I Also Want To Read: Voice Of A Daughter

” आमा म पनि पढ्ने ”

” आमा म पनि दाइसङ्गै स्कुल जान्छु है ”
” अँ घरका सबैजना पढ्न जाओ , मै बुढीले गर्छु सबै घरको काम , मरेपनी मै मर्छु ”
” हैन आमा म बिहानै दुई खेप खोल्साबाट घासदाउरा गर्छु , आएर खाना पकाएर जुठोभाडा गरेर दाइ सङ्गै स्कुल जान्छु , बरु फर्कदा स्याउला पनि ल्याउछु आमा म पनि भोलिबाट पढ्न जान्छु नि ”
‌महिनौदेखि गुम्सिएका आफ्ना मनका कुरा त्यो दिन आमाबुवाका अगाडि राख्ने जोश खोइ कताबाट आयो मैले पत्तो पाइन। बुवाले , ” हुन्छ नि त जा न त भन्न नपाउदै आमाले ती सारा कुरा कति छिट्टै भनीभ्याउनु भयो । ” अरुको घर जाने जातलाइ किन पढ्न पर्यो , खोइ मैले पनि पढिन , हाम्री आमा हजुरआमा कसैले पढ्नेन । छोरी मान्छेले पढेर केही फाइदा छैन ” आमाले एकै शासमा थप्नु भयो ।
‌मेरी आमापनि म जस्तै नारी हुनुहुन्थ्यो , मनमा लाग्यो ” आमा तिमि र म कति अभागी है , के नारी भएर जन्मनु नै हामिलाइ अभिशाप हो ? तर आमा तिमी म भन्दा भाग्यमानी हौ , किनकी तिमिले थप एक नारीको इच्छा मार्ने अधिकार पायौ अनि म सिकार बने ” बाल्यकालको धेरै समय यहि सोच्दैमा बित्दै थिए । सङ्गैका साथी स्कुलमा किताब पढिरहदा मलाइ भने जिन्दगिले कलिलै उमेरमा नमिठो पाठ पढाइ रहेको थियो।


‌घरमा मेरो कुरा सुन्ने एउटा माली गाई मात्र थियो जसले मैले गरेका सारा कुरा निर्वाद स्विकार गर्थ्यो। पानी खादा पिठो खोज्न ताउलो पल्टाउला झै गर्दा , ” तलाइ साडे कति मातिन्छ ” भन्दा लुरुक्क पानी खान्थ्यो , दुहुन बस्दा झिगाले टोकिरहदा पुछर हल्लाउथ्यो ,” कति चल्छस “भन्दै लौरो ताक्दा बिचरा डराएर झिगाको टोकाइ सहेरै बस्थ्यो। साच्चै भनौ त मलाइ घरकाको जत्तिकै अझ त्यो भन्दा धेरै मालीगाइको माया लाग्न थालेको थियो। मैले दाइकै किताब हेरेर सुनेर कखरा सिकिसकेको थिए।
‌सत्र बर्ष फाल्ण्गुणमा टेक्थे होला तर मङ्सिरमै मेरो जिवनले नया पाइला टेक्यो । पढेका बुजुर्ग परिवारमा बुवाले बिहे छिन्नु भएछ । नपढेकी छोरीले पढेको ज्वाइँ पाई भनेर मेरि आमा दङ्ग हुनुहुन्थ्यो।
‌समय बित्दै गयो , मेरी एउटी सानी नानी पनि भइ। उसले ऎना हेर्दा उसलाइ नै देखोस , म जस्तै मेरी आमा , हजुरआमालाइ नदेखोस भन्ने एउटै रहर थियो मेरो । मेरा श्रीमान् घर नआउनु भएको ६ बर्ष भइ सकेको थियो। बिहेको पाचौ दिनमा घर छोडेर बिदेश गएका मेरा श्रीमान् त्यस पछि फिरेका थिएनन। मेरा श्रीमान् पढेलेखेका थिए , पछि थाह पाए छोरीले राम्रो घर पाई भनेर मलाइ घरकाले झुक्याएर बिहे गरिदिएका रहेछन । ” त्यति पढेलेखेका मान्छेले नपढेकि सङ्ग कसरी बसुन ?” एकपटक पधेरिमा माझघरे कान्छिले मलाइ सायद नदेखेर कुरा उक्काइन ।मैले नसुनेझै गरे । श्रीमानले सहरमा दोस्रो बिबाह गरेर बसेको कुरा पनी थाह पाए।
” छोरीलाइ पढाउन गार्हो मानेकी आमाले पढेको ज्वाइँ देखेर कति सजिलै मलाइ खुसी हुँदै पराइ घर पठाइन ” यहि र यस्तै सोचाइले मेरा कैयौ बर्ष कहिले आफुलाइ सराप्दै त कहिले भाग्यलाइ सराप्दै , आफैलाइ सम्झाउदै गुज्रिए।
केही बर्षपछि माइतमा दाइभाइको अन्शबन्डा भयो भन्ने सुने। साइला दाइले सार्है झगडा गरेपछी बुवाले अन्शबन्ड गरिदिनु भएछ । ठुल्दाइ आफ्नै परिवार सङ्गै अमेरिकामा बस्थे । अन्शबन्डा पछि साइला दाइपनी सहरमा डेरा सरेछन । बुवालाइ पहिलै देखि रोगी हुनुहुन्थ्यो , यसपाली दमले सार्है थला पारेछ । घरमा बुढी आमा , बिरामी बा । हेरचाह गर्ने मानिस नभएपछी आमाले मलाइ डाक्न पठाउनु भयो । खबर सुन्ने बित्तिकै म हतार हतार घरमा बिदा मागेर माइत पुगे। घर गएर बुवालाइ देख्दा आँसु थाम्न सकिन ! बिस्तारामा अचेत बुवा बरबराउनु हुन्थ्यो ,” खोइ छोराहरु आइपुगेनन ?” घरका सबैजनालाइ हेरेर मर्न पाए मन शान्त हुन्थ्यो ”
” साइलालाइ खवर पुग्दा समेत आएन जेठो आउन भ्याउदिन भन्छ भन्दै आमा अर्को कुनामा रुनुहुन्थ्यो ”
” बुवा म आएको छु नि सानी छोरी , हजुरलाइ केही हुन्न ” दाइ आउदै हुनुहुन्छ भन्दै बुवालाइ सम्झाए।
रातको १२ बजेको थियो बुवालाइ एकदमै च्यापेपछि सबैलाइ बोलाउनु भयो ।सधै हास्ने मेरा बुवालाइ अन्तिम अन्तिम समयका ती आँसु कत्ती पनि राम्रो देखिएनन ।
दाइने हातले मलाइ समात्दै देब्रेले आमाको हात समाउनु भयो – ” सानि तेरी आमा बुढी भाकी छे । तलाइ सानोमा हामिले पराइ घर जाने भनेर पढ्न त दिएनौ ,तर अन्तिम समयमा नजिक त मात्रै भइस छोरी , हामी बुडाबुडिलाइ माफ गर्दे , तैले जिन्दगी पढिछस , आमालाइ कहिल्यै गुनासो नगर है । आमालाइ सधै तसङ्गै राख्नु ।तेरा दाइहरु अब घर फर्केर आउदै…..
यति भन्दै हुनुहुन्थ्यो बुवाका आँखा बन्द भए । आमा मलाइ र बुवालाइ अङ्गालो हाल्दै रुन थाल्नु भयो। बुवाका अन्तिम ती शब्द आगोमा घिउ भए , म डाको छोडेर बुवालाइ समातेर रुन लागे ।
छेवैकी मेरी सानी छोरी पनि यी सबै बार्तालाप बुझेरै नबुझेरै कराउदै रुन थाली …( शोक भन्दा धेरै सायद उ देख्दै थिइ आजकी म भविस्यकी आफु )

लेखक: कृष्ण पौडेल

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here