Cyber Love – Love Story After SLC

0
1706

मौसमविदहरु भन्दै थिए यो बर्ष ८ बर्षयता कै बढी चिसो भयो रे। हुनपनि हो येस्तो चिसो ३ ४ बर्षयता अनुभव भएको थिएन । आज कता कता एक अतीतको याद आयो जस्ले पिडा कहिले दिएन , साथ भैन्जेल सधै अबिस्मरणिय खुशी दियो। प्रत्येक शिशिरको मध्याअबधिमा उस्को यादहरु ताजा हुन्छन्।
अनेकौं घुम्तीमा रुमलिदै पुगिन्छ गन्तव्यमा। काठमाडौंको बसाइ अनि कलेजको पढाई,काठमाडौं छिरेको १ बर्ष हुँदै थियो। ११को सुरुवात मन चन्चल हुने समय,साथीहरु बिच गर्लफ्रेन्ड बनाउने होडबाजी थियो। एस.एल.सि पछि त खोलेको हो फेस्बुक,दिनहुँजसो धाइने किर्तिपुरको साइबर । शिशिर रितु को मध्याअबधि अझ काठमाडौं को त्यो जाडो । शनिबारको दिन थियो घाम ताप्ने निउमा बसेको थिएं म त्यै साइबर अगाडि । मध्यान्हको समय , एउटा चन्चले केटी तर राम्री, लाग्दथ्यो कुनै कमि छैन उस्को शारीरिक बनावटमा , आएर १ घन्टा साइबरमा बस्ने अनुमती मागिन्।उनिहरु दुई जना थिए।अन्कलको साइबर भएको हुनाले शनिबार प्राय म नै हुन्थे साइबर हेर्न।त्यो एक घन्टा उस्लाइ लुकि लुकि हेरेरनै बित्यो। उसलाई हेर्नको लागि १० मिनेट बढी छुट दिएं। समय सकिए पछि उनीहरु साइबर बाट निस्किए । मलाई उस्को नाम थाहा पाउनु थियो , अझ फस्बुक नेम । कम्प्युटरमा लगआउट भएपनि इमेल सेभ हुन्थ्यो । म उस्ले चलाएको कम्प्युटरमा गएं, धड्कन तेज हुँदै थियो लाग्दथ्यो म कुनै चोरी गर्दै छु। khadkagirl230@email.com ईमेल थियो , मैले फेस्बुकमा खोजें, एउटा प्रोफाइल खुल्यो। बर्षा खड्का नाम, सेतो टिसर्टमा ब्ल्याक जिन्स लगाएको फोटो प्रोफाइल पिक्चर रहेछ। रिकोएस्ट पठाइहालें। त्यो दिन अलि फरक उमंग थियो एसेप्ट हुन के गर्छ? त्यो दिन येसै बित्यो। बेलुका भोलिपल्ट सम्म एसेप्ट भएन तर आशा जीवितै थियो। सायद घरमा नेट छैन होला र मोबाईलमा खासै राम्रो चल्नेथिएन। अर्को दिन सार्बजनिक बिदा थियो , म नै थिएं साइबरमा । पर्खिरहें आउन्छे कि भनेर , हिजो कै समयमा टाढैबाट दुइजना आइरहेको देखें। समय लागेन चिनिहालें, बर्षा र उस्कि साथी।अब पर्खनु थियो साइबर मा आउछन् कि नाइ । म साइबर को ढोकामै थिएं , उनिहरु आए मैले बाटो छोड्दिएं र भनि “दाइ २ घन्टा है। ” बोलीमा चन्चलता छरपस्ट थियो।मन खिन्न भयो दाइ तर यो शब्द पक्कै पनि सम्मानले दिएको शब्द हो । खिन्नतालाइ आशामा परिणत गर्दै अब कुर्नु थियो रिकोएस्ट एसेप्ट हुन के गर्छ? मैले पनि काउन्टरको कम्प्युटरमा लगइन गरें । सायद उस्ले फेस्बुक खोल्ना साथ फ्रेन्ड रिकोएस्ट हेरिछ। “यो अनुप पौडेल भन्ने को हो?” उस्ले साथिलाइ सोधी।उस्लाइ मेरो नाम थाहा थिएन र संका थियो के गर्छे भनेर । एकछिन मा मेरो वालमा नोटिफिकेसनको आइकनमा रातो बल्यो।थिचें ” बर्षा खड्का एसेप्ट योर फ्रेन्ड रिकोएस्ट “। मनले त नाच् भन्दै थियो तर उ मेरै अगाडि थि।


पहिलो सम्बाद “हेल्लो” बाट सुरु भयो। एकछिन मा नै रिप्लाई आयो। कुराकानी बढ्दै गयो। भर्खर ९ मा पढ्दिरहिछ। रिप्लाई हेर्दा लाग्दथ्यो भर्खर भर्खर फेस्बुक चलाउन सिक्दै छ। म तेहि उस्को अगाडि बसेर उस्को तारिफ गर्थें तर उस्ले चिनेकी थिइन । उ संग च्याट गर्दैगर्दा २ घन्टा बितेको पत्तै भएन । आज पनि उस्लाइ १५ मिनेट छुट दिएं , उस्लाइ हेर्न जो पाइन्थ्यो । यसरी नै दिन बिते, बिदा को दिन प्राय देखिन थाली तर म अजनबी भएर नै च्याट गरिराखें। “तिमि आज यो ड्रेसमा स्वर्ग कि परी जस्तै देखिएकी छौ।” मैले भनेको थिएं एकदिन च्याटमा।
“हाहा” उस्ले भनेकी थि,” देखे जस्तो के अब ”
“मेरो शरीर तिमी बाट टाढा भएनी मन तिम्रै वरिपरि छ ।” मैले डराइ डराइ लेखेको थिएं।
उस्ले “एस्सै के” भनेर टारिदिएकी थिइ।
मलाई अब कुरा अगाडी बढाउन चोर पुलिसको खेल खेलेर मात्र हुनेथिएन,म उस्को सामु आउनु पर्थ्यो। मैले उपयुक्त मौका खोजिरहेको थिएं उस्को सामु आउनलाई। मैले उसको छेउकै कम्प्युटरबाट च्याट गर्थें , फ्लर्ट गर्थे।तर त्येती नजिक बाट कुरा गर्दा नि चिन्न सकिन उस्ले । ” किन हासेको तिमि भर्खर ” भन्दा उठेर हेरेकी थिइ तर त्येइ नजिक पनि थाहा पाउन सकिन। म उस्को सामु आउन आतुर पनि थिएं तर लुकाछिपीमा पनि अपार आनन्द थियो।

एकदिन जसरी नि म उस्को सामु आउने निस्चय गरें। बिदाको दिन पक्कै उ आउथी उस्ले चलाउने कम्प्युटर सधैं एउटै हुन्थ्यो । उसलाई अलि पर आइरहेको देखेपछि मैले त्यो कम्प्युटरमा आफ्नो आइडि लगइन गरि छोडिदिएं। सधैं जसो उ आइ र त्येही कम्प्युटरमा बसि फेस्बूक खोली र एक्छिन पछि म त्यहाँ पुगें ।
“सरि ल मेरो फेस्बुक लगइन रहेछ , लगआउट गर्छु,” मैले भनें ।
“हजुर पो होइसिन्थ्यो?”
उस्ले चिनिसकिछ , म भित्र मनमनै खुशी भएनी उस्को सामु लाज लागिरहेको थियो । त्यो दिन उह संगै कुरा गरें, छुट्टै खुशी थियो । उस्ले जिस्काइरहेकी थिइ ” म स्वर्ग कि परि ” मेरो मन तिम्रै वरिपरि छ । म लाजले रातो पिरो भएको थिएं । उ संगको पहिलो भेट सम्झदा अझै पनि रमाइलो लाग्छ।
तेस्पछीका दिनहरुमा साइबर मा भेट हुन्थ्यो ।संगै बस्ने कुरा गर्ने हुन्थ्यो। उस्को” आइस्यो” “गैस्यो “भन्ने भाषाले म दिन प्रतिदिन आकर्षित हुँदै गैरहेको थिएं । बिस्तारै माया पिरतीका कुरा हुन थाले।नम्बर साटासाट भयो तर उ घर बाहिर निस्कदा मात्र हाम्रो कुरा हुन्थ्यो। शनिबार प्राय साइबर आउथी कोइ नभएको मौकामा घन्टौ सम्म कुरा हुन्थ्यो ।एक्दिन संगै बस्दा अन्कलले पक्रदा कम्प्युटर बिग्रेको नाटक पार्नु परेको थियो ।उसलाई सधै भेट्दा डेरि मिल्क खुवाउनु पर्थ्यो ,उ पनि अनेक चकलेट लिएर आउथी संगै खान्थेउं । लाग्दथ्यो हामी भन्दा खुशी कुनै जोडि छैन। आइडी साटासाट त भएन तर संगै साइबरमा बस्दा मेरो आइडी उस्ले चलाउथी , म्यासेज पनि गर्थी । मैले पनि उस्को चलाउथें तर ब्यक्तिगत म्यासेज भने हेर्न अफ्ट्यारो लाग्थ्यो। एक हप्ता पनि एक शताब्दी लाग्दथ्यो। हाम्रो भेट प्राय साइबरमा , बिदाको दिन मा मात्र हुन्थ्यो। साइबरको चार कोठा भित्र मैले हाम्रो सुन्दर सन्सार देखेको थिएं। बिदाको दिनमा कहिलेकाही अन्कल नै काउन्टरमा बस्दा नचिने जसरी दुई कम्प्युटरबाट च्याट गर्थ्यौं हामी । त्यो पल साच्चिनै रमाइलो हुन्थ्यो ,जब उस्ले कम्प्युटरमा केहि बिग्रेको बाहानामा मलाई उस्को समिपमा ल्याउन चाहान्थी ।
“हामि कतै बाहिर घुम्न जाउं न हजुरले समय मिलाइसियो” एक्दिन उस्ले फोनमा भनी।
हामी नजिकैको गुम्बामा गयौं।अझ सम्म माया औपचारिक रुपमा शब्दमा व्यक्त भएको थिएन केबल दुई जनाको आपसी सहयोग र निष्ठाले प्रेम दर्शाइरहेको थियो। भनिन्छ” शब्दमा व्यक्त गरेको मायामा अनेक स्वार्थ हुन्छ । आफ्नो निस्चल र निस्वार्थ व्यबहार बाट माया को अनुभुती गराउन सक्नुनै सच्चा प्रेम हो ।”
यसरी नै समय बित्दै गयो। कति छिट्टै उ एस.एल.सि दिने भैछ र मेरो १२को परिक्षा नजिकिदै थियो । हाम्रो भेट धेरै नै पातलियो, परिक्षा सकियो उस्को। उ त पिंजडा बाट मुक्त गौथली जस्तै भएकि थिइ। मेरो परिक्षा सकिन्जेल सम्म उस्ले धेरै नै मेरो अभाव महशुस गरी।
“थाहा छ म हजुर को परिक्षा छ भन्ने थाहा भै भै पनि हजुर लाई देख्छु कि भनेर साइबर मा आउने गर्थें र नदेख्दा खिन्न हुँदै आधा घन्टा मै जान्थें।” उस्ले पहिलो भेटमै भावुक आवाज मा भनेकी थिइ।
सायद यस्लाइ नै साचो माया भन्दो रहेछ । असम्भब कुरा मा सम्भावना खोज्न सायद प्रेम ले नै सिकाउंछ।
लाग्दैन थियो हामी अब कहिलेइ एक अर्काबाट टाढा हुने छौं । एस.एल.सि को नतिजा आयो ,राम्रो प्रतिशतमा उतिर्ण भइ । उ खुशी थिइ त्यो भन्दा बढि खुशी सायद म थिएं होला। ११ पढ्न थाली , म पनि स्नातक पढ्न तयारी गर्दै थिएं। समय बित्यो कति छिटै हाम्रो सम्बन्ध ले दोश्रो बसन्त पार गरिसकेछ। हाम्रो सम्बन्ध साइबर को चार भित्ता बाट फेस्बुक को भित्तामा पनि देखियो।

म कृषिमा स्नातक प्रवेश परिक्षा दिन चितवन हिड्दा उस्का रसाइरहेका आंखा ले पनि सफलता को शुभकामना दिइरहेको थियो । उसलाई के थाहा येहि सफलता हाम्रो सम्बन्धमा बाधक बन्छ भनेर ।
म प्रवेश परिक्षामा उतिर्ण भएं तर यो सफलता मा साथ दिने उस्को कमि थियो । मैले उस्लाइ सुनाउदा उस्ले अल्मलिएको आवाजमा बधाई दिई। जीवनमा पहिलो पटक आफ्नो सफलतामा खुशी हुन सकेको थिएन । म जतिसक्दो छिटो काठमाडौं गएं तर त्यसपछिका भेटमा प्रत्येक पल्ट बिछोड को अनुभव हुन्थ्यो । म चितवन आएं ,सायद समयले दुबै को एउटै गन्तव्य लाई फरक पार्दिसकेको रहेछ । पिडा त थियो तर मलाई पष्चाताप थियोे कि मैले उसलाई जीवन भर साथ दिन सकिन । संगै बसेको जस्तो हुदैन रहेछ सम्बन्ध , निस्वार्थ प्रेममा पनि शंका ,उपशंका उब्जिन थाले। मैले सहमति मै टाढिने निधो गरें। मैले प्रेम गर्थे, त्येसैले उस्को खुशी को निम्ति उसलाई म बाट टाढा हुन दिएं।
उ हासिरहेकि थिइ , रमाइरहेकी थिइ , हातमा गुलाफको फुल थियो ।भन्दै थिइ” अनुप आइ लब यु ” म जान चाहन्थे उस्को समीपमा, खुट्टाहरु डेक चल्न सकेनन् , मेरो मुख बाट बोली निस्किएन । म निसाशिए र म उ सामु नपुग्दै निन्द्रा बाट बिउझिएं। मोबाइल हेरें बिहान को ३ बजेको रहेछ । आज धेरै पछि उस्लाइ सपनामा देखें सायद उसलाई पनि मेरो याद आइरहन्छ होला। आज किन किन उसको तस्बिर हेर्न मन लाग्यो । फेस्बुक को सर्च आइकनमा एक पश्चात् अर्को उस्को नाम का अक्षर हरु दौडिए । उस्ले सायद फेस्बुक डियाक्टिभेट गरिछ, उस्को प्रोफाइल भेटिएन। बाहिर जाडो थियो ,मनमनै उसलाई सम्झिये र मनमनै भने ” आइ लभ यु टु बर्षा “।

लेखक: अनुप पौडेल ( एक प्रेमी )

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here