त तिमी। पत्रिकाको कुरा पनि सहि हुन्छ? पत्याउँछौ?’

‘अँ।’

चिकित्सकले एउटा पत्रिका पढ भनेर दिए। बहिनीले पुरानो पत्रिका पल्टाई। एउटा पातोमा नवीन सरको नाममा श्रद्धान्जलि छापिएको थियो। उसले त्यो पढि र रून थालि। त्यहाँ सरको जन्म र मृत्युको साल पनि लेखिएको थियो।

बहिनी उपचार सकेर घर आएकि थिई। उसलाई सामान्य डोजको औषधि पनि दिइएको थियो। बहिनी बिस्तारै पहिलेजस्तै सामान्य हुँदै थिई। नवीन सर बितिसकेको सत्य उसले मानिसकेकि थिई।

गर्मी महिना लाग्न थालेको थियो। मेरो मनमा पनि अब डर हटेको थियो। म फेरि खोल्सातिर जान थालेको थिएँ। गितेले मेरो मनमा दह्रो डेरा जमाएकि थिई। मेरो उमेरका कारण बढिरहेको यौनप्यास गितेलाई सम्झिएरै मेट्ने गरेको थिएँ।

एकदिन म बिहानभरि सुतेँ। उठ्नासाथ कुदेर खोल्सामा गएको थिएँ। माथी सिंचाई कुलोमा गिते आइपुगि। म लुकेर हेरिरहेँ।

गितेले लुगा फुकालि। ऊ लगभग नांगैजस्तो बनेर नुहाउन थाली। ऊ कुलोमा डुबेर नुहाउँदा मैले केहि देख्दैनथिएँ। ऊ यसो उठ्दा उसको शरीर टल्किन्थ्यो। मेरो शरीर बेस्सरी तात्तियो। हपहपि गर्मी भयो। म कुदेर कुलोछेउ पुगेँ। लुगा खोलेँ। र कुलोमा डुब्दै गितेलाई पछाडिबाट समातेँ।

गितेले नाईँनास्ती केहि गरिन। मैले उसका नरम स्तनहरू समातेँ। ऊ फरक्क बटारिई।

मैले उसका ओठहरू चुमेँ। उसका शरीरभरि चुमेँ। केहिबेरको घम्साघम्सीमा म यौवन छताछुल्ल पोखिनोगरि थाकेँ। गिते कोहि नबोली साथ दिइरहि।

मैले पहिलोचोटि यौनप्यास बुझाएँ। मैले गितेसँग सेक्स गरेँ भनेर साथीहरूलाई सुनाउन मलाई हतार भैसकेको थियो। उनीहरू सबैको सपना थिई गिते। तर

मैले आज सपनालाई विपना बनाएको थिएँ। पुरूषार्थले छाती चौडा भयो।

कोहि आउने हुन् कि भनेर मैले हतार हतार लुगा लगाएँ। मैले गितेपट्टि हेर्दै नहेरि कुलेलाम ठोकेँ।

घर आउँदा मान्छेहरूको कल्यांगमल्यांग देखेँ। के भएछ भनेर नजिकै गएँ।

‘जा’ बाबु एउटा दाउरो बोकेर मलाम जा’। गुरूंगकि छोरी गितेले हिजै फाल हालेर मरिछे। आज बिहान लाश भेट्टाए रे! अब बाहुन टोलमा बसेसी’ जलाउँछन् नै होला नि।’ आमाले भन्नुभयो।

म बेहोसजस्तै भएछु।

समाप्त!

लेखक: सुरेश बादल

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here