मेरो लागि नबनेको माया
लेखक : Jgd Nitesh Adhikari
म सानैदेखि Dates हरू सम्झिनमा लास्टै कमजोर थिएँ । सायद त्यसैले पो हो कि Social मा कहिल्यै राम्रो Marks आएन । धन्न Plus two मा चाहिँ त्यस्तो Date घोक्नु पर्दोरहेनछ । Birthdays , Anniversaries , आदि कहिल्यै याद भएन मलाई । अरुको त के कुरा गर्नू , मेरो आफ्नै Birthday पनि अरूले Wish गरेपछि मात्र सम्झन्छु, अरे! आज त मेरो Birthday हो के र !! भनेर । तर एउटा Date चाहिँ मेरो मस्तिष्कको भित्री सतहमा बसेको छ , 2073 फाल्गुन 18 । T.V. मा 4th ODI चलिरहेको थियो South Africa र New Zealand बीच । अनि म चाहिँ Facebookमा NewsFeed स्क्रोल गर्दै । Single भएको Symptoms थियो यो , Troll र Meme हेर्दै Brush नगरेको ती पहेँला दाँत खिच्च देखाउँदै तिनै Memeहरू मा रमाउने । School ले SEE आउन लागेकोले Practice Exam गराउँथ्यो त्यो समयमा तर आफू त परियो D+ वाला पढ्ने त उही Exam अघिको रात नै थियो । त्यहीबेला बाउआमाले अभिभावकको कर्तव्य निभाए i.e. गाली गरेर । तर Cricket Match जो थ्यो कसले छोड्छ र ! NewsFeed स्क्रोल गर्दागर्दै आँखा People You May Know मा आएकी एउटी केटीको Photo मा रूकियो । उसलाई अरू केटीहरूसँग दाँजेर उसको Level गिराउन चाहेन । किनभने अप्सराको Level को Beauty लाई सामान्य केटीहरूसँग दाँज्नु भगवानको अलौकिक Creation को अपमान हुन जान्थ्यो । अब सोच्नुहोस् कति राम्री थिई होली ऊ । छोड्दिनुस् सोच्न , उसको सुन्दरता हाम्रो सोचाइ भन्दा कति हो कति टाढा थियो ।
यति राम्री केटी देखेर पनि छोड्नको लागि म “हाय रे! मेरा सलमान खान”वाला ग्रूपको थिएन । पहिले त दुःख मान्दै Add Friend को Button दबाएँ । दुःख किनभने उसलाई आफ्नो जीवनमा Friend मात्रै नभएर हल्का Special Friend को रूपमा Add गराउने सोच थियो । त्यसपछि About Section मा गएर हेर्दा थाहा भयो , ऊ त हाम्रै विद्यालयकी थिई । हामीभन्दा एकब्याच जुनियर । अहिलेचाहिँ मलाई मेरो मर्दाङ्गी माथि शङ्का लाग्न थाल्यो किनभने आफ्नै विद्यालयकै केटीलाई समेत चिन्न सकेन नत्र त छ कक्षाभन्दा माथि बाह्र कक्षाभन्दा तलका सबैलाई चिन्न सक्थे । तर उसलाई चिन्न सकेन । आफ्नै विद्यालयमा पढ्ने भएपछि अलिअलि झ्याउ हुन्थ्यो त अलिअलि फाइदा ।
पहिले म आफ्नो बारेमा थोरै भनिदिउँ । म । नाम नितेश अधिकारी । हाइट र वेट थाहा छैन । केटीको नाममा परिवारका दिदीबहिनी र मम्मी बाहेक कोही थिएन । उसको आगमन भन्दा अगाडि मेरो जिन्दगीमा कोशौँ टाढासम्म पनि कुनै केटीको छायाँसम्म थिएन । कहिलेकाहीँ आफ्नो जिन्दगी देखेर लाग्थ्यो कि के यो इन्जिनियरिङ्ग पढ्नेए सङ्केत त हैन नि? मेरो जिन्दगी यस्तो पिडामय थियो । त्यसैले होला केटीहरूसँग कसरी कुरा गर्छन् , कुनै आइडिया थिएन । भारत हुन्थ्यो भने T.V.मा अभिषेक बच्चन Get Get Get Idea भन्न आउँथ्यो होला ।
तर मलाई उसँग कुरा गर्नु थियो । कसरी ? थाहा छैन । थाहा छ त केवल यो परीजस्ती केटीसँग बोल्नु छ । जोस्सिएर उसको मेसेज बक्स खोलेँ अनि टाइप गरेँ, “म्याचमा AB de Villiers ले हान्नेछ” । मैले के मेसेज टाइप गरेँ , मलाई थाहा थिएन । रोमान्टिक कुरा त परै जावोस् , फर्मल हाई हेल्लो नि नहुँदै मैले के उट्पट्याङ मेसेज गरेछु ।First Impression Is The Last Impression भन्छन् । आफ्नो त Impression नै पागल जस्तो भइदियो । उसले पक्कै मलाई पागलको संज्ञा दिईहोली । तर उसलाई पछि कुनै दिन भन्न मन थियो , “ हो! म पागल थिएँ । तिमी पाउने आशमा पागल भएको थिएँ “
त्यसको केही बेरपछि उसको रिप्लाई आयो “Sorry??? What’s the about message for me? “ त्यस दिन अफसोस दक्षिण अफ्रिकाले त म्याच हार्यो तर हाम्रो Innings चाहिँ सुरू हुन लागिसकेको थियो । अलिअलि कुरा नि गर्न लागे । मलाई थाहा थिएन म जस्तो मान्छेले कसरी उसँग कुरा गर्न सकेँ भनेर । मेरो शरिरको कुन कुना बाट निस्किरहेको थियो त्यो कुरा गर्ने साहस त्यसको पत्ता लगाउन सायद न्यूटन फेरि जन्मिनुपर्थ्यो होला ।
मैले उसलाई आफ्नो मानिसकेको थिए तर सायद उसले मलाई केवल एक फेसबुके साथी मा मात्र सिमित राखेकी थिई होली । त्यसैले उसले आफ्ना सबै कुरा मसँग शेयर गर्दैनथी । यताउता गर्दै आयो फाल्गुन 25 । बिहान फेसबुक खोल्दा नोटिफिकेशन हेरेर उसको बर्थ-डे भएको चाल पाएँ । बिहान मर्निङ्ग क्लास जान हतार भएको थियो अनि मर्निङ्ग क्लासबाट फर्केसी खाना खाएर फेरि विद्यालय जानु बाध्यता थियो । हो! मलाई उसँग कुरा गर्ने साहस थियो तर यतिपनि थिएन कि उसलाई विद्यालयमा नै विस गर्न सकूँ । दिनभरि क्लासमा हुँदा दिमागमा ऊ र उसको बर्थ-डे मात्रै घुमिरहेको थियो । साँझ घर पुगे । मोबाइलको चार्ज जिरो । अनि नेपालको लोडसेडिङ्ग । “ओम शान्ति ओम” मा शाहरूख खानले भनेको थियो कि आफूले चाहेको चीजसँग मिलाउन पुरा दुनिया लागिपर्छ भनेर । आफ्नो चाहिँ सब उल्टो-उल्टो भइराखेको थियो । राति सायद साढे एघार र बाह्रको बीचमा मैले उसलाई मेसेन्जरमा विस गरेँ । पाँच-दश मिनेटसम्म उसको रिप्लाई आएन तर ऊ अनलाइन नै थिइ । जब केही रिप्लाई आएन तब 11:55 मा उसलाई अर्को एउटा मेसेज पठाएँ,”सायद म तिमीलाई विस गर्ने पहिलो हुन सकेन होला तर आइ एम स्योर अन्तिम विस गर्ने म नै हुँ । सो ह्याप्पी बर्थ-डे” अनि दुइवटा मुस्कुराएको इमोजी नि थपिदिएँ ।
पाँच मिनेट पछि उसले रिप्लाई गर्छे,”थ्याङ्क यू । तपाईँ अरूभन्दा साँच्चै अलग हुनुहुन्छ।“
तपाईँ भनेपछि कस्तो दाई वाला फिलिङ्ग आइरहेको थियो । हो! म उभन्दा एक ब्याच सिनियर थिएँ र सायद गालामा झ्याप्प पालेको दारीले गर्दा उसले दाई भन्नु कुनै अस्वाभाविक कुरा थिएन । अरूले पनि भन्ने गर्थेँ तर उसको मुखबाट मैले तपाईँ शब्द खासै राम्रो लागेको थिएन । सत्य भन्नुपर्दा फिटिक्कै राम्रो लागेको थिएन ।
उसलाई पुनः मेसज गरेँ,” तिमीले मलाई तपाईँ नभनेर तिमी भन न ! “
त्यसपछि उसँग फेरि उही पहिलेजस्तै कुरा हुन थाल्यो । अब त सायद ऊ पनि अलि फ्र्याङ्क भइसकेकी थिई । एस्.ई.ई. इक्जाम पनि आइसकेको थियो । तर मलाई उसँग कुरा नगरेर दिन बिताउनै गार्हो हुन्थ्यो ।
जसरी पानी बाहिर माछा छट्पटिन्छ , ऊ बिना म छट्पटिन्थे । मैले कहिल्यै सोचेको पनि थिएन कि मलाई कहिले यस्तो लेभलको माया नि हुन्छ होला भनेर । मलाई आफ्नो इक्जामको कुनै चिन्ता थिएन तर उसको पनि पी.एल्.ई इक्जाम थियो । उसको लागि भएपनि त्यो आठ दिन आफ्नो रियल आइडी चलाएन । सायद उसले पनि चलाएनी होली । चैत्र 11 मेरो एस्.इ.इ परिक्षा सकियो र त्यसको केही दिनपछि उसको परिक्षा पनि सकियो । अनि ऊ अन आई । मरेको म फेरि जिउँदो भएको जस्तो अनुभूति भयो ।
उसँग अब त धेरै फ्र्याङ्कली कुरा हुन सुरू भइसकेको थियो । इक्जाम पछिको च्याटमा हरेक घण्टा उसँग उसको नम्बर माग्थे तर हरेक चोटि उसले यति मजाले नाईँ भन्थी । उसको “नाईँ नाईँ” भन्ने मेसेज देखेर त म उसमा अझै धेरै फिदा भइरहेको थिएँ । सायद चैत्र सकिन एक-दुई दिन थियो होला , उसले आफ्नो नम्बर दिई । त्यो दिन सूर्य उदाउन त पूर्व बाट नै उदाएको थियो तर अस्ताउन पनि पूर्वमै अस्तायो होला । किनकी उसले मलाई आफ्नो नम्बर दिएकी थिई । अरूले जे बुझुन् तर मेरो लागि यो मेरो वन साइडेड लभ बाट हाम्रो टू साइडेड लभमा परिवर्तन हुन लागेको सङ्केत थियो । तर अझै उसको तर्फबाट मञ्जुरी पाइएको थिएन ।
म त्यतिबेला ब्रिज कोर्षको लागि काठमाडौँ आएको थिएँ । आल्फाबिटामा ब्रीज कोर्ष गरिरहेको थिएँ । सवा दुई महिना जति बिदा थियो । आफैसँग वचन गरेँ , एस्.ई.ई. को रिजल्ट नआउँदासम्म पट्टिए ठिकै छ नत्र त्यसपछि त पढाईमा नै कन्सन्ट्रेट गर्नेछु । त्यतिबेला हाम्रो दिनमा मात्रै नभएर रातमा पनि कुरा हुन लागेको थियो । कहिलेकाहीँ त दिन रातमा र त्यो रात अर्को बिहानीमा चेञ्जहुँदा सम्म पनि हामी च्याट र कल गरिरहन्थ्यौँ । हाम्रो च्याटको एउटा नियम थियो । जति अप्ठ्यारो परिस्थिति भए पनि एक दिन पनि हामी एक अर्काको च्याट हेड खाली नहोस् । बरू दिनको एउटा मेसेज नै किन नहोस् तर मेसेजचाहिँ गर्नुपर्यो ।
देशमा चुनाबी माहोल थियो । एक हप्ता बिदा थियो । घर जाने निधो गरेँ र गएँ पनि । घर पुग्नासाथ उसलाई मेसेज गरेँ, “ भेटुम् न!” उसले त्यही पुरानो दुई चोटि नाईँ भन्ने स्टाइलमा दुई-तीन चोटि नै अस्वीकार गरासकेकी थिई । सायद बीस-तीस चोटि होला!
तर यो चोटि फेरि सूर्यको पोजिसनमा गडबड भयो । उसले हुन्छ भनी । सायद उसलाई पनि मलाई भेट्ने मन थियो कि । तर मैले चाहिँ उसलाई भेट्न पाउनलागेको थिएँ र मेरो मुटुले सायद ठाउँ छोडिसकेको थियो ।
अन्ततः आयो त्यो हेट्ने दिन पनि । सुरूमा दुबै चुपचाप । पाँच मिनेट पछि म बोल्न सुरू गरेँ । के बोले बोले त्यो नि थाहा छैन । उसको रिप्लाई पनि त्यति धेरै हुन्थेन । मलाई भोक लागाको थियो । उसलाई केही नास्ता खान जाऊँ भने र उसले पनि सहमति जनाई । आफ्नो त फेभरेट नै चाउमिन , चाउमिन बाहेक अरू खानै मन लागेन र दुई प्लेट चाउमिन मगाए । एकछिन फेरि उही नानाथरिका मेरा गफ सुरू भए । उसलाई मेरो कुरा देखेर पागल नै रै’छ जस्तो लाग्यो होला । चाउमिन आयो । र हामीले खान सुरू गर्यौँ । त्यो लञ्च मेरो आजसम्मको स्पेशल लञ्च थियो । उसँग पहिलो पटक डेटमा आएर होइन । यो लञ्च मेरो लागि यसकारणले स्पेसल थियो कि आजसम्म म बाहिर मम्मी,दिदी र अरू नातेदार बाहेक कोही केटीसँग यसरी आएको थिएन । चाउमिन पिरो थियो तर ऊ आफू नजिक भएको अनुभूतिले जीवन मिठासपूर्ण भएको थियो ।
मलाई अलिकति भएपनि आश थियो कि यो भेटले उसको मनमा मेरो लागि केही माया प्रस्फुटित हुन्छ कि भन्नेए । हाम्रो कुरा केही अघि बढ्छ कि भन्ने । तर………………..
सबै कुरा उल्टिने सङ्केत देखिन थाल्यो । त्यो भेट पछि उसँग हुने कुरा पातलिँदै गयो । नम्बर नि स्वीच अफ को स्वीच अफ । सायद उसलाई म मा इन्ट्रेस्ट लाग्न छाड्यो होला । सायद उसले सोचेको जस्तो म रियालीटी मा त्यस्तो थिएन होला । सायद उसलाई चाहिएको कुरा मैले दिन सकिन होला । सायद फेसबुकमा जुन रुपमा उसको सामु प्रस्तुत हुन्थे , त्यो रूपमा रियालीटिमा प्रस्तुत हुन सकिन होला । सत्यता उसैले जानेकी छे । तर म यही सायदै सायद को घेरामा अल्झिरहेको थिएँ ।
सायद ऊ अलिअलि भुलक्कड भएकी थिई । म काठमाडोँ फेरि फर्किँदा सेफ जर्नी भन्न बिर्सी । उसले नभनेर म त्रिशुलीमा डुबेर मर्ने त थिएन तर त्यहीपनि मलाई आश थियो । तर आफूले सोचेको सबै कुरा हुनुपर्छ भन्ने पनि त छैन नि ! साँच्चै नै ऊ भुलक्कड भएकी थिई । दुई-तीन हप्तासम्म मेरो मेसेजको रिप्लाई गर्न भुल्थी । तर म चाहिँ उसको रिप्लाई को वेट गर्न कहिले पनि भुल्न सकेन । सायद भुल्न सक्ने क्षमता भएको भए यति पिडा हुन्थेन होला ।
कोही माया सफल नभएर पागल हुन्छन् । तर आफ्नो त मायाको टुसा नि पलाएको थिएन । त्यहीपनि पागल जस्तो भएको थिए । साउथ मुभी बाट इन्सपाइर भएर हात नकाटेको पनि होइन । मम्मीले हेर्ने सिरियलबाट इन्सपाइर भएर मोबाइल नफुटालेको पनि होइन । भित्तामा टाउको पनि फुटालियो । यही क्रममा अलिअलि नशा जल्न पनि सिकियो । अब चाहिँ दारी बढाएर पशुपति जाने स्थितिमि पुगिसकेको थिएँ ।
एस्.ई.ई. को रिजल्ट आयो । 3.8 जी.पी.ए आएको थियो । सबै खुशी थिएँ तर म थिएन । जोसँग म यो खुशी सेलिब्रेट गर्न चाहन्थे , ऊ त कता हराइसकेकी थिई । तर मेरो मनमस्तिष्कबाट हराउनै सकिएन । मैले गरेको वचन अनुसार अब पढाइमा ध्यान दिने भनेको त्यो पनि भएन । झुक्किएर होला के.एम्.सी. मा शतप्रतिशत स्कोलरसीपमा नाम निस्कियो । तर उनको लागि माया मेरो मुटुबाट निस्कन सकेन । दुई महिना भनेको वचन करिब तीन महिना बितिसक्न लागे पनि उसलाई भुल्न सकिएन । मेरो मुटु कब्जा जो गरिसकेकी थिई । पढाइ त खाडलमा गइसक्याथ्यो । अनि मेरो जीवन पनि ।
तर एउटा चाहना बाँकी थियो । उसले मलाई माया गरोस् या नगरोस् तर एकचोटि औसवाई भन्पेछौ कति खास छे ऊ मेरो लागि भनेर । कलेजमा भर्न गरिसकेपछि एक हप्ता बिदामा घर आए । मेरो हालत देखेर बाबा अचम्म पर्नुभयो भने मम्मीको आँशु झर्न सकेन । कोठामा पुगेर मलाई टाउको देखि खुट्टा सम्म हेर्नुभयो र सुँक्क सुँक्क गर्दै कोठा बाहिर जानुभयो । सायद त्यो दिन मलाई बरू लट्ठी वा अरू कुनै चीजले हानेको भए दुख्दैनथ्यो होला तर मम्मीको त्यो व्यवहारले मलाई भित्रै सम्म दुखायो । मैले आफैलाई नियालेँ । आफैँप्रति घृणा जागेर आयो । अगाडि चक्कू थिएन नत्र फेरि हात काटेर जीवन त्याग्ने दुष्प्रयास गर्थे होला । आखिर त्यो बाहेक के नै गर्न सक्थे र !
यही बिदामा उसले हाई भनेर मेसेज गरी । मैले फर्मल हेलो पनि नभनी सिधा उसँग हामी पुनः एकपटक भेट्न सक्छौँ भनेर सोधेँ र उसले मञ्जुरी जनाई । मलाई ऊ पाउने आश नि बाँकी थिएन । त्यसैले यसपटक उसलाई सबै कुरा भनेँ । केही नछोडी सबै कुरा भनेँ । यो सम्म भनेँ कि उसँग बाटो क्रश गर्दा धेरै गाडी भएको साइडमा उभिन मन लाग्छ ।
जो मान्छेले Dates घोक्न नसकेर सोसलको 9 नम्बरको प्रश्न छोडेर आउँछ , आज त्यो मान्छेले तिमीसँग बिताएको हरेक पलको हिसाब दिन सक्ने भएको छ । र जब उसको फोटो देख्छु नि आफ्नो नाम नि भुल्छु । मलाई थाहा छैन उसले मलाई माया गर्छे या नाईँ तर म यही पलमा रमाउन चाहन्छु । उसको मञ्जुरीमा नि रमाउन चाहन्छु , उसको अस्वीकार मा नि रमाउन चाहन्छु । उसको hihi वर्डमा म आफ्नो सबै पिडा भुलाउन चाहन्छु । उसको आँखामा डुब्न चाहन्छु । उसले मलाई राम्रो मानोस् वा नमानोस् म उसैमा हराउन चाहन्छु । फर्किँदा उसलाई उसको घरसम्म छोड्न जान सक्दिन किनभने त्यहाँबाट एक्लै आउने म मा हिम्मत थिएन । मलाई कुनै फिजिक्स पढ्नु छैन जहाँ आँखाको मेकानिजम त पढिन्छ तर त्यो आँखाभित्र लुकेको कुरा पढ्न सकिँदैन । मलाई त्यो केमिस्ट्री नि पढ्नु छैन जहाँ दिमाग र मुटुको रियाक्सन पढाइदैन । मलाई त्यो मिनिङ्स इन्टु ओड्स नि पढ्नुछैन किनभने मायामा मानिस वड्स विहिन हुन्छ (मौन) जसले थुप्रै मिनिङ्ग दिइराखेको हुन्छ र कसैको जीवन मिनिङ लेस भैराखेको हुन्छ । मलाई त्यो गणित नि पढ्नु छैन जहाँ जिन्दगीको भ्यालु नबुझेको म जस्तो मान्छेलाई साइन र कसको भ्यालु घोकाइन्छ । मलाई केवल माया पढ्नु छ , माया बुझ्नु छ ।
यति भनिसकेपछि उसको मुहारको एक्सप्रेसन चेञ्ज भइसकेको थियो । पाँच मिनेट दुबै मौन रह्यौ । र हिँडिरह्यौ । अलि पर पुगेपछि उसलाई रोकेर उसको आँखा मा आँखा जुधाएर भनेँ,” आई लाइक यू बट आई डन्ट वान्ट टू लभ यू” । के भने मैले नि बुझेन । यो मेरो प्लानमा थिएन । यदि उसले मलाई माया गर्दैनी भने उसको यादमा म आफ्नो शरीर किन बिगार्नू । अब म उसलाई माया गरेर त्यो केटीलाई धोका दिन सक्दिन जो मेरो लागि बनेकी छे ।
ऊ र म छुट्टिने ठाउँ आइसकेको थियो । मेरो र उसको हात जोडिएको थियो । सायद उसले त्यहाँबाट त्यो हात निकाल्न खोजेकी थिइन तर मैले हात छोडेँ । उसले पनि त मेरो साथ छोडेकी थिई । ऊ आँखाले देखुञ्जेलसम्म हेरिरहेँ । अब ऊ मेरो नजरबाट ओझेल भैसकेकी थिई र सायद मेरो जीवनबाट पनि ।
त्यसपछि न च्याट न कल नत भेट नै ।
श्रावण 14 मा मेरो बर्थ-डे आउँछ । मलाई आश पनि थिएन कि उसले विस गर्छे भनेर । तर 11:55 मा उसले मेसेज गर्दै भन्छे,” सायद म तिमीलाई विस गर्ने पहिलो हुन सकेन होला तर आइ एम स्योर अन्तिम विस गर्ने म नै हुँ । सो ह्याप्पी बर्थ-डे” अनि दुइवटा मुस्कुराएको इमोजी नि थपिदिई । मैले थ्याङ्क यू भने र उसलाइ सोधेँ,”केए हामी दशैँको बिदाम् भेट्न सक्छौँ?” उसले एकपटक नाई भन्ने मेसेज पठाई अनि मेरो लागि अफलाइन भैदिई ।
नाईँ । अहँ! मैले यो कथा यसरी अन्त्य होस् भन्ने कहिल्यै सोचेको थिएन । दशैँको बिदामा म घर आएँ । एउटा कार्ड किनेँ र लेखेँ,” यदि कुनै कथाको अन्त्य ह्याप्पी छैन भने त्यो कथा लेख्नु नै किन? हामीबीच केही थिएन र छैन पनि । सबै कुरा तिमीले त सम्झेकी छैनौ होला । यदि सम्झेकी छौ भने बिर्सिनु र म पनि बिर्सिने ट्राई गर्छु । अब फेरि जिन्दगीले हाम्रो कुनै कथा लेख्न खोजेको छ भने त्यो कथाको पात्र बिल्कुल नयाँ हुनेछ हामी एक अर्काको लागि । जति जे भए पनि तिम्रो लागि मेरो मुटुमा त्यो स्थान खालि नै रहनेछ जो अब पुनः भरिने चान्स छैन । Be happy
यो कार्ड उसको साथीलाई दिएँ । सायद उसले पाई होली र हेरी पनि होली । दशैँमा टिका लाएर रङ्गीन भएको अरूको अनुहार । मेरो चाहिँ टिका लगए पनि रङ्ग उडेको रङ्गहीन अनुहार थियो । केही दिनपछि म काठमाडौँ फर्किन लागेँ । बसपार्कमा थिएँ र म अलि छिटो आएको थिएँ । सायद मलाई त्यो सहर छोड्न हतार भएको थियो होला । तर म खुशी भएँ । बसपार्कमा वाई-फाई थियो । पासवर्ड सोधेर कनेक्ट गराएँ । सायद उसले थाहा पाई होली म जान लागेको । त्यसैले उसको अनुहारको च्याट हेड अगाडि आयो जसमा लेखिएको थियो सेफ जर्नी । त्यो च्याट हेडको फोटोसँग पुनः लभ पर्ला जस्तो भयो ।आखिर त्यति राम्रो जो थियो अनि मेन्ली मेरो फेभरेट थियो । तर मैले रिप्लाई गरिन । किनभने मलाई थाहा थियो म गइरहेको छु । केवल दाङ्ग बाट मात्रै नभएर उसको दिलबाट पनि । उसको फोटो हेरेँ । मुस्कुराएँ ।च्याट हेड खोलेँ । राईट कर्नर को मा क्लिक गरेँ । अनि Block अप्सनमा क्लिक गरेर काठमाडौँको लागि बसमा चढेँ ।
नयाँ नितेश बनेर ।