Kamero – The Color Of Love

0
3071

फेसबुकमा चिनेको मैले उसलाई। सुरू-सुरूमा ठिक्क सिधा कुराहरू मात्र गर्थि। पछि मैले बिस्तारै-बिस्तारै जिस्काउन थालिसकेको थिएँ। त्यतिबेला भने ऊ पनि जिस्किन खोज्थि। तर सक्दैनथि। ऊ असाध्यै सोझि थिई। केहि रमाइला स्टाटस लेख्ने भएर होला मेरा फलोअरहरू धेरै थिए। तीनैमध्य एउटा थिई सविना।
उसको निम्ति च्याटमा कुरा गर्ने म एउटा मात्र थिएँ सायद। हरबखत ऊ मलाई मेसेज गरिरहेकि हुन्थि। मेरा भने त्यस्ता केटि साथीहरू धेरै नै थिए। म उसका कुराहरू बाट अनुमान लगाउन सक्थेँ कि ऊ पुरै मेरो प्रेममा थिई। तर मलाई भने उसको रंगरूपले खासै लोभ्याएको थिएन। पापी मन न हो, एकदुई चोटि भेटघाट र हाँसिमजाक गर्न पाए हुन्थ्यो भन्ने चाहिँ लागिरहन्थ्यो।

एकदिन सधैँझैँ उसले च्याटमा ‘हेल्लो’ लेखि।

मैले पनि ‘हाई’ भनेँ।

‘खाजा खानुभयो?’

‘अँ, खाएँ। तिम्ले खायौ त?’

‘खाएँ मैले पनि।’

‘के खायौ त?’ मैले गफ गर्ने बहाना खोजेँ।

‘मकै र भटमास!’

‘वाउ। यहाँसम्म बास्ना आयो त!’

‘आउँदैन बास्ना सास्ना। तपाईँको शहरको जस्तो बास्ना आउने पपकर्न हैन यो। डढेको ठेट्ना मकै हो यो त। बाख्रालाई दिँदा त खान मान्दैन। करले खानुपर्छ हजुर गाउँमा।’ उसले यथार्थ बताई या मसँग मजाक गरि उसैले जानोस्। तर पनि म मजाककै मुडमा थिएँ।

‘हजुर के गर्दै नि?’ फेरि उसैले सोधि।

‘म त चिया पिउँदै छु।’

‘लौ एक्लै-एक्लै? मलाई खोई त?’

‘आउ न त मेरो घरमा।’

‘नजिक भए त आउँथेँ नि।’

‘आए पनि के गर्नु, मेरो घरमा एउटा मात्र कप छ।’ म अलि पात्तिएँ।

‘त्यसोभए म आफ्नै घरबाट ल्याउँला नि त।’ उसले पनि हार मानिन, जिस्किरहि।

‘हाम्रो घरमा त पाहुनाले भाँडाकुँडा ल्याउन मिल्दैन नि त!’ म अझै जोशिएँ।

‘त्यसोभए हजुरले खाइसकेपछि म कप माझेर त्यहि कपमा खान्छु नि त!’ उसले आँखा चिम्म गरेर हाँसेको इमोजी पठाई।

‘अनि मैले खाइसकेर खाँदा चिया चिसो भईसक्छ नि त!’

‘म फेरि तताएर खान्छु नि त!’

‘एहे! नभा’को ग्याँस सक्न पाइन्न नानु!’ मैले पनि आँखा झिम्काएँ।

‘लौ लौ प्रभु मैले बोलेर सकिनँ। म हजुरकै कपबाट जुठो चिया पिउँला।’

मैले मुसुक्क मुस्काएको इमोजी पठाएँ। हामी दुबैजना केहिबेर मौन रह्यौँ।

‘साँच्चि एउटै कपबाट चिया पिउन कहिले आउँछौ?’ मैले नै मौनता चिरेँ।

‘खोई म त कहिले हो कहिले। बरू हजुर नै आउनु न त यता?’

‘कता रे तिम्रो घर?’

‘ह्या। कतिचोटि भन्नु के पाल्पा हो भनेर। खालि बिर्सिनुहुन्छ त!’ उसले रिसाएको स्टिकर टाँसि। मैले सरी भनेर हाँसेको इमोजी पठाएँ।

सविना मैले हरेक चोटि फेसबुक खोल्दा अनलाइन मै हुन्थि। म अनलाइन आउनासाथ मेसेज गरिहाल्थि। अनि कुराहरू सुरू हुन्थे। म पनि अरू राम्री-राम्री गफाडि केटिहरू अनलाइन हुँदा उसलाई खासै वास्ता गर्दैनथेँ। उनीहरूसँगै जिस्किएर बस्थेँ। सविना भने मेरो जवाफ कुरिरहेकि हुन्थि।

‘बिजि हुनुभाको हो र? कता हराउनुभयो हजुर?’ सविनाको प्रश्नको मसँग सधैँ रेडिमेड जवाफ हुन्थ्यो, ‘अँ हेर न, आज इन्टरनेट अत्ति स्लो छ क्या।’

‘ए ए ठिक छ नि त। त्यसोभए पछि कुरा गरौँला नि त। हजुर फुर्सद हुनुभए आफैँ मेसेज गर्नुस् है? म कुरिरहेकि हुन्छु।’

‘हस् हजुर।’ म पनि उसलाई पन्छाउँथेँ।

अरू केटिहरूसँग छिल्लिँदै च्याट गरिरहँदा म सविनालाई अनलाइनमै देख्थेँ। सायद राती बाह्र एक बजेसम्म पनि ऊ मेरो जवाफ कुरेर अनिँदो बस्थि। र म सुतेपछि मात्र फेसबुक बन्द गरेर सुत्थि।

बिहानीपख सविनाले ‘गुड मर्निंग’ लेखेर मेसेज पठाई। म ओछ्यानबाटै खाटछेउको टेबलको मोबाइलमा देख्न सक्थेँ। मैले बेवास्ता गरेर मोबाइल तानिनँ। सिरकभित्र तातिरहेको हात बाहिर चिसोमा निकाल्ने जाँगर चलेन। मोबाइलको नोटिफिकेसन बजिरह्यो। सविनाले केहि फोटोहरू पनि पठाएको जस्तो लागेर मोबाइल तानेर हेरेँ। खुट्टामा लागेको घाउको फोटो थियो।

‘ओहो! के भयो तिमीलाई?’ मैले अचम्म मानेर सोधेँ।

‘लडेको नि।’

‘अनि यति बिहानै के गर्न गयौ र यस्तो घाउ बनाउनलाई?’

‘घाँस काट्न गएकि थिएँ नि हजुर। हजुरजसरी चिया नआउन्जेल ओछ्यानमै सुतिरहन पाउँदिन म।’ उसले थोरै बिझ्नेगरि भनि।

‘घाउ डिटोलले सफा गरेर ड्रेसिंग गर है?’

‘गरिसकेँ अहिले त।’ ऊ मुसुक्क हाँसि।

‘हुन त तिमी मसँग भाको भए म तिम्रो घाउलाई फुउउउउ गरेरै बिसेक पारिदिन्थेँ।’ म जिस्किन थालेँ।

‘त्यसोभए योभन्दा पनि ठुलो घाउ मेरो मनमा छ हजुरले बिसेक पारिदिनु न त।’ उसले एक्कासी घुमाउरो कुरा गरि। मैले उसको संकेत बुझिसकेको थिएँ।

‘के छ र तिम्रो मनमा?’ मैले नबुझेजसरी सोधेँ।

‘छ नि जे भए नि।’

‘त्यसोभए घाउ ड्रेसिंग गराउनेलाई नै देखाउ त्यो मनको घाउ पनि।’

‘देखाउँदिनँ।’

‘अनि कसलाई देखाउँछौ त?’

‘हजुरलाई’

‘भन न त कस्तो घाउ हो?’

‘लाज लाग्छ’

‘भयो नभन त्यसोभए त। बाई!’

‘एकछिन एकछिन!’

‘अँ भन’

‘मायाको घाउ हो के।’

‘अहम् अहम्!’ मैले जिस्काएँ।

‘हो के। हजुरले दिनुभएको मायाको घाउ अब हजुरले नै भेटेर फुउउउउ गरेपछि निको हुन्छ। नत्र त जहिल्यै पोलेर छटपटि गराइरहन्छ मलाई।’ आज उसले हिम्मत गरेरै मनको कुरा भनेकि थिई। तर मेरो मनमा उसको निम्ति उसको झैँ यति चोखो भावना बिल्कुल थिएन। पापी मनले अर्कै सोचिदियो। मैले पनि उसलाई खुशी बनाउनकै लागी पनि बोलिदिएँ,

‘त्यस्तो घाउ त बेलैमा जँचाउनुपर्छ नानु। ल भोली नै काठमाण्डु आउ। म जाँचेर निको पारिदिन्छु तिमीलाई।’

‘भोली नै त कसरी आउनु र! म अर्को हप्ता आउनुपर्ने छ। टियु गएर ट्रान्सक्रिप्ट पनि लिनु छ। त्यहि बेलामा हजुरलाई भेट्छु हस्?’
मैले पनि हस् भनेँ। ऊ मक्ख परि।

हरेकदिन ऊ ‘काठमाण्डु आउने दिन आउन यति दिन बाँकि छ’ भनेर खुशी हुँदै सुनाउँथि। हुँदा-हुँदा ऊ मलाई च्याटमै घण्टा र मिनेटबाट समेत काउन्टडाउन गरेर देखाउँथि। मलाई भेट्न ऊ अति नै उत्साहित थिई। मेरो मनमा भने उसलाई कता भेट्ने र कता लैजाने भन्ने सोच पलाउँथ्यो। मनमा उसको प्रेम र विश्वासको फाइदा कसरी उठाउने भन्ने मात्र लागिरह्यो।

बिहान मोबाइलको घन्टि बज्यो। मोबाइलले ‘सविना कलिंग’ देखायो। फोन उठाएँ। मसिनो आवाज आयो। मैले पहिलोचोटि सविनाको आवाज सुन्दै थिएँ।

‘के गर्दै हुनुहुन्छ?’

‘सुतिराको छु।’

‘अल्छि!’

‘के को अल्छि हो र? निन्द्रा लागेपछि के गर्नु त!’

‘खुरूक्क बाहिर निस्किनु त। म हजुरकै घर अगाडि छु।’ ऊ खितिति गरि।

‘काठमाण्डु आइसक्यौ?’

‘अँ नि त। हिजो राती आइपुगेकि म त। आज भेट्ने ल? टियु आउनु न, हुन्न?’

‘कता बसेकि छौ र?’

‘म त अहिले हजुरकै घर अगाडि छु क्या!’ उसले फेरि खितिति गरि।

‘नजिस्किकन भन न!’ म अलि सिरियस भएँ।

‘यता कलंकिमा दिदिकोमा छु। खाना खाएर बल्खु चोकमा भेट्ने है?’

मैले हस् भनेँ। मन रोमान्चित भयो। नुहाईधुवाई सकेँ। खाना खाएँ। छानी-छानी हेरेर टिसर्ट पाइन्ट लगाएँ। म बल्खुतिर हानिएँ। सविनाले मेसेज गरेकि थिई ऊ बल्खुचोक भन्दा अलि माथि परिक्षा नियन्त्रण कार्यलयअगाडि हुनेछे भनेर। मैले परैबाट हात हल्लाइरहेकि सविनालाई देखेँ।

काली-काली, पातली उसले नीलो रंगको कुर्ता सुरूवाल लगाएकि थिई। कुर्ताका बाहुलाहरू नाडिसम्मै थिए। आँखामा गाजल लगाएकि उसको श्रृंगार साधारण थियो। मलाई नजिक पुगेपछि उसले ‘नमस्ते’ गरि। मैले पनि नमस्ते फर्काएँ।

‘तिमीले त मलाई टाढैबाट हात हल्लायौ त। कसरी चिन्यौ हँ?’ मैले अचम्म मानेर सोधेँ।

‘हजुरको प्रोफाइल पिक्चरमा पनि यहि त टिसर्ट छ!’ उसले हाँसेर भनि। म जिल्ल परेँ। बिहानभरि त्यति धेरै टिसर्ट छान्दा पनि उहि पुरानै लगाइएछ भनेर
थक-थक लाग्यो।

‘तिम्ले नचिन्लाउ भनेर यहि लगाएर आको नि त।’

‘उस् गफाडि।’ उसले ओठ लेब्र्याई।

‘तिम्ले धेरैबेर कुर्नुपर्यो है?’

‘हैन कुर्नु परेन। ट्रान्सक्रिप्ट लिँदै गर्दा हजुरलाई मेसेज गरेँ। बाहिर निस्किदा त आइसक्नुभएछ।’ ऊ मुस्कुराई। म जिल्ल परेर उसलाई हेरिरहेँ। ऊ थोरै लजाएजस्तो गरि। हामी दुबैजना एकछिन बाटोमै ठिंग्ग उभिरह्यौँ। दुबैजना मौन थियौँ।

‘कतै जाउँ न ल!’ मैले मौनता तोडेँ। उसले पनि हुन्छ भनि। हामी खेतका गराछेउको बाटो हुँदै त्रिवि वातावरण विभाग पुग्ने बाटोमा हिँड्यौँ।

धेरै ठट्टा नगर्ने तर मेरो संगतले मात्र हल्का जिस्केजस्तो गर्ने सोझि सविना देख्दा मेरो मनमा उसको भावनासँग खेलवाड गर्ने मन भएन। बरू माया पलायो।

म बोल्दाबोल्दै थाहै नपाई उसलाई छुने, कपाल चलाउने गर्थेँ तर पनि उसले प्रतिवाद गरिन। बरू मुसुक्क मुस्कुराउँथि। सायद मनभरि मेरा निम्ति माया बोकेर आएकि थिई ऊ। उसका आँखाहरूले पनि नजानिँदो ढंगले यहि बताउँथे तर उसका ओठहरूले बताएनन्। सायद डराई होला।

एउटा खेतको गराबाट अर्कोमा उक्लिने बेला मैले उसलाई हात समातेर उकाल्न खोजेँ। उसलाई मैले मेरो हात दिएँ। उसले मलाई आँखा झिम्काउँदै भनि,

‘गाउँमा घाँसदाउरा गरेकि केटिले यति उक्लिन्छे हजुर।’

‘ए हो नि त है?’ म लाज मानेर हाँसेँ। तैपनि सविनाले मेरो हात समातेर गरा उक्लिन्। मैले उसको हात छोडिनँ। उसले मेरा आँखामा हेरि। मैले पनि हात झन् च्याप्प समातेर उसका आँखामा हेरेँ। ऊ लाजले शीर झुकाएर उभिरहि।
उसका हातमा काटेका दागहरू थिए। दह्रो हत्केला छिया-छिया परेका थिए। मैले उसको हात हेर्दै बिस्तारै छोडिदिएँ।

‘अचम्म लाग्यो हजुर गाउँले केटिको हात देखेर? हँसियाको घाउ र कोदालोको बीँडको ठेलाको मेहंदि मन परेन र हजुरलाई?’ उसले व्यंग्य कसि।

‘त्यस्तो हैन।’ मैले पनि अप्ठेरो मानेर बोलेँ।

हामीले त्यो दिनभर सँगै घुमेर बितायौँ। म बोलिरहँदा ऊ मेरो अनुहारमा हेरेर टोलाइरहन्थि। मैले झस्काएपछि लाज मानेर हाँस्थि। मेरा मजाक सुनेर ऊ कहिले आँशु नै निकालेर हाँस्थि त कहिले उसको मजाक उँडाउँदा मलाई नै पिट्नलाई हात ताक्थि।
हामी साँझमा बल्खुबाटै छुटियौँ। ऊ कलंकितिर गई। म रत्नपार्कतिर सोझिएँ। मलाई मन हल्का भयो। मलाई उप्रति साँचो माया पनि पलाएन र उसको सोझोपन देखेर उप्रति गलत नियत पनि पलाएन। फगत एउटा साथीजस्तैगरि दिन बिताएर फर्किएँ।

अशिक्षित बाउआमाकि शिक्षित छोरी सविनाले गाउँनजिकैको क्याम्पसबाट बिएड सकेकि थिई। ऊ गाउँकै स्कुलमा पनि पढाउँथि। रंगरूप ठिकठाक भएकि ऊ अरू आनीबानीले त धेरै नै राम्री थिई।

जानेबेलामा फोन गरेर फर्केकि थिई सविना। भेट्न जानलाई म आफैँले व्यस्त छु भनेर टारेको थिएँ। ऊ मनभरि मेरा निम्ति माया बोकेर आएकि थिई। खै के भएर डराई या लजाई कुन्नि मेरा सामुन्ने आइपुगेर पनि उसले मायाको पोको खोलिन। मनमै लुकाएर गई।
सविना पाल्पा फर्केपछि पनि हाम्रो बेला बेलामा फेसबुकमा च्याट भइरह्यो। म पहिलेभन्दा निकै कम जिस्किन्थेँ। ऊ पनि पहिलेभन्दा निकै कम नै मलाई चासो गर्थि। बिस्तारै- बिस्तारै उसले मलाई च्याटमा बोलाउनै छोडिसकेकि थिई। केहि दिन त त्यति ख्याल पनि भएन। तर बेचैनी यसरी बढ्यो कि एकदिन आफैँले च्याटमा ‘हेल्लो’ लेखेर बोलाएँ।

‘ओ माई गड, आज पश्चिमबाट कसरी घाम झुल्केछ हँ?’ उसले व्यंग्य कसि।

‘जुनले माया मारेपछि घामले नै सम्झिनु पर्यो नि त।’

‘उफ्! हजुरलाई कसले सक्ने कुरा गरेर।’

‘साँच्चि तिमीले त मनको घाउ निको पार्नुथियो भन्थ्यौ नि त अस्तिनै काठमाण्डु आउनु अघि। काठमाण्डु आएर पनि केहि नभनि गयौ त।’ मैले पुरानो कुरा सम्झिएँ।

‘ए अँ। त्यो घाउको कुरा? छोड्दिनु भो। केहि घाउहरू त उपचार गरिदिनेले वास्ता नगरेपछि त आफैँ भरिएर निको हुने रै’छन्। भलै खाटो चाहिँ बस्दो रै’छ। त्यहि खाटो पनि समय आएपछि हराएर जाँदा रै’छन्।’ उसले यसरी बताई कि अब मेरा लागी उसको मनमा प्रेम छँदै थिएन। अब ऊ आसक्त भएर मेरो सामु प्रेमको आश गरिरहन्न। मेरो मन बेस्सरी जल्यो। मलाई छटपटि बढ्न थाल्यो। आफुसँगै पछि लाग्दा तर्कन खोज्ने मान्छेलाई आफुबाट टाढा हुन लाग्दा त्यहि मान्छेको पनि लोभ लाग्दो रै’छ। साँच्चै स्वार्थी हुँदोरै’छ मान्छेको मन।

‘आज म चाँडै सुत्नुछ। पछि कुरा गरम्ला है। आमाले भोली बिहानै कमेरो लिन जानुपर्छ भन्नुभाको छ।’ उसले पहिलोचोटि च्याट गर्दागर्दै बिदा मागिरहेकि थिई।

‘के हो यो कमेरो भनेको?’

‘घर पोतेर रंगाउने माटो हो के।’

‘ए अँ अँ बुझेँ। अनि कमेरो लिन जाने बेला हो र यो? दशैँताका पो कमेरोले घर पोत्छन् त हाम्रो गाउँतिर त।’

‘विशेष बेलामा त यसरी बैशाखमै पनि कमेरोले घर पोत्छन् हाम्रोतिर त।’

‘कस्तो विशेष बेला? अलि बुझ्नेगरि भन न।’ मेरो मनमा चिसो पसिरह्यो।

‘बिहे घर चिटिक्क पार्नुपरेन त?’ ऊ मुसुक्क हाँसि।

‘कसको बिहे?’ म आश्चर्यमा परेँ।

‘घरकि जेठि छोरी म हुँ। अब कसको बिहे होला आफैँ पत्ता लगाउनु। बाई गुडनाइट।’ उसलाई एकैछिनमा ‘एक्टिभ वान मिनेट अगो’ भनेर देखायो।

‘तिमी बिहे गर्न लागेको?’ मैले अचम्म मानेर सोधेँ। तर मेरो मेसेज डेलिभर्ड मात्र भयो ‘सिन’ भएन। म फेसबुक बन्द गरेर ओछ्यानमा पल्टिएँ। निन्द्रा धेरै पर भागिसकोको थियो, सविना भन्दा पनि धेरै नै पर।

मलाई मेरो प्रेम पनि कमेरो रंगजस्तै लाग्यो। मेरो रंग मन पराएर सविना मसँग टाँसिन आई। तर म जहाँको त्यहिँ बसिरहेँ। ऊ हार मानेर म बाट टाढा भई। लुगामा लागेको केहि कमेरो रंग टक्टकाएजसरी ऊ अहिले मनबाट मेरो निम्ति रहेको प्रेम टक्टकाइरहेकि थिई।
मलाई मन शुन्य भएझैँ लाग्यो। मेरा सबै केटि साथीहरूभन्दा सविना मेरी आफ्नि हो भन्ने भावना पलाउन थाल्यो। त्यो रात मैले छटपटिमै कटाएँ। कतिबेला निदाएँ थाहा भएन। एकैचोटि ब्युँझेर हेर्दा बिहानको नौ बजिसकेछ।

टेबुलको मोबाइल तानेँ। फेसबुक खोलेँ। सविना अनलाइन मै थिई। सदाझैँ उसको ‘हेल्लो, गुड मर्निंग’ को बेवास्ता गर्ने म उसको मेसेज नआउँदा तड्पिएँ। एकमनले वास्तै नगरूँ झैँ लागेको थियो तर अर्को मन मान्दै मानेन।

‘हेल्लो, गुड मर्निंग।’ आज फेरि आफैँले बोलाएँ उसलाई।

‘हेल्लो।’ उताबाट जवाफ आयो।

‘के हो बोलाउनै छोड्यौ त।’

‘हजुरलाई डिस्टर्ब होला भनेर नि। म पनि भर्खर आइपुगेँ कमेरो लिएर। भर्खर हातगोडा धोएर यसो मोबाइल खोलेकि। हजुरलाई पनि रातभरि गर्लफ्रेण्डहरूसँग च्याट गरेर निन्द्रा पुगेको छैन होला भनेर डिस्टर्ब नगरेकि मैले।’ उसले व्यंग्य गरि।

‘जेपिटि। को छन् र मेरा गर्लफ्रेण्डरू?’ म रिसाएजस्तो गरेँ।

‘होलान् नि हजुरजस्तो ठुलो मान्छेको त।’

‘त्यसरी त नभन न यार। बरू तिमी चाहिँ ठुलीमान्छे भयौ।’

‘कसरी नि?’

‘मेरो प्रश्नको जवाफ त दिएनौ हिजोको।’

‘कुन प्रश्न?’

‘त्यहि के त हेर न।’

‘कुन?’

‘तिम्ले बिहे गर्न लाग्यौ?’

‘उम्!’ उसले नबुझिने जवाफ दिई। ‘हजुरलाई के फरक पर्छ र?’

‘के फरक पर्छ रे?’

‘हो त। म को हो र हजुरको?

‘तिमीले बिहे गर्ने कुरा गर्दा त यति तड्पिएँ भने बिहे नै गरेउ भने झन् के होला भन त?’ खै कसरी हो मैले पनि मनको सत्य पोखिदिएँ।

‘हाहाहा केहि फरक पर्दैन हजुरलाई। मजस्ता त धेरै होलान् नि हजुरका।’ उसले मेरा कुरामा विश्वास गरिन। उप्रति कहिल्यै नआएको प्रेम मनभरि भइसकेको थियो। बिछोड हुने डरले मन चिसो भइसकेको थियो। निकै महत्त्वपुर्ण कुरा गुमाउने चिन्ता मनले महशुस गर्न थाल्यो।

‘थिए होलान् धेरै नै। छन् पनि होलान्। तिमीजस्ती मनमा बसेकि त कोहि थिएनन्।’ मैले पनि लाचार भएर भन्दै थिएँ।
मान्छेहरू वार कि पार हुने अवस्थामा त चेतना पनि गुमाउँछन्। यदि साँच्चै नै सविनाको बिहे हुन गइरहेको थियो भने पनि मेरा यी भावनाहरूको कुनै अर्थ लाग्दैनथे। बरू उसलाई पनि मेरा कुराहरूले झन् दुविधा र अप्ठ्यारोमा पार्ने थियो। मैले यो पनि सोचिनँ र भनिदिएँ मनको कुरा।

‘साँच्चै मेरो बिहे हुनलागेको भए के गर्नुहुन्थ्यो?’

‘हँ? हुनलागेको भए?’ म मुस्कुराएँ। सँगै उताबाट सविना पनि मुस्कुराई।

‘हाहाहा। घरमा पुजा लगाउनलाई घर चोखो बनाउन कमेरो लिन गएको। हिजो हजुरलाई जिस्काएको सिरियस हुनुभएछ।’ ऊ बेस्सरी हाँसिरहेको उसले पठाएको स्टिकरबाट अनुमान लगाउन सकिन्थ्यो।

‘जे भए पनि राम्रै भएछ त। आखिर हाम्रा भावनाहरू साटिए नि त।’ म पनि हाँसेँ।

‘साँच्चै म को हो हजुरको?’ सविनाले सोधि।

‘खै तिमी को हौ त भन्न सक्दिन तर तिमी भएनौ भने म चाहिँ कोहि पनि हुनेछैन सायद।’

‘उफ्! कुन फिल्मको डाइलग हो यो?’ उसले जिस्काई।

‘डाइलग हैन यो। आई रियल्लि लभ यु यार।’ खुशीले मेरा आँखामा आँशु आइसकेका थिए।

‘लभ यु टु। अब छिट्टै आउनु पाल्पा मलाई माग्नलाई। नत्र त म साँच्चिनै बिहे गरेर गइदिन्छु।’ उसले घुर्कि देखाई।

‘तिमी काठमाण्डु आएर त मलाई माया गर्छु भन्न सकेनौ। म चाहिँ तिम्रो घर आएर तिम्रा बा’आमालाई छोरी दिनुस् भन्न सकुलाँ त? बरू तिमी मै काठमाण्डु आउ न। म पनि मेरा बा’लाई लिएर कलंकि आउँला तिम्रो फुपुकोमा। उहाँसँग मागे पनि त होला नि तिमीलाई। हुन्न?’

‘हुन्छ।’ ऊ मुसुक्क हाँसी। मनमा उसको मुहार पनि फुलझैँ फुल्यो होला भनेर कल्पनामा डुबिरहेँ।

केहि दिनमा सविना काठमाण्डु आई। मैले बैनीलाई भन्न लगाएर घरमा कुरा चुहाएको थिएँ। मलाई बा’ले सविनाका बारेमा सोध्नुभयो। मैले उसको बारेमा सबैकुरा बताएँ। बा’ले पनि आफु सुहाउँदो र मन परेकि केटि भए त भइहाल्छ नि भन्नुभयो।
शनीबार बिहान कलंकि गइयो। सारी लगाएर चिटिक्क परेकि सविना देखेर म जिल्ल परेँ। उसलाई यति उज्यालि र यति खुलेकि कहिल्यै देखेको थिइनँ। सुन्दरता त हेर्ने आँखामा हुन्छ भनेको सहि नै रै’छ। असली सुन्दरता गाउँमा हुन्छ भनेको पनि सहि रै’छ।
हामीले औठि साटासाट गर्यौँ। एकअर्काको भयौँ भनेर मनमनै कबुल गर्यौँ। छुट्ने बेलामा बिवाहको तिथिमिति जुराएर फर्कियौँ।
केहि दिनमा सविना पाल्पा फर्किई। हामी फोनमै गफ गरिरहन्थ्यौँ। ऊ बिहेको दिन आउन यति दिन छ भनेर काउन्टडाउन गर्थि। मलाई पनि जन्ति लिएर उसकै घर पाल्पा पहिलोचोटि जाने दिनको व्यग्र प्रतिक्षा भइरह्यो।

एकदिन फोन गर्दागर्दै सविना ‘हैट्’ भनेर चिच्याई।

‘किन के भयो प्यारी?’

‘हेर्नु न पिँढिमा बसेको, फोन गर्दागर्दै भित्तामा अडेस लागेको ध्यान नै भएनछ। लुगाभरि कमेरो लागेछ।’

‘ए हाहाहा त्यो कमेरो रंग नटक्टकाउ है। यतिकै रहन देउ।’

‘हेहे था’छ मलाई। म त हजुरको यो मायाको रंग सम्हालेर राख्नेछु नि।’

‘लौ कसरी थाहा पाएको तिम्ले?’ मलाई अचम्म लाग्यो उसले कसरी मेरो मनको कुरा बुझि।

‘हाहा थाहा हुन्न त? मैले हजुरको मनको कुरा नबुझे कसरी हजुरलाई नै जिवनसाथी चुनेँ होला त?’

‘ए त्यो पनि हो है?’

‘अँ नि। हाम्रो मायाको रंग त केहि गरे नि पखालिन्न क्यारे। यो लुगा चैँ धुन्छु ल?’ उसले लाडप्यारले सोधि।

मैले पनि हस् भनिदिएँ। उसले फोन राखि। बरण्डाबाट आफु बसेको काठमाण्डुको घरको भित्ता हेरेँ। बर्खाको पानीले इनामेल र चुनका रंगहरू पनि खुइलिन आँटेका थिए।

लेखक: सुरेश बादल

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here