Misunderstanding In Relationship | Heart Touching Story

0
4269

ब्रेकअप भएको निकै बर्ष भएको थियो, आफूलाई नि कहिले काँही एक्लो महसुस हुन्थ्यो। चट्ट एउटी खोजेर बिहे गरूम् भन्ने नसोचेको पनि होईन, तर खै आफूलाई बुझ्ने भेटिएको होईन। साथीभाईले पनि नयाँ केटी देख्यो की यो भाउजु हुने लायक छ भनेर जिस्क्याउथे तर कुरो मिलाईदेको कसैले होईन। मलाई थाहा थियो मेरो जोडी मैले नै खोज्ने, मैले भनेको जस्तो, मलाई बुझ्ने, मलाई माया गर्ने, मलाई सम्मान गर्ने।
एउटा साधारण कार्यक्रममा भेट भएको थियो उनि सँग। साथी भाई रमझममा मस्त थिए, उसको साथीहरू अमेरिकन ड्रिम जिउन व्यस्त थिए। म थिए एकलो र उदास प्राणी अनि उनि थिईन् बगाल हराएको कस्तुरी झै। मेरो साथीले मलाई चिमोटेर उच्कायो। उसको साथीले मलाई दाई भन्थी, एस्सो हेरेँ खासै राम्री होईन, ठिकै को, सोँचे अनुहारले के गर्छ र? फेरी सोँचे बहिनीले थाहा पाई भने ईज्जत त हलुवा हुन्छ। फेरी सोँचे होईन मन मिल्यो भने त बहिनी पनि खुशी होली नी त।
‘कति भयो अमेरिका आएको?’ मैले कोट्याएँ।

‘एक बर्ष, तपाई?’

‘म छ बर्ष जति भयो।’ कुरो सक्कियो। के बोल्ने?

हिड्ने बेला भयो,

‘राईड् छ?’ सोधेँ।

‘छैन दाई’, उसकी साथी बोलीन्।

‘म छाडीदिन्छु’ अफर गरेँ।

‘नाई, हामी उबरमा जाने’ अप्ठ्यारो मानिन्।

‘उबरको पैसा मलाई दिनु। म नि चलाउछु उबर।’ जिस्क्याएँ।

‘हस्’ दुबै बसे।

‘मलाई फेसबुकमा एड गर ल’ बाटो खोजेँ।

‘म तपाईसँग एड छु’ जवाफ फर्काईन्।

‘होईन होला।’ अविस्वास् देखाएँ।

‘हो, चेक गर्नु।’ ठोकुवा गरिन्।

चेक गरे, हो रहेछ, मनमनै दंग परेँ।
भोलि पल्ट म्यासेज गरेर नम्बर मागेँ,

‘कुन दिम्?’ सोधिन्।

‘कस्तो कुन्? जुन छ त्यहि देऊ।’ सोझै पोईन्टमा आएँ।

‘होईन भाईवरको कि, रेगुलर भनेर सोधेको।’ किल्लर गरिन्।

‘भएको जति सबै देऊ।’

कुरा हुन थाल्यो, एक दुई दिन हुँदै हप्ता वित्यो।

कता कता फेरी कसैप्रति मन ढल्किएको भान् हुन थाल्यो। कहिले काँही त कुरा गर्दा गर्दै रातै छर्लंग हुन थाल्यो, तर मैले मेरो भावनामा पक्का हुन सकिन।

बहिनीलाई भाईवर गरेँ,

‘ओई मलाई तेरो साथी मन पर्यो, उसको व्वाईफ्रेन्ड छ?’

‘सिरियस्ली? छैन दाजु’ एक्साईटेड् भईन् बहिनी।

‘हो यार, पट्याईदे न’ माग तेर्स्याएँ।

‘ह्या, आफै पट्याउनु, काँ मैले पट्याईदिनु, कुरा गर्नु, सि ईज डिफ्रेन्ट।’ आशा मर्यो, अव आफै मेहेनत गर्नुपर्ने भयो।

हप्तौँ वितीसकेको थियो निरन्तर कुरा गर्न थालेको, एकछिन रिप्लाई नआए रिसाउने भैसकेकी थिईन्। म पनि उनलाई मिस् गर्न जानिसकेको थिएँ।

बोल्दा बोल्दै कुरा सकिन्थ्यो तर उनी बोल्न नछाड्ने।

‘लु अब तपाई बोल्नु’ पालो दिईन्।

‘के बोलौँ?’ अन्कनाएँ।

‘यु आर सो बोरीगं, अनरोमान्टिक्।’ ठाडै भनिन्।

‘अँ,अलिक उमेर बुढो भयो, त्यसैले होला।’ स्विकारीदिएँ।

‘तिमीलाई के ले खुशी बनाउँछ?’ सोधेँ।

‘सरप्राईजले,चकलेट मन पर्छ। ईगनोर गरेको मन पर्दैन। टु मच केयर चाहीन्छ, आखिर म केटी हो, मलाई त केयर गर्नु पर्छ नि, म कुरा गर्छु, हरेक कुरा सही हो भन्नु पर्छ। मेरो मन दुखाउने अधिकार कसैलाई छैन।’ रेकर्डेड जसरी बोलिन् म सुनेर बसेँ।
अर्को दिन सरप्राईज् र चकलेट दुबै दिने निधो गरेँ। किन्नलाई गएँ, चकलेटको डिपार्टमेन्ट नै भेटिएन। कसैलाई सोध्न पनि लाज लाग्यो। झन्डै आधा घण्टा खोजे पछी भेटे। चकलेट रैछ हजार थरीको। जिवनमा पहिलो पल्ट गएको थिएँ चकलेट किन्न। फसाद पर्यो कुन किन्ने? फोन गरेर सोधौँ सरप्राईज् दिने मुडमा छु। आँखा चिम्लेर एउटा उठाएँ।

सरप्राईज त दिईयो, खुशी पनि भईन् तर चकलेट् मिठो लागेन रे। सोचेँ साच्चै म अनरोमान्टिक नै रैछु।

एक दिन दिनभर नै रिपलाई आएन। फोन गरेँ सिधै भ्वाईस् मेलमा गयो। उसको साथीलाई सोधेँ, काममा रहेछ।

साँझ रिप्लाई आयो, कल गरे। दुखी थियो आवाज। के भयो भनेर सोधेँ।

‘मलाई अब दुःख गर्न मन छैन, नेपाल फर्किन्छु। मेरो दिदीको बुढा सेटल्ड छ यहाँ, उस्लाई कस्तो चिल छ, कामै गर्न पर्दैन मलाई चाहीँ यस्तो दुःख।’ पिडा पोखिन्।

‘हेर, अरूको चिल हेरेर आफ्नो जिवन चलाउने होईन। आफूले कमाएको सम्पत्तीमा चिल गर्नुको मजै छुट्टै छ। केही समय न हो दुःख, त्यसपछी लाईफ नै चिल।’ सम्झाउन खोजेँ।

‘तँपाई मेरो कुरै बुझ्नुहुन्न। सबै एकै खालको हुन्छ।’ रिसाईन्।

‘त्यस्तो होईन, अरूले के सोच्छ थाहा भएन, तर म चाहान्छु कि हरेक केटी आफ्नो खुट्टामा उभियोस्, आफ्नो जिवनको मालिक आफै होस्। बाबु आमा बुढा कसैमा आश्रित नहोस्।’ फेरी सम्झाएँ।

‘हो त्यो त तै पनि, हरेक केटीले चाहान्छ कि आफ्नो बुढा धनि होस्, फ्युचर सेक्युअर्ड होस्। को चाहान्छ र सडकछाप सँग बिहे गर्न? म त सक्दिन। मेरो त ममीले खोजेको केटा सँग गईस् भने शिर देखी पाउ सम्म धपक्क बालेर पठाउछु भन्नु भएको छ’ दरो दिईन्। मेरो आत्मसम्मान डग्मगायो।

‘हेर म चाहान्न कि मेरो लाईफ पार्टनर करोडपतीको छोरी होस्। म बस् यो चाहान्छु कि उसले जिवनलाई बुझेको होस्। दुःख बुझेको होस्। म सँग आउँदा दाईजो श्री सम्पत्ती होईन, केबल एक जोर लुगामा आवोस्, तर मनमा ठुला सपनाहरू र मस्तिस्कमा ति सपना साकार बनाउने अथाह ताकत लिएर आवोस्, अनि आफ्नै पसिना ले बनाउने हो दुईजनाको संसार।’ हल्का दिएँ।

‘ह्या तँपाई लाष्ट ईरिटेटीगं हुनुहुन्छ, वाई।’ फोन राखीन्।
कुराहरू पातलिँदै गएको थियो। फेरि कुरा भयो। स्टेट मुभ हुने रे। त्यहाँ एक्स् बस्छ रे सबै सुनाईन्।

‘त्यहाँ गएर प्याच अप गर्ने हो? यहि बस्दा के हुन्छ र?’ जिस्किएँ।

‘गर्न पनि सक्छु, अर्को गर्लफ्रेन्ड बनाएर के भयो त? पहिले त्यो मेरो हो अनि मात्र अर्को कसैको।’ चर्किएको आवाजमा निकै बोलिन्।

मैले हो मात्रै भनेँ।

प्राय: सँधै जस्तो कुर्नु पर्ने मैले बोल्नलाई। नुहाउन लाई तिन घण्टा हराउथिन् उनी, साथी सँग बोल्नलाई घण्टौँ बिताउथिन् उनी तर म बस् आवाज सुन्न मात्रै बिहानको तिन बजाउन तयार।

निकै दुःखमा थिएँ म, हरेक बाट धोका हुँदै थियो जिवनमा। एक साँझ त साँस नै फेर्न गार्हो भयो। सोचे उनलाई सुनाउछु। फोन गरेँ दश मिनेटमा कल गर्छु भनिन्, तिन घण्टा वित्यो तर अँह आएन फोन। एक्कासी रातको तिन बजे म्यासेज आयो,’गुड्नाईट्, लोल!’

‘के मजाक हो यो?’ रिसाएँ।

‘लौ के भयो र?’

नजानेको झैँ गरिन्।

‘दश मिनेट बल्ल बित्यो?’ सोधेँ।

‘नाई, हजुर सुत्नुभयो होला भनेर कल नगरेको।’ कारण देखाईन्।

‘तिमीले म्यासेज नगरेको भए सायद रातभर बस्थेँ होला, तर अब बस्दिन।’ बिदा मागेँ।

 

मनमनै सोचेँ, गलत हुँदैछ। म आफ्नै धरातलबाट तल गिर्दैछु। कसैसँग कहिले नहार्ने म बार बार उनी सँग किन हार्दै छु, त्यो पनि बिनाकारण। कसैलाई आफ्नो बनाउनको निमित्त म आफ्नै आत्मसम्मान गुमाउन खोज्दै छु। यस्तो गर्न हुन्न।

कल गरिन्, उठाईन। फेरी गरिन्, उठाईन।

दश पल्ट गरिन् उठाईन।

म्यासेज गरिन् ‘एक पल्ट फेरि गर्छु उठाउनु भएन भने, आई विल नेभर कल यु अगेन।’

‘आई विल नेभर गोन्ना वेट् यु एनिमोर।’ जवाफ फर्काएँ।

सोचेँ, उनी पनि गलत होईन म पनि गलत होईन, गल्ति बस समयको हो जसले भेट गरायो। जसले दुई फरक सोच, फरक बिचार, फरक धरातलको मान्छलाई भेट गरायो। वि ह्याभ डिफरेन्ट एथिक्स्।

‘हेर, म सायद तिम्रो नजरमा सडकछाप हुँला, तर म मेरो जिवनको हिरो हुँ। गरिब हुँला तरै पनि मेरी आमाको म युवराज हुँ। मलाई अरू जस्तै स्वार्थी देख्यौ होला तर अरूको खुशीमा रम्न खोज्ने दुःखी आत्मा हुँ। म अनरोमान्टिक छु तर गैरजिम्मेवार पक्कै छैन। इरिटेटीगं छु तर आफ्नो भन्दा अरूको दुःख ठूलो देख्छु जहिले पनि। पैसामा भन्दा मेहनतमा बिस्वास गर्छु म। केयर केटीलाई मात्र चाहिन्न, हामी केटालाई नि चाहिन्छ, ईग्नोर गर्दा हामीलाई पनि मन दुख्छ। बस् यती भन्छु कि कसैलाई त्यति धेरै नि नकुराउनु कि उसको पर्खाईनै टुटोस्, कसैलाई त्यती धेरै ईग्नोर नि नगर्नु की तिमी प्रतिको सम्मान गुम्न पुगोस्।

जिवन सफल रहोस्, शुभकामना!’

अन्तिम म्यासेज लेखेँ।

यसरी फेरी पनि उदास् र एक्लो बन्न पुगेँ म, तर अब म बगाल बाट हराएको कस्तुरी कदापी खोज्ने छैन।

लेखक: भुवन राई 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here