Cruel Mother | A Real And Sad Story

0
1332

यो एक प्रेम कथा त होइन तर एक आमाकि कथा हो ।ती निर्दयि आमा जसको कोखबाट मैले अन्जानमा जन्म लिएको थिए।सायद जन्म नै नदिएको भए आज यसरी उनको बारेमा लेख्नु पर्ने थिएन होला । आमा शब्द आफैमा कति प्यारो हुन्छ।कति माया लाग्दो हुन्छ।कति भाग्यमानी हुन्छन् ती सन्तान जसले जिवनभर आफ्नि आमाको माया पाएर उनकै आचलमा आफ्नो जिन्दगि बिताउन पाउँछन्।डाह लाग्छ ती साथिहरुलाइ देख्दा जसको आमा संगि सरह हुनु हुन्छ।डाह लाग्छ तिनिहरुलाइ देख्दा जसले आफ्नि आमाको काखमा सारा आँसु पुछ्न पाएका हुन्छन्,आमाको मायामा लुटपुटिएर उहाको आशिर्वादमा सारा दुख भुलाइ हासेर हिडिरहेका हुन्छन् र यता म छु जसलाई आफ्नि आमाको पूरा अनुहार पनि राम्रोसँग याद छैन या भनुम् याद गर्न पनि चाहन्न।

2056 सालमा 9 महिना आफ्नो कोखमा राखेर प्रसव वेदना सहेर जन्म दिनु भएको थियो मलाई मेरि आमाले घरकि जेठि छोरिको रुपमा।कति खुशि हुनु हुन्थ्यो रे सबै जना मेरो जन्म हुदा।मेरो बुवा घरको कान्छो छोरा अनि म कान्छो छोराको पहिलो सन्तान।जन्म हुनि बित्तिकै आफन्तहरु कसैलाई नछुटाइ सबैलाई एक-एक खबर गरिएको थियो रे छोरी जन्मि भन्ने खुशियालिमा।नेपाली समाजमा प्रायः त छोरालाई बढि महत्त्व दिइन्छ तर मेरो परिवारमा त्यस्तो माहोल थिएन।छोराछोरी दुवैलाई बराबर नै महत्त्व दिइन्थ्यो।गाउ भरि मिठाइँ पनि बाडियो भन्नू भएको थियो बाबाले।जन्म भएको दिनदेखि छैटौं दिनसम्म खुब स्याहार गरियो अनि माया पनि बच्चा आमा दुवैको।मलाई लिगेर मेरा आमाबुवा दुवैले खुब सपना पनि सजाउन थालिसक्नु भएको रहेछ।हाम्रि छोरिलाइ यस्तो बनाउने,उस्तो बनाउने।दैवले पनि हाम्रि छोरिको भाग्यमा ठुलो कुरा लेखिदिउन,सफलताको राम्रो बाटो लेखिदिउन भनेर छैटौं दिनको रात सिरानि मुनि कपि-कलम पनि राखिदिनु भयो।त्यतिबेला भाविले राम्रो कुरा लेख्यो कि लेखेन या त लेख्दा-लेख्दै भुल्यो होला ,त्यसैले त आज यस्तो दिनहरु भोग्दै छु।

सायद लेख्दा-लेख्दै भुलेको हुनु पर्छ कि यो विचरिको उमेर सानो छ यति सानो उमेरमा यसले यति सङ्घर्ष गर्न सक्दिन।खै के सोचेर लेख्यो तर लेख्न चाहिँ पक्कै नराम्रो लेख्यो।एघारौं दिनको दिन घरमा पण्डित बोलाएर न्वारन पनि गरियो नाम पनि राखियो।म 3 वर्षको हुदा मेरो बुवा चितवन आउनु भएको थियो तिजको बेला आफ्नि दिदिलाइ (मेरि फूपू) लिन।तिज मनाएर फेरि दिदिलाइ फेरि चितवन पुगाउन आउनु हुदा चितवनको व्यापारिक अवस्था बुझ्नु भएको रहेछ।उहाको चित्त बुझ्दो ठाउँ भएर म 3 वर्षको हुदा आफ्नो परिवार मतलब हामि सबैलाई लिएर चितवन आउनु भयो हाम्रो उज्ज्वल भविष्यको कामना गर्दै ।चितवन आएपछि मेरो भाइको जन्म भयो र हामी 3 जनाबाट 4 जनामा परिवर्तन भएउ।दुई सन्तान इश्वारको वरदान भने जस्तै अब अरु सन्तानको आशा नगर्दै उहाहरुले परिवार नियोजनको स्थायी साधन उपयोग गर्नु भएछ।आज भन्दा 14 वर्ष अगाडिको पोखराको त्यो गाउबाट हामी चितवन आएका थिएउ आफ्नो भविष्य बनाउन,उचित शिक्षा पाउन या भौतिक आवश्यकता हरु सजिलै पूरा होस् भन्ने चाहनामा।

चितवनमा आफ्नो घर त थिएन ,भाडाको घरमा बस्नु पर्थ्यो।चितवन आएको 1वर्षपछि (म 4 वर्षको हुदा) मलाई सरकारि स्कुलमा भर्ना गरियो।सरकारि भएपनि चितवनमा त्यसबेला सो स्कुललाई 1 नम्बरमा गनिदो रहेछ (आदिकवि भानुभक्त माध्यमिक विध्धालय,त्यतिबेला माध्यमिक नै थियो।) 4 वर्षको भए पनि नर्सरिमा भर्ना गरिएको थियो तर 17 दिनमै मैले क-ज्ञ सम्म कण्ठ पारेको थिए रे।नर्सरिबाट 1 मा जादा पनि 1st भएको म।पढाइ त राम्रै भन्नू हुन्थ्यो ।पढाइ अनि मेरो मिहिनेत त्यहि दिनखेखि सुरु भयो ,पढाइ राम्रो भएको कारण हो या मेरो भाग्य ,मलाई एउटा संस्थाले नि:शुल्क पढाउनि भयो कक्षा 1-10 सम्म।अनि +2 पनि आफुले रोजेको विषयमा उनिहरुले नै पढाउने भए फ्रिमा।स्कुलको फिस मात्र नभै उनिहरुले कपि,कलम,ड्रेस,ब्याग (पढ्नका लागि चाहिने हरेक सामान) उनिहरुले नै दिने भए।चितवन आएपछि व्यापारिक पेसा अंगालेर जेनतेन आफ्नो परिवार पाल्नु भएको मेरो बुवाको काधबाट मेरो पढाइको जिम्मेवारी कम भयो।पढाइसँग सम्बन्धित सम्पुर्ण खर्च सोही संस्थाले गर्थ्यो।

पढाइ लगायत बिरामी हुदा बिरामि उपचार पनि उनिहरुले गर्थे।अन्तर्राष्ट्रिय संस्था थियो।म मात्र होइन मजस्ता 20 लाख भन्दा बढि नेपाली बालिकाहरुको शिक्षाको जिम्मा उनिहरुले लिगेका थिए।म पढ्नि स्कुलमा चाहि 30 जना थिए।गरिब तथा जेहेनदार विद्यार्थीलाई उनिहरुले यो अवसर दिन्थे।हाम्रो परिवार मध्यम वर्गको भएपनि मैले यो अवसर मेरो पढाइको कारण पाएको थिए।कक्षा 1,2,3 सबै कक्षामा म 1st नै हुन्थे।शहरको ठाउँ,4 जनाको परिवार ,बाबा एक जनाको कमाइमा हामी 4 जनाको ज्यान पाल्नु पर्थ्यो त्यो पनि भाडाको घरमा बसेर।सुरु-सुरुमा व्यापार राम्रै चलेपनि पछि-पछि सोचेको जस्तो नाफा हुन छोड्यो।मेरो पढाइको खर्च त लाग्थेन तर भाइ पनि थियो।हाम्रो आवश्यकताहरु पनि दिनदिनै बढ्दो थिए।पुर्खाको सम्पत्ति पनि त्यति थिएन।सानै उमेरबाट बाबाले धेरै दुख गर्नु भएको थियो र अहिले पनि आफू जतिनै दुख गरेपनि मेरो सन्तानले मेरो जस्तो दुख नभोगुन भन्नि चाहनु हुन्थ्यो र यहि चाहनामा आफू विदेशिने सोच बनाउनु भयो।

2063 मा बाबाको कतारको भिषा लाग्यो र जानू भयो उहाँ हामी 3 जनालाई नेपालमा छाडेर।त्यो समयमा अहिलेको जस्तो मोबाइल फोन सबैको हातमा हुन्थेन।कहिलेकाही पसलमा गएर टेलिफोनबाट कुरा हुन्थ्यो भने चिठि पनि पठाउनि गर्नु हुन्थ्यो कहिलेकाही।बाबा जादा लागेको खर्च त ठुलबाबाले गर्नु भएको थियो त्यसैले उहाको सल्लाह अनुसार पहिला ऋण नतिरि आफ्नो घर किनेउ फुपुको घर नजिकमा।भाडाको घरबाट हामी आफ्नो घरमा बस्न लागेउ र बिस्तारै-बिस्तारै यताउताको ऋण पनि तिर्न भनेर पैसा पठाउनु हुन्थ्यो।मलाई राम्रोसँग याद त छैन तर चिठिहरुमा हाम्रो यताको फोटोहरु पनि पठाउनु हुन्थ्यो रे ममिले।(यो सबै कुरा म ठुलो भए पछि भन्नू भएको थियो बाबाले) ।भनेनि सबै घटनाहरु त राम्रोसँग याद छैन तर घर किनेपछि त्योबेला बल्ल चलेको मोबाइल फोन (नोकियाको ) पनि पठाइदिनु भय बाबाले।उहालाई उता गार्‍हो त हुदो हो तर हाम्रो हरेक आवश्यकता भन्ने बित्तिकै पूरा गरिदिनु हुन्थ्यो।केही चिजको कमि थिएन हामीलाई।
तर दैवको खेल।

2065 सालको माघ महिनामा बाबा नेपाल फर्किनि भन्नू भएको थियो।घरमा म,भाइ अनि ममि थियौं। 2065 वैशाखको 13 गते घरमा एउटा नया मान्छे आएको थियो।केटा मान्छे थियो।हामी बच्चाहरुलाई को मान्छे हो ,किन आयो चासो हुन्थेन।स्कुल बिदा थियो त्यतिबेला,भाइ र म खेल्दै थियौ।त्यो मान्छेले हामीलाई खानिकुरा पनि कत्ति धेरै ल्याइ दिएको थियो।बच्चाको मन,खानेकुरा पाएपछि त्यसै रमाउछौ।साझ खानासाना खाइवरि भाइ र म छिट्टै सुतेउ।दिनभर खेलेको वैशाखको चर्को घाममा,थाकेको भएर होला छिट्टै निदाएछौ पनि।त्यसपछि के भयो थाहा भएन तर रातको करिब 11 बजे बाहिरबाट “ओए ढोका खोल” भनेर बेस्सरि आवाज आयो।टिनको ढोका त थियो,बिस्तारै हाने पनि ठुलो आवाज आउथ्यो।निन्द्रामा झस्किए।डर पनि लाग्यो। झ्यालबाट बाहिर हेर्दा कति धेरै मान्छेको हल्ला थियो।”ममि-ममि” भनेर आत्तिए,भाइ पनि उठ्यो।ममि अर्धनग्न अवस्थामा हुनु हुन्थ्यो।बाहिरबाट “ढोका खोल” भन्दै कति आइमाई र लोग्ने मान्छेको आवाज एकैचोटि मिसिएर आएको थियो।

यस्तो लाग्थ्यो पुरै समाज नै उठेर आएको जस्तो।म रुन लागे “ममि ढोका खोल्नु भन्दै “…तर खोल्न मान्नु भएन।म रोएको आवाज सुनेर होला “नानि डराइ नानि” भन्नि आवाज पनि आयो बाहिरबाट। “नानि खाटमुनि कोही छ,हेर त” भन्नि आवाज सुने र हेरे पनि।अघि दिउसो आएको मान्छे थियो खाटमुनि त्यो पनि अर्धनग्न अवस्था मै।चिच्याए म।”ढोका खोल्नु,ढोका खोल्नु” भन्दै।भाइ पनि मसँगै रुदै थियो।बाहिरबाट बेस्सरि धक्का परेपछि टिनको ढोका आफै खुल्यो।मेरो फूपू,फुपुको छोराछोरी लगायत पुरै समाज घरको आगनमा अनि मेरो ममि र त्यो मान्छे अर्धनग्न अवस्थामा।पुलिस पनि बोलाउनु भैसकेको रहेछ।11 बजिसकेको थियो तर मान्छेहरु 10 बजेबाट नै घरबाहिर आएर सबै चिहाउदै बसेका रहेछन्।आइमाई मान्छे अनि केटाकेटी मात्र भएको घरमा त्यो नचिनेको मान्छे किन आयो भनेर वरिपरि छिमेकि सबैले शंका गरेर हाम्रो फुपुलाइ खबर गरेर त्यसरि मान्छे जम्मा भएका रहेछन्।ढोका खोलेपछि केही मान्छेहरुले फोटो खिचे त कसैले भिडियो।पुलिस पनि आएको थियो ,त्यो मान्छे र मेरो ममिलाइ लैजान।म ममिको हात समातेर “ममि नजानु न,न जानु न हाम्लाइ छोडेर” भन्दै रोए तर अह सुनेनन् कसैले।लगे उहाहरुलाइ।मलाई र भाइलाई फुपुको घर लगियो राति 12 बजे।रातभर “ममि जानि” रोए तर रुदारुदै निदाएछु फुपुको काखमा।

भोेलिपल्ट बिहान,ठुलबाबा पनि आउनु भएछ पोखराबाट।हिजो राति खिचेको सबै फोटो अनि भिडियो उहालाई देखाएर मेरो बाबालाई पनि सबै खबर गरेछन्।फूपू,ठुलोबाबा अनि समाजका केही प्रतिष्ठित मान्छेहरु भएर पुलिस स्टेसन जान तयार भए म पनि रुदै जान्छु भने।मलाई र भाइलाई पनि लैजानु हुनि भयो।सबै जना भएर गएम।त्यहा पुगेर मलाई सिधै ममि भएको ठाउमा लगियो तर ममिले एकचोटी पनि हाम्रो मुखमा हेर्नू भएन।आमाको मन हो ,आफ्नो सन्तान प्रति माया लाग्नु पर्नि रगतको नाता,उसको प्रसव वेदना जोडिएको छ हामीसँग।

तर अह पापिनिको मनमा हाम्रो लागि माया थिएन।उसको त्यो व्यवहार देखेर त्यहाको मान्छेले थु:थु गर्न लागे तर अह एकचोटी हेरिन हाम्रो मुखमा।एकचोटी “नानि” भनेर बोलाएको भएपनि, सायद आमा हो,मनमा माया छ भन्नि हुन्थ्यो तर बोलाउनु त टाढाको कुरा हाम्रो मुखमा पनि हेरिन।त्यो केटा र उसलाई सँगै राखिएको थियो। ठुलोबाबाले “जे गरिस् भैगयो ,इज्जतमा त दाग लगाइस् ,अब छोराछोरी सँगालेर बस् ,हिड मसँग पोखरा ” भन्नू भयो तर त्यो आइमाईलाई आफ्नो छोराछोरीको माया भन्दा बढि त्यो मान्छेको माया रहेछ।”म उसैसँग जान्छु” भनी।त्यहि भएका सबै जनाले सम्झाए “यस्तो नगर” भनेर तर मानिन। “त्यसो भए आफ्नो छोराछोरी पनि लैजा” भनेर फुपुले हो कि कसले भन्नू भयो तर मानिन र गै आफ्नो केटाको हात समातेर।हाम्रो अनुहारमा एकचोटि नहेरि।”ममि-ममि” भन्दै रोए तर फर्केर हेरिन।गै निर्दयिले आफ्नो सन्तानको माया मारेर।के सहि के गलत भनेर छुट्टाउन सिकाउने उमेरमा आफ्नै नराम्रो याद छोडेर गै।आफ्नो हात समातेर दुनिया जित्न सिकाउने उमेरमा आफैले छाडेर गै।जन्म त दि तर आमा भनेर सुन्नि अधिकार गुमाएर गै।

त्यो कालो रात र त्यो कालो दिन भुल्छु भनेर पनि भुल्न सक्दिन,बिर्सन सक्दिन।जन्म त दिइन् तर आमाको सबै बन्धन तोडेर गइन।कसरी आमा भनु म उनलाई जसलाई आमा भएर आफ्नो कर्तव्य बोध पनि छैन।चार जनाको सुखि परिवार थियो हाम्रो तर एकजनाको गल्तिले सबैको जीवन तहसनहस भयो।केही कमि थिएन बाबाको मायामा,केही कमि थिएन राख्नु भएको थिएन बाबाले भौतिक सुखमा तर शारिरिक सुखको लागि मान्छेहरु यो हद सम्म गिर्न सक्दा रहेछन्।के शरीर नै सबै भन्दा ठुलो सुख हो र?त्यहि शरिरको लागि आफुले जन्म दिएको सन्तानको माया पनि लागेन,कति सम्म निर्दयि ती आमाको मन।भनिन्छ नि,काचो माटोमा जस्तोआकृति बनायो उस्तै चित्र बसिदिन्छ,हो त्यस्तै भयो मेरो मन पनि,आफ्नो आकृतिको नमिठो याद छाडेर गइन।उनलाई आफ्नो आमा भन्न पनि लाज लाग्छ।लाज भन्दा पनि घृणा बढि लाग्छ।

खोतल्न मन थिएन ती यादहरु तर आज मिति 2074 भदौको 23 गते भरतपुरको दिपेन्द्र चोकमा काममा आउन भनेर बस कुरिरहेको थिए।अचानक उनी जस्तै मान्छे मेरो नजर अगाडिबाट गइन।हामीलाई छाडेर गएको 9 वर्ष पूरा भयो तर अहिलेसम्म एकचोटी फर्केर आएकि छैनन्।आफ्नो छोराछोरी कुन हालतमा छन् भनेर बुझ्न पनि नखोजेको मान्छे कसरी आउन सक्छिन् भनेर नियाले।उनी होइन होला भनेर नजर मोडे तर फेरि आँखा त्यतै गयो।पक्का भए उनी नै थिइन। “ममि” भनेर बोलाए ,फर्किन्न।दुई-तीन चोटि चिच्याएर बोलाए ,फर्किनन् तर म झस्किए आफै चिच्याएको ठुलो आवाजले।सपना देखिरहेको रहेछु।आँसु झर्‍यो फेरि बिर्सन लागेको कुरा सम्झेर।जानि बेला त फर्केर हेरिनन् तर आज अचानक 9 वर्ष पछि सपनामा आउदा पनि फर्केर हेरिनन्।

कसैको याद स्मृतिमा यति सम्म गडेर बसेको छ नि आउँछ मात्र तर फर्केर जान मान्दैन अनि जस्को याद हो उसलाई हाम्रो याद छ या छैन ,त्यो पत्तो छैन।

लेखक: संजु राई

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here