I Hate Love – A Story By Suresh Badal

उसका धेरै फोटोहरू डाउनलोड गरेको थिएँ फेसबुकबाट। सेभ गरेर राखेको थिएँ मोबाइलको एउटा गोप्य फोल्डरमा! उसका गुलाबी ओठहरू जुम गरि गरि कैयौँपटक मैले आफ्नो मोबाइल चुमेको थिएँ। म बेलाबखत उसले सारी लगाएर लजाएको फोटो मोबाइलमा वालपेपर राख्थेँ। र केहि बेरमै अरूले देख्लान् कि भनेर हटाइहाल्थेँ।
मेसेन्जरमा उसलाई अनलाइन देख्दा मेरा धडकन बढ्ने गर्थे। लाग्थ्यो ऊ यहिँ मेरो सामुन्नेमा बसेर एकोहोरो मलाई हेरिरहेकि छ। मैले कहिल्यै उसलाई मेसेज गरिहाल्ने हिम्मत गरिनँ। मेरा शब्दहरू गतिला नहोलान् कि, पहिलो गाँसमै ढुंगा परेर कुरा बिग्रेला कि! म यस्तै सोचेर डराउँथेँ।
एकदिन ऊ आफैँले च्याटमा बोलाई। उसले ‘हाई’ लेख्दा मेरा आँखा तिर्मिराएका थिए। औँलाहरूले लर्बरिँदै ‘हेल्लो’ लेखेका थिए। कतै मेरो जोडले धड्किएको मुटुको धड्कन त उसले सुनिन? म सोचेरै बहुलाझैँ भएको थिएँ।
‘कताबाट तपाईँ?’ उसको प्रश्न त सरल थियो तर म अक्मकिएँ। काठमाण्डु भनौँ या गाउँको नाम बताउँ?
यस्ती मोडर्न केटि छ, गाउँको नाम भन्दाखेरि गाउँले भनेर हेप्ने पो हो कि? म हच्किएँ।
‘काठमाण्डु!’ लेखिदिएँ।
‘ओहो! कुन ठाउँ नि?’
‘गोंगबु।’
‘ए।’ ऊ ठुस्स परि।
‘किन र?’ मैले सोधेँ!
‘किन नि हैन!’ उसले टारि।
‘भन न।’ मैले कर गरेँ।
‘टाढा रै’छ अनि।’
‘कताबाट टाढा?’ मैले फेरि सोधेँ।
‘एकान्तकुनाबाट।’ ऊ बोलि। म सोचिरहेँ आखिर के का निम्ति टाढा भयो र? नजिक भा’को भए के गर्थि र उसले? भेट्थि र? के ऊ भेट्न चाहन्छे र मलाई? मलाई काउकुति लाग्यो। अनि भेटेर के गर्थि नि? म झन् बटारिएँ!


‘अनि किन एकान्तकुना बस्न मन लागेको नि?’ मैले सोधेँ।
‘घरै यहिँ भएपछि मन नलागेपनि बस्नु परिहाल्यो नि! उसले लेखि।
हुन त हो नि! तर उसलाई घर बस्न चाहिँ किन मन नलागेको होला? सायद कुनै तनाव पो छ कि। यस्तै हुन्छन् उमेर भएकि केटिहरू। अब पराईघर जाने बेला भएपछि घर बस्न मन गरेर पनि त भएन नि!
‘त्यो त हो।’ मैले लेखेँ।
‘हामी कसरी याड भा’को फेसबुकमा?’ उसले सोधि! म जिल्ल परेँ एकछिन। बल्ल याद आयो! ए!
‘एउटा ग्रुपमा तिमीले पोस्ट हानेकि थियौ नि! अनि मैले कमेन्ट गरेको थिएँ। अनि मेरो कमेन्ट तिमीले रिप्लाई गरेकि थियौ। त्यसपछि मैले रिक्वेस्ट पठाको!’ मैले बेलिबिस्तार लगाएँ।
‘ए ए।’ उसले मेरो यति लामो कुरालाई दुई अक्षरले टारि!
एकछिनको मौनता पछि हामी फेरि गफ गरिरह्यौँ। मलाई उसका बारेमा लगभग सबैकुरा थाहा थियो।
उसका हरेक फोटो, कमेन्टहरू र अन्य जानकारीहरू पढ्ने भएर होला सबकुरा थाहा थियो मलाई। आज मेरा बारेमा पनि सोधि उसले। मैले पनि आफु ब्याचलरको बिद्यार्थी भनेर बताइदिएँ।
‘कुन फ्याकल्टि?’ ऊ एक्साइटेड भई!
‘साइन्स!’ म बोलेँ।
‘ए’ उसको एक्साइटमेन्ट पातलियो!
‘तिम्रो कुन हो र?’
‘म्यानेजमेन्ट।’
हामी यस्तै यस्तै कुराहरू गरिरह्यौँ। म जिस्किन, फ्लर्ट गर्नबाट बचिरहेँ। म उसका अघिल्तिर राम्रो र असल बनिरहेँ।
‘तिम्रो आजकाल सन्दिपसँग बोलचाल छैन?’ मैले सकसक लागेर सोधेँ।
‘ओ माई गड! तिमी सन्दिपलाई चिन्छौ र?’ ऊ दंग परि। किन नचिन्नु र मैले! मैले त उसलाई इन्स्टाग्राममा पनि त ‘फलो’ गरेको छु नि। उसकै फोटोहरूबाट हो नि मैले सन्दिपलाई चिनेको। सन्दिप सायद उसको ब्वाईफ्रेण्ड हुनुपर्छ। उसका हरेक फोटोहरूमा सन्दिपले कमेन्ट गर्छ। इनस्टाग्राममा कमेन्ट गर्ने सन्दिपले फेसबुकका फोटोहरूमा भने कमेन्ट गर्दैन थियो। कमेन्टहरूमा सन्दिप लभ रियाक्ट गर्थ्यो भने ऊ पनि लभ नै रियाक्ट गरेर जवाफ फर्काउँथि। म जल्थेँ उनीहरूको यो कमेन्टहरू देखेर। तर केहि हप्ता भएको थियो सन्दिपको कमेन्ट नदेखेको। फेसबुकमा पनि त उसले एउटा दुखि भएजस्तो लाग्ने स्टाटस लेखेकि थिई!


‘सन्दिपसँग मेरो ब्रेक-अप भयो।’ उसले लेखि। सायद उसले मेरा निम्ति खुशीहरू लेखिदिई। मलाई आफुमा आत्मविश्वास बढ्न थाल्यो।
‘के भएर ब्रेकअप भा’को नि?’ मलाई उत्सुकता भयो र सोधेँ।
‘बाबा आउनुभो नि त कोरियाबाट।’
‘अनि बाबा आएर के भो त। भनेको भए हुन्थ्यो नि बाबालाई सबकुरा।’
‘बाबाले आफैँ थाहा पाउनुभो नि। अनि बाबालाई सन्दिप मन परेन रे। त्यहि भएर मैले नै ब्रेकअप दे’को।’
‘बाबालाई किन मन नपरेको रे नि?’
‘खै उसको फ्यामिलि स्टाटस भएन रे। अनि कास्ट पनि सन्दिप नेवार हो नि त!’
‘ए’
‘अब हाम्रो लागी त्यति धेरै दुख गर्ने बाबाको चित्त पनि त दुखाउनु भएन नि त है!’ उसले सोधि।
‘हो त नि।’ मलाई खुशी यस मानेमा लाग्यो कि उसले आफ्नो प्रेमी त्यागेकि छ। ऊ सिंगल छे।
‘अनि सन्दिप के भन्छ त?’ मैले नै सोधेँ।
‘उसले पनि त रियालिटि असेप्ट गर्यो नि। खासमा छ नि मलाई यो लभ रिलेसन नै मन पर्दैन। आई हेट लभ।’
‘अनि कस्तो मन पर्छ त?’
‘बाबाहरूले खोजेजस्तै स्टाटस र कास्ट मिल्नेसँगको एरेन्ज्ड म्यारिज।’ उसले इमो टाँसि मुस्कानको।
‘अनि स्टाटस र कास्ट मिल्ने पर्फेक्ट मान्छे भेट्यौ भने लभ गर्दिनौ र?’ मैले उसको मन बुझ्न चाहेँ।
‘गर्ने नि बट् बिहे नै गर्ने गरि। नो टाइम पास।’
मेरो मनमा लड्डु फुट्यो। आखिर म पनि त उजस्तै बाहुन थिएँ। काठमाण्डुमै घर नभए पनि पारिवारिक स्थिति राम्रै थियो। पढाई राम्रै थियो। म उसँग हरेक दिन गफ गर्थेँ च्याटमा। हामी जिस्किन थालिसकेका थियौँ। म उसका फोटाहरूमा ‘लभ रियाक्ट’ गर्न थालिसकेको थिएँ। ऊ बाबा गएपछि मसँग भेट्छु भन्थि। म पनि त्यो दिनको पर्खाईमा तड्पिरहेको थिएँ। हामी प्रेम प्रकट गर्नुभन्दा थोरै अघिको अवस्थामा पुगिसकेका थियौँ।


उसले उसको बाबालाई एअरपोर्टमा छोड्न गएको तस्वीर राखि। मैले ‘सेफ जर्नी’ लेखिदिएँ मेरा भविष्यका ससुराबा’लाई। मन फुरूंग्ग भयो। अब भेट्न पाइनेछ उनलाई। तस्वीरमा हाँसिरहने उनी अब मेरो सामुन्नेमा हाँस्नेछिन्। तस्वीर चुमेको मैले उनलाई अब म साक्षात चुम्नेछु। यस्तै सोचेर म फुरूंग्ग परिरहेँ।
उसको बाबा कोरिया फर्केको राती मैले उसलाई मेसेज गरेँ, सिन भएन। ऊ रातभर अनलाइन थिई तर मेरा मेसेजहरू हेरिन। मेरो चाह थियो उसलाई भोलीपल्टै भेटौँ तर उसको जवाफ आएन।
एक्कासी भोलीपल्ट उसले केहि मेसेजहरूको थुप्रो पठाई।
‘थाहा छ! बाबा यहाँ सँगै हुँदा बाबको अति डर लाग्थ्यो। माया लाग्थ्यो अनि बाबाको इज्जतको डर लाग्थ्यो। हाम्रो लागी विदेश बसेर दुख गर्ने बाबाको इच्छा विरूद्ध जान आँट आएन। बाबासँग हुँदा सन्दिप सम्झेर घृणा लाग्थ्यो।
तर हिजो बाबा उँडेपछि आफैँलाई रित्तो महशुस गरेँ। सन्दिप सम्झेर फेरि माया पलायो। बाबाले गर्ने कर्तव्य र माया एक ठाउँमा अनि सन्दिपले गर्ने माया अर्को ठाउँमा छ। आज रातभर हामी मेसेन्जरमा कल गरेर कति धेरै रोयौँ।
सन्दिपले के भन्यो था’छ तिमीलाई? आई लभ योर हेट रे! उसलाई त मेरो घृणाको पनि माया लाग्छ रे।
हामी यहि फेसबुकमै कुरा गरौँला है? बाहिर नभेट्ने ल? फेरि सन्दिपले माइण्ड गर्छ क्या!’
उसका मेसेजहरूले मेरो मन भारी बनायो। रिप्लाई गरिनँ। उसको मीठो बोलिले पनि दुख्यो।
सरासर फेसबुकको एउटा ग्रुपमा खोजेँ कुनै सुन्दरीको पोस्ट। कोहि त होलि नि। बरू घृणा नै गरोस्। त्यहि घृणालाई नै बरू माया गर्न पाइरहौँ।

लेखक: सुरेश बादल

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here