iPill – A Story of a girl

0
2786

Story by Suresh Badal

‘मेरो बर्थ डे मा के दिन्छौ काली?’ उसले सोधेको थियो। ‘हजुरलाई के चाहिएको छ?’ मैले सोझो जवाफ दिएकि थिएँ। ‘सबथोक।’ उसले भन्यो। ‘हस्। मेरो सब हजुरकै त हो नि।’ मैले सहजै भनिदिएकि थिएँ।

उसको ‘बर्थ डे’मा हामी घुम्न भनेर ककनी गयौँ। बाइकपछाडि बस्दा लाग्यो हामी जिन्दगीको यात्रा गरिरहेका छौँ। उसले हर अप्ठेराहरूबाट जोगाएर बडो प्रेमले मलाई कहिँ टाढा लगिरहेछ, मायाको संसारमा। लाग्थ्यो म सुरक्षित हुनेछु उसको साथमा हुँदा।

बाटोमा जाँदाजाँदै पानी पर्यो। केहिबेर भिजेरै गयौँ र अलिपर एउटा रिसोर्टमा अडियौँ। उसको चिनजान रै’छ क्यार साहुसँग बोल्यो। मलाई एउटा कोठामा आराम गर्न भनियो। म भिजेका लुगाका फेर निचोर्दै बसिरहेकि थिएँ। ऊ कोठाभित्र पस्दा म टिसर्ट खोलेर निचोरौँ भनेर खोज्दै थिएँ तर अडिएँ। मेरो अनुहार लाजले भिजेको थियो। उसले पछाडिबाट मेरो हात च्याप्प समातेको थियो। म शिथिल भएकि थिएँ।

उसले मलाई तानेर अंगालोमा टाँसेको थियो। मेरा आँखाहरू चिम्म भएका थिए। बस् उसका श्वासका मन्द आहटहरू कानमा गुन्जिरहे। म काउकुतिले भित्रभित्रै बटारिएँ। मेरा कपालमा उसका औँलाहरू खेलिरहे। मेरा शरीरभरि बिजुलि दौडिरहेको भान भएको थियो। उसका ओठहरू मेरा ओठलाई छुन आए। मैले मुन्टो बटारेँ। उसले मेरो घाँटिमा चुम्बन गर्दा म सिरिंग्ग बनेकि थिएँ। ‘प्लिज नाईँ।’ मेरा आवाज सुस्तरी निस्किए। ‘माया गर्ने त हो नि काली।’ उसले कानमा फुस्फुसायो। ‘नाईँ के नाईँ।’ म जिद्दि गरिरहेँ।

उसका बलिया हात फुस्काउन म सक्दिन थिएँ। ‘तिम्रो सबथोक मेरो हैन र? विश्वास छैन ममाथि?’ उसले मलाई अप्ठ्यारोमा पारेको थियो। ‘विश्वास त छ तर..’ म रोकिएँ। ‘तर?’ उसले सोधेको थियो। तर मसँग तरपछिका शब्दहरू थिएनन् वा भए पनि ती शब्दहरू निस्किन डराए। ‘यति टाढा के नाताले आयौ त मसँग?’ ऊ चिढिएजसरी बोल्यो।

म बिलखबन्दमा परेँ। सोचेँ मैले केहि गर्नै सक्दिनँ अब! ‘आई पिल किन्दिनु है त।’ म डरले बोलेकि थिएँ। मेरा ओठहरू खै किन हो बेस्सरी काँपेका थिए। ‘हाहाहा!’ ऊ जोडले हाँस्यो। ‘जाबो किस गर्न पनि आई पिल चाहिन्छ र?’ उसको अट्टहासले म झन् नर्भस भएकि थिएँ।

‘फरवार्ड रै’छौ त!’ ऊ अझै बोल्यो। कति सजिलै मलाई आरोप लगायो। म लाजले पानी पानी भएँ। ‘तिमीले भनिहाल्यौ, औषधि खुवाउँला नि हस्?’ यति भनेर उसले मलाई बलियोगरि समात्यो।

म उसले जता लडायो त्यतै लडिदिएँ। ऊ मेरो शरीरभरि दौडिरह्यो। म मैदान बनेर चुपचाप सहिरहेँ। बाहिर पानी परिरहेको थियो। भित्र हामी भने पसिना-पसिना थियौँ। तल खाटमुनि मेरा लुगाहरू छरिएका थिए। मेरा लुगामाथी उसका लुगाहरू थिए। पानी रोकिएपछि हामी खाजा खाएर फर्कियौँ।

बाटैभरि मैले उसको अनुहारमै हेर्न सकेकि थिइनँ। न त बोल्न नै सकेकि थिएँ। मेरो घरको अलिपर उसले मलाई छोडेको थियो। हातमा ट्याब्लेट राखिदिँदै भनेको थियो,’ घर जानासाथ खाउ ल!’ मैले मुन्टो हल्लाएकि थिएँ। ट्याब्लेट निल्दै गर्दा मेरा स्मृतिमा त्यो मिलनको पल नाचिरह्यो।

शरीरभरि उसको मादक बासना टाँसिएको थियो। म रोमान्चित भइरहेकि थिएँ। ‘के हो बोक्सीले टोकेजस्तो निलो छ नि!’ कलेजमा साथीले भनि। मेरो घाँटिमा निलो दाग रै’छ। ‘बोक्साले होला नि हाहाहा!’ अर्कि साथीले भनि! ‘उफ् के हो पारा। पुरा लभ बाइट देखाउँदै आउनु पर्ने है महारानीलाई?’ साथीहरूले जिस्काए।

म लाजले मर्नु भएकि थिएँ। म धेरैपटक उसँग घुमिरहेँ। मलाई यसैगरि जिन्दगी कटे हुन्थ्यो जस्तो लाग्थ्यो। उसको साथ कहिल्यै नटुटोस् जस्तो लाग्थ्यो। तर समयले बोटबिरूवाहरूको त रंग फेरिदिन्छ भने ऊ त थियो मान्छे, आफैँ फेरिन जान्ने। बिस्तारै ऊ भेटिन छाड्यो।

उसको अनुहार, फोन र मेसेज मबाट बिरानो हुँदै गयो। म रूँदै फोन गर्थेँ। ऊ झर्किन्थ्यो। मन टाढा भएपछि जति नजिक बसेपनि दुरि लामो हुन्छ। छ न त ऊ यहि शहरमै थियो तर धेरै पर पुगिसकेको थियो। ‘म जिन्दगीको ठेगान नभएको मान्छे। आर्थिक हैसियत नभएको मान्छे।

तिमी राम्रो केटा खोजेर बिहे गर।’ ऊ भन्थ्यो। ‘अनि मेरो प्रेम नि?’ म रोएकि थिएँ। ‘पैसा नहुँदा मायाप्रेम पनि भोकभोकै मर्छ। जोसँग बिहे गर्छौ बानी परेपछि उसको आफैँ माया लाग्छ।’ यति भनेर ऊ टक्टकिएको थियो। मैले हार खाएँ। मलाई ढुंगा पग्लेला भन्ने आस रहेन! एकदिन बाटोमा हिँडिरहँदा रोकिराखेको उसको निलो पल्सर बाइक देखेँ। छेउमा एउटि केटि उभिएकि थिई। यताउति नजर घुमाएँ।

पर मेडिकलमा ऊ उभिएको थियो। सायद मायाको आशामा ‘सबथोक’ दिएकि त्यो बिचरी केटिका लागी ‘आई पिल’ किन्दै थियो होला। खै कताबाट आएर लाजले मेरो मुन्टो निहुरायो। म सलले टाउको ढाकेर फटाफट हिँडेँ।

Suresh Badal is Poet| Writer| Food Scientist| Blogger| Democrat

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here