Accompany – A Story By Suresh Badal

0
6541

उसलाई सन्चो छैन क्या, प्लिज उसलाई बस्न दिनुस् न!’

त्यो मीठासपुर्ण बोलीले उनले आग्रह गर्दा ‘नाईँ’, ‘हुँदैन’ सायदै कसैले भन्थे होला। माइक्रोबसको सीटमा बसेका सज्जनले सुरूक्क सीट छोडिदिए। मेरै छेउमा उभिएकि उनले मतिर फर्केर मुस्कुराउँदै सीटमा बस्न इशारा गरिन्। डण्डिमा समाएर यात्रा गरिरहेको मलाई सीटमा बसिहाल्न लाज लागेर आयो। म बस्न चाहिनँ।

‘बस न के बस। तिम्लाई सन्चो छैन, यसरी उभिँदा गाह्रो हुन्छ।’ उनले कर गरिन्।

भर्खर ज्वरो आएर सन्चो भएको म, त्यसमाथी अलि पहिले खुट्टा पनि भाँचिएको उनलाई राम्रैसँग थाहा थियो। उभिँदा असहज त थियो नै तैपनि उनको अघि कमजोर ठहरिन चाहन्नथेँ। म सीटमा बस्न चाहिनँ। मलाई हिनताबोध महशुस हुँदैथियो। उनले कर गरिरहिन् तर पनि मैले आफ्नो ढिपि छाडिनँ।

‘हैन के तिमी नै बस।’ मैले उनैलाई कर गरेँ।

‘हेत्तेरिका तिमी बस न भन्या। तिम्लाई अप्ठेरो हुन्छ।’ उनी आँखा तर्दै बोलिन्।

माइक्रोमा सकसले उभिएकाहरू हामीलाई जिल्ल परेर हेरिरहेका थिए। खाली सीटमा बस्न पनि तिमी-तिमी भन्दै हानथाप गरिरहेका थियौँ हामी। मैले आफु नबसेर उनलाई नै त्यो सीटमा बसाइछाडेँ।

उनी मसँग रिसाएजस्तो नखरा पार्दै सीटमा बसिन्। मलाई पनि उनले कर्के नजरले आँखा तरेको र नाकका पोरा फुलाएर हेरेको देख्दा छुट्टै आनन्द लाग्यो। उता अघि मलाई दया गरेर सीट छोडिदिने सज्जन मेरै छेउमा उभिएर यात्रा गरिरहेका थिए। उनी मलाई घुरेर हेरिरहेका थिए। आफ्नो लागी भनेर छोडोको सीटमा म बसिनँ। त्यसैले लाजले मैले भने उनको अनुहारमा हेर्नै सकिनँ।

यसरी सँगसँगै कलेज आउने जाने हामीहरूको घर पनि नजिक-नजिक पर्दथ्यो। सधैँको भीड माइक्रोबसका कारण आउन-जान सास्ती नै पर्दथ्यो। कहिलेकाहिँ त हामी हिँडेरै पनि यात्रा तय गर्थ्यौँ। भाँचिएर बल्लबल्ल जोड लागेका मेरा खुट्टाहरू माइक्रोमा उभिँदा दुखिरहन्थे भने हिँड्दा पनि चाँडै नै गलिहाल्थे। हिँड्दाखेरि बेलाबेलामा मलाई थकाई मार्नुपर्थ्यो। उनी पनि मलाई सँगै बसेर कुर्थिन्।

म खुट्टा भाँचिएर अस्पताल बस्दा मेरा नोटहरू उनैले बनाइदिएकि थिइन्। मेरा प्राक्टिकलका फाइलहरू उनैले गरिदिन्थिन्। उनको साथ र सहयोगले मैले कलेज ‘मिस’ गरेको थिइनँ। कहिलेकाहिँ अस्पतालमै गएर पनि दिनभरि मसँग गफ गरेर ‘बोर’ हुन दिएकि थिइनन्। मलाई ट्वाइलेटसम्म पनि काँधले थामेर लगिदिन्थिन्। यसरी माया, प्रेम र सान्त्वमा पाइरहँदा त चोट पनि निको नभइदेओस् जस्तो लाग्ने रै’छ। बिरामी बनेरै सुतिरहुँजस्तो लाग्दो रै’छ। तर पनि म चाँडै निको भएको थिएँ। म उनको सहयोगबिना अपूर्ण थिएँ भने उनी नै मेरा लागी सम्पूर्ण थिइन्।

मेरा नजरमा उनीप्रति जति प्रेम थियो त्योभन्दा बढि आदर थियो, सम्मान थियो।

‘ओई! म गएँ ल! भाडा दिएर जान्छु।’
मैले हस् भनेर टाउको हल्लाएँ। उनले ‘बाई’ भनेर हात हल्लाइन्। बिहान मैले भाडा दिएको थिएँ, सायद त्यसैले अहिले उनले दिइन्। उनी माइक्रोबाट झरेर घरतिर जाँदैगरेको मैले झ्यालबाट हेरिरहेँ।

करिब सय मिटर वरपर घर भएका छिमेकि थियौँ हामी। जिन्दगीमा हामीहरूमा हुनेगरेका संयोगहरू सम्झिँदा पनि अचम्म लागेर आउँछ। यति नजिक घर हुँदा पनि हाम्रो पहिले कहिल्यै भेटघाट र चिनजान थिएन। कैयौँपटक बाटोमा जम्काभेट भयो होला, कुम ठोकियो होला, आँखाहरू पनि जुधे होलान्। तर कलेजमा पहिलोचोटि भेट्दामात्र मन तरंगित भएको थियो।

कलेजको पहिलो दिन हतारिँदै कक्षामा पसेको थिएँ म। क्लास सुरू भैसकेकोले चुपचाप नै लास्ट बेन्चमा बस्न पुगेको थिएँ। बिचबाट सुनेको लेक्चरको मेलो न मेसो भएको थियो। मलाई सरको लेक्चरभन्दा बढि त क्लासका अन्जान चेहराहरूलाई पढ्न मजा आउन थाल्यो। मेरो बेन्चको बिपरित लहरको पहिलो बेन्चमा बसेर ध्यानमग्न भएर सुनिरहेकि चश्मा लगाउने गोरी केटिमा गएर नजर ठोकिए। त्यो उनी नै थिइन्।

म कहिल्यै कलेज समयमा पुग्दैनथेँ। अलमल गर्दागर्दै सधैँ ढिलो हुनेगर्थ्यो। यस कारणले म सधैँभरि सर म्यामहरूको गालीको शिकार बन्थेँ।
सदाझैँ एकदिन म ढिलो पुगेको थिएँ। सर पढाइरहनुभएको रहेछ।

‘मे आई कम इन सर!’ मैले ढोका यसो उघारेर सोधेँ।

‘आउनुस् हजुर आउनुस्।’ सरले व्यंग्यको भावमा बोलाए। म लाज मान्दै आफ्नो बेन्चतिर लम्कँदै थिएँ।

‘छोराछोरीलाई स्कुल पुराएर आउँछौ कि के हो। सधैँ ढिलो गर्छौ त बा’ सरले अझै जिस्काए। सबै साथीहरू गलललल हाँसो। म कान रातो बनाएर बसेँ।
मैले उनीलाई हेरेँ। उनी पनि गोरो मुहार रातो हुनेगरि हाँसिरहेकि थिइन्। मलाई उनको हाँसो यति मन पर्न थाल्यो कि उनको हाँसोको लागी म हरेक दिन मजाकको पात्र बनिरहन तयार थिएँ।

खासै केटिहरूसँग परिचय र घुलमिल भइसकेको थिएन। केटाहरूसँग भने हाईहेल्लो चलिसकेको थियो। सधैँ ढिलो आउने, आउनेबित्तिकै क्लासमा हाँसोठट्टाको माहोल बन्ने हुनाले म रहस्यमयि पात्र थिएँ क्लासमा। यसै कारण होला उनी पनि मलाई ध्यान नदिएजस्तै स्वांग पारेर मलाई हेरिरहेकि हुन्थिन्। मैले पुलुक्क उनलाई हेरिदिँदा उनी लाज मानेर नजर लुकाइहाल्थिन्।

मलाई उनीसँग नजिक हुन मन लाग्थ्यो। तर बोलिहाल्ने माहोल मिलिसकेको थिएन। अरूलाई सामान्य लाग्ने उनको मुहारमा म बेग्लै आकर्षण पाउँथेँ। चश्माभित्रै पनि सुन्दर देखिने गहिरा र प्रेमिल थिए आँखाहरू। त्यसैमाथी थिए त्यसै मिलेका मिलाउनै नपर्ने आँखिभौँ। क्रिम पाउडर कहिल्यै लगाउनै नपर्ने अनुहारमा श्रृंगारको नाममा हुन्थ्यो त केवल गुलाबी ओठमा हरपल सजिइरहने मन्द मुस्कान।

‘तिम्रो कपि लेउ न ल।’ क्लास सकिएपछि मैले उनको छेउमै गएर मागेँ। उनी जिल्ल परेर मेरो अनुहारमा हेरिरहिन्।

‘म ढिलो आएँ, सरले के-के पढाउनुभो थाहै भएन। म घर लगेर सार्छु नि ल।’ उनले मुसुक्क मुस्काएर कपि दिइन्। सायद सोचिन् होला क्लासभरि त्यतिका साथीहरू छन्, अझै नजिकका केटाहरू पनि साथी थिए तर मैले उनकै कपि किन मागेँ होला। मलाई त उनीसँग नजिक बन्नु थियो। उनीसँग साथी बन्नु थियो। यो पनि उनले बुझिन् कि।

उनको कपि समाउँदा नै मन चन्चल भइरहेको थियो। आहा कति सुन्दर हो कपि पनि, आफुजस्तैगरि चिटिक्क पारेर सजाइएको। मान्छे जति फुच्चि थिई त्यति नै फुच्चि कपि र नाम पनि त्यति नै छोटो र फुच्चि थियो ‘अन्जु’!

बेलुकि माइक्रो कुर्ने ठाउँमा उभिरहँदा उनी पनि नजिकै आएर उभिइन्।

‘तिमी कता जाने हो र?’ मैले उनीतिर फर्किएर सोधेँ।

‘नेपालटार’

‘लौ! कता नि नेपालटार?’

‘एनआर कलेजभन्दा अलि अगाडि।’

‘हैट्। हो र?’ मलाई अचम्म लाग्यो।

‘हो त नि। तिमी पनि त्यतै हो र?’ उसले पनि अचम्म मानेर सोधि।

‘म पनि अलि अगाडि नै हो। शेषमति पुलभन्दा थोरै वर बस्छु त।’
त्यतिकैमा नेपालटारको माइक्रो आयो। हामी दुबैजना माइक्रो चढ्यौँ। लास्टको सीट खाली नै रै’छ। त्यहिँ बस्यौँ। भर्खर भर्खरको चिनाजानीले गर्दा होला सामान्य र औपचारिक कुराकानी नै भयो। नेपालटार पुगेपछि उनी ओर्लिइन्। उनले मेरो पनि भाडा दिएर गइन्। सय मिटर परको अर्को स्टपमा म ओर्लिएँ। मेरो घरबाट उनको घर देखिन्थ्यो।

भोलीपल्ट बिहान कलेज टाइममा म निस्किएँ। उनको घरतिर हेर्दा उनी बाहिर गाडि कुरिरहेकि थिइन्। मैले हात हल्लाएँ। उनले पनि हात हल्लाइन्। म उनी भएतिर गएँ। त्यतिकैमा माइक्रो आइपुग्यो। हामी दुबैजना सँगै कलेज गयौँ। सँगै आउने-जाने सिलसिला चल्यो। म उनलाई भित्रभित्रै एकोहोरो मन पराउन थालेँ। उनीसँग भेट नहुने हुँदा मलाई बिदाका दिनहरू साह्रै कष्टकर लाग्थे। नजिक-नजिक घर भएकाले भेटिहाल्न त सम्भव थियो तर घरपरिवारले के-के सोच्ने हुन् भनेर डर लाग्थ्यो। मलाई कलेजमा पनि उनी केटिहरूकै ग्रुपमा बस्ने हुँदा समय बिताउन कठिन हुन्थ्यो। मेरा लागी त उनीसँग आउने जाने माइक्रोबसको समय नै अति स्वर्णिम लाग्थ्यो।

उनीलाई हेर्दा मायाप्रेममा फसिसकेकि जस्ती लाग्दैनथ्यो। उनको सिउँदोजस्तै मन पनि खाली छ भनेर म ढुक्क थिएँ। श्रृंगारबिनाको सुन्दर मुहारले मन पनि कंचन भएको संकेत गर्दथ्यो।
हामी बेला-बेलामा जिस्किन्थ्यौँ। ऊ मेरा मजाकहरू सुनेर अट्टहास हाँसिदिन्थि। म झन् प्रोत्साहित भएर नानाभाँती कुरा गरेर उनीलाई हँसाइरहन्थेँ।

‘तिमि किन यति ढिला गर्छौ बादल। जहिल्यै कुर्नुपर्छ मैले।’ मलाई कुर्दा कुर्दा हैरान भएर एकदिन अन्जुले सोधि।

‘अब तिमि पो ममि बाबासँग बस्छौ त। आफु त एक्लै बसेको मान्छे। ममिबाबा पनि गाउँमा हुनुहुन्छ। पकायो, माझ्यो गर्दा यस्तै त हो नि।’ मैले पनि
आफ्नो विवशता सुनाएँ।

‘अब बिहे गर त्यसोभए। अनि बल्ल टाइममा खान पाउँछौ अनि मैले पनि धेरै कुर्नुपर्दैन। टाइममै आइपुग्छौ कलेज।’ ऊ जिस्किई।

‘अनि तिमि चाहिँ ढिलो होलाउ नि त कलेज जानलाई।’ मैले पनि घुमाउरो कुरा गरेँ।

‘म चाहिं किन ढिला नि?’ उसले उत्सुकतापुर्वक सोधि।

‘अब तिमीले मलाई खाना खुवाएर कलेज पठाउँदा त तिमीलाई ढिला हुन्न त?’ म आँखा झिम्काएर हाँसेँ।

‘ओ हेलो। म तिमीसँग बिहे गर्दिनँ है बाई द वे। मेरो आफ्नै ब्वाइफ्रेण्ड छ।’ उसले निधार खुम्चाएर बोलि।

म हाँसिरहेँ। तर मनमा कता-कता बिझ्यो। उसको ब्वाइफ्रेण्ड छ भनेर मलाई एकरत्ति पनि विश्वास लागेन।

‘हाहाहा को हो नि तिम्रो ब्वाइफ्रेण्ड?’ मैले जिस्काएँ। म ढुक्क थिएँ ऊ सिंगल छे। संसारमा ऊ मेरै निम्ति आएकि हो। नत्र त यति फराकिलो दुनियाँमा किन त नियतिले उसलाई मेरै नजिक ल्याएर छोडिदियो त। किन चिनायो त भाग्यले हामीलाई। अनि किन जुराइदियो त सँधैभरि सँगै हिँड्ने एउटै बाटो। सायद जिन्दगीको यात्रा पनि सँगै तय गर्नुछ। म यस्तै सोचिरहेँ।

‘पख अहिले छैन म भोली नै देखाउँछु फोटो नै।’ उसले प्रेमी नभएर नै टारि भनेर म ढुक्क भएँ। नत्र त यहि हो भनेर सिधै फोटो देखाउँदा भैहाल्थ्यो नि।

‘मेरो फोटो भोली फेसबुकबाट डाउनलोड गरेर ल्याउन खोजेकि होला लाटि!’ म आँखा झिम्काएर हाँसेँ।

‘हरे शिव।मेरो मोबाइल अफ भएर मैले आज ममिको मोबाइल बोकेर आकि छु के। भोली मेरै मोबाइलमा देखाउँला फोटो।’

‘लौ लौ। दाईको फोटो देखाएर ब्नाइफ्रेण्ड हो भनेर चाहिँ नभन्नु नि। हाहाहा!’

‘पापी!’ उसले प्याट्ट ढाडमा हिर्काई।

साँझ गाडिबाट उत्रिएपछि ऊ मेरो नजरबाट ओझेल पर्थि तर परको नागार्जुन डाँडाबाट उदाउने जुनजस्तै गरेर ऊ मेरो कल्पनाको आकाशमा छाउँथि। मलाई उसले चश्माबाट आँखा पल्टाएर हेरेको याद आउँथ्यो। जिब्रो टोकेर हाँसेको र बेला-बेलामा मेरो कुममा हिर्काएको सम्झेर आनन्द लाग्थ्यो। हामी राम्रो साथी थियौँ। मेरो मनमा उसको लागी झनै धेरै कुराहरू थिए। मित्रता भन्दा बढि प्रेम थियो। मैले मजाकको मौका छोपेर प्रेम उजागर गरेँ तर उनले आफ्नो प्रेमीको कुरा गरेर मलाई पन्छाउन खोजिन्।

भोलीपल्ट उनजिक जाँदा ऊ मोबाइल चलाइरहेकि थिई। मलाई देख्नासाथ मेरो नजिक आएर मोबाइलको स्क्रिन मेरो आँखामै टाँसिएलाझैँ गरि केहि देखाई। मैले आँखा अलि पर पारेर हेरेँ। म चकित भएँ। मेरा खुट्टाहरू काँपे। बोली फत्किएन। एउटा केटासँग अँगालो मारेको फोटोमा अन्जु थिई। केटाले उसको गालामा चुमिरहेको थियो। मेरो गालामा भने चिटचिट पसिना आइसकेको थियो।

‘हेर त कस्तो लाग्यो हाम्रो जोडि?’ उसले मुस्कुराउँदै मेरो अनुहारमा हेरि।

मलाई मनमा डँढेलो लागेजस्तो महशुस भयो। भतभती पोल्यो। म निच्च परेर झुटो मुस्कान मुस्काएँ। माया गर्नेहरूले र आफ्नाहरूले त आँखामै पीडा देख्छन् रे। तर ऊ त पराई थिई सायद मेरो ओठको झुटो मुस्कानमै दंग परि होला।

‘राम्रो रै’छ केटा।’ अमिलो मनबाट यत्ति शब्द निस्किए।

‘अरू पनि हेर्छौ? कति राम्रो-राम्रो छन् हाम्रा फोटाहरू।’ उसले मोबाइलको ग्यालरी सार्न थाली।

‘भयो पर्दैन। जाउँ कलेज जान ढिला भयो।’ मेरो आवाज भासिएको थियो। मैले घुटुक्क थुक निलेँ।

क्लासमा फस्ट बेन्चमा बस्ने अन्जु लास्ट बेन्चमा बस्ने मेरो मनको नजिकै हुन्थि। आज कता-कता ऊ टाढा भएकि थिई। लाली चढेको उसको गालामा मैले पराईको ओठको छाप देख्न थालेँ।

दिनहरू बितिरहे। म उसँग पहिलेजस्तो खुल्न सकिनँ। सँधै सँगै आउने-जाने हामी आक्कलझुक्कल मात्र सँगै हुन्थ्यौँ।

‘कता हराको हो के तिमी? न त आउने बेला भेट हुन्छ न त जानेबेला। कलेजमा पनि बोलचाल छैन त! के गर्न थाल्यौ आजभोली? कि अर्कै गर्लफ्रेण्ड बनाएर बिजि हुन थाल्यौ?’ एकदिन कलेजको ग्राउण्डमा उसले सोधि।

‘अर्कै गर्लफ्रेण्ड रे? पहिला पनि को थिई र मेरो?’

‘म के त! म तिम्रो साथी हैन र? म केटि पनि अनि तिम्रो साथी पनि। भइनँ त गर्लफ्रेण्ड?’ ऊ हिहिहि गरेर हाँस्न थालि। मलाई उसको मजाक चित्त बुझेन। म चुपचाप उसको अनुहारमा हेरिरहेँ। मेरो एकोहोरो र अव्यक्त प्रेममा उसले निर्मम प्रहार गरि। म छातीलाई फलाम बनाएर थापिरहेँ।

‘ओई के भो तिमीलाई। हाँस्दा पनि हाँसेनौ त!’

‘माया नपाउनेहरूले त हाँस्नलाई मुस्कान पनि पाउँदैनन् अन्जु।’

‘के रे? कसरी माया पाएनौ र तिमीले? यति धेरै माया गर्ने म छु नि त। के मलाई बेस्ट फ्रेण्ड मान्दैनौ र तिमीले?’ उसले मलाई दुविधामा पारि। मनले त उसलाई प्रेमिका नै मानेको थियो। जिवनसाथीको सपना देखेकिलाई त्यो सपना जलाएर साथीमात्र बनाउछु भन्नुजति गाह्रो केहि रहेनछ जिन्दगीमा। तर म त गाह्रो नै सजिलो मान्ने मान्छे थिएँ। मैले मुन्टो हल्लाएँ।

‘थ्यांक्यु यार।’ उसले मसँग हात मिलाई। मैले पनि सुस्तरी उसको हात समातेँ। हाम्रा हातका रेखाहरू केहि सेकेण्ड जोडिए अनि अलग भए, सायद उसँग टाँसिन खोजेको मेरो मनजस्तै गरि।

ऊ जतिबेला पनि उसको ब्वाईफ्रेण्डको गुणगान सुनाउँथि। सागरले यसो भन्छ, सागरले उसो भन्छ। आज सागरले यसो गर्यो, उसो गर्यो। यस्तै-यस्तै। म चुपचाप सुनिरहन्थेँ।

‘तिमी त आजकाल पुरै चेन्ज भयो है?’ मेरो फुंग उँडेको र टोलाइरहने अनुहार हेरेर ऊ सोध्थि।

‘किन र?’

‘केहि बोल्दैनौ नि त। अरूलाई हँसाइरहने मान्छे आफु नै हाँस्न छोडिसक्यौ। साँच्चि कसैलाई मन पराउँछौ कि के हो। को हो त्यो भन त म कुरा गरेर
फकाइदिन्छु बरू। साथीको लागी त यति त गर्न सक्छु कि।’

‘सक्दैनौ अन्जु।’

‘भनेपछि कुरा बुझियो। कोहि त पक्कै रै’छ। ल भन त म फकाइदिन्छु उसलाई। सक्छु के। बेस्ट फ्रेण्ड भएपछि यति पनि गर्न सक्दिनँ र! मैले भनेपछि उसले नाईँ भन्नै नसक्ने पारिदिन्छु।’ उसले फुर्तिसाथ बोलि।

‘सोचेर बोल है एकचोटि। जिन्दगीमा आफ्नै मनलाई फकाउनजति गाह्रो केहि हुन्न अन्जु।’

‘के रे? के भनेको? बुझिनँ मैले।’

‘भयो छोड।’

‘नाईँ भन न के।’

‘तिमीले आफुलाई फकाएर मनाउन सक्छौ र? तिमी नाईँ नभन्न सक्छौ र?’ मेरो मुटु ढक्क फुल्यो। मैले मेरो अव्यक्त प्रेम उजागर गरिदिएँ।

‘हाहाहा आज बल्ल यतिका दिनमा मजाक गरेउ तिमीले।’ उसले अझै विश्वास गरिन।

‘मैले मजाक गर्न छोडिसकेँ अन्जु। आफ्नै मनको भावनाको मजाक बनाउने पाप गर्न सक्दिनँ म। मैले मन पराएकि तिमी नै हौ। अब के तिमी आफ्नै मनलाई मैले प्रेम प्रस्ताव गर्दा नाईँ नभन्नेगरि फकाउन सक्छौ र?’ मेरा आँखा रसिला भए।

‘तिमीलाई थाहा छ त मेरो प्रेमी छ।’ उसका आँखाहरू पनि भिजेका थिए या मेरा रसिला आँखाले त्यस्तो देखे मैले थाहै पाइनँ।

‘त्यसैले त भनेको नि तिमीले केहि गर्न सक्दैनौ मेरा लागी।’ म बग्न लागेको आँशु लुकाउन अर्कोपटि फर्किएँ।

‘ओई म गएँ ल। पछि कुरा गरम्ला।’ यति भनेर ऊ गई। सायद ऊ पनि आशु लुकाउन चाहन्थि।

अन्जुको मप्रतिको व्यवहारमा परिवर्तन आउन थाल्यो। ऊ मलाई धेरै नै केयर गर्थि। मलाई सोधिरहन्थि। मलाई खोजिरहन्थि।
‘तिमीजस्तो बेस्ट फ्रेण्ड त कहिल्यै पाउँदिन होला मैले।’ ऊ मलाई यहि भन्थि। म पनि उजस्तो साथी पाएर आफुलाई भाग्यमानि ठान्न थालेँ। उसलाई जिवनसाथी बनाउन नपाउनु मात्र मनमा खट्किरहन्थ्यो।

‘हेर न मलाई सागरले दिएको गिफ्ट।’ उसले मलाई हातमा बाँधेको घडि देखाई। ‘जो चाहिँ ढिलो आउँछ। भनेको बेला कहिल्यै आउँदैन, जतिबेला पनि कुराउँछ उसैले घडि गिफ्ट दिन्छ भन्या।’ ऊ रिसाएजस्तो स्वांग पार्थि। तर मलाई भने सागरको नाम सुन्नासाथ मन चसक्क हुन्थ्यो।

‘बरू तिमीजस्तो साथी नै धेरै ठिक। आजकाल कमसेकम टाइममै आइपुग्छौ नि त।’ उसले मलाई फुरूक्क पारि।
उसलाई के थाहा उसको जिन्दगीमा म कति ढिलो आइपुगेँ। सायद सागर मभन्दा धेरै नै छिटो थियो। ऊ टाइममै पुगेको थियो। मैले सागरलाई भेटेको त थिइनँ तर अर्कै कलेजमा पढ्छ भनेर अन्जुले सुनाउँथि।

नियतिले पनि कस्तो खेल खेलिदिन्छ, मनकि मायालाई भेटाउन त भेटाइदियो तर मेरो विवशता बस छुटेको यात्रुजस्तै थियो। मेरो मन एक्लै-एक्लै भौँतारिरहन्थ्यो।

अन्जु मलाई अति नै केयर गर्थि। मलाई लाग्थ्यो अन्जुको मप्रतिको व्यवहार केवल सहानुभुतिमात्र थियो।
हामी माइक्रोबसमा उभिएर, झुण्डिएर, खाँदिएर यात्रा गर्थ्यौँ। मलाई एउटा बाइक भइदिए हुनेजस्तै लाग्थ्यो। बाइकको पछाडि अन्जुलाई राखेर ठाउँ ठाउँमा घुमेको कल्पना गर्थेँ। मलाई ऊ अरू कसैको प्रेमिका हो भने पनि कुनै परवाह थिएन। बस् उसँग केहि पलमात्र सँगै हुन पाए पनि मन त्यसै-त्यसै फुरूंग्ग हुन्थ्यो।

‘एउटा बाइक त नलिई भएन।’ एकदिन कठिनसँग माइक्रोबसमा यात्रा गरेपछि मनबाटै आवाज आयो।

‘हो हो लिउ न। मलाई पनि क्या सजिलो हुनेथियो। म सधैँ तिमीसँगै आउन-जान पाउँथेँ। उसले यति भनिदिँदा मनले संकल्प गर्यो, अब घरमा भनेर एउटा बाइक जसरी पनि किन्छु। तर बिडम्बना मलाई बाइक चलाउन आउँथेन।
म ड्राइभिंग सेन्टरमा बाइक सिक्न थालेँ। एउटै सपना थियो बाइक सिकेर लाइसेन्स निकाल्नेछु। त्यसपछि बाइक किन्नेछु र अन्जुलाई पछाडि राखेर यताउति घुम्नेछु। उसकै वरिपरि रहेर, उसको साथमा साथ दिएर हिँडिरहँदा त कसो उसको मन नफर्केला। मलाई त्यो सागर नामको अपरिचित प्रतिश्पर्धिलाई हराएरै छाड्छु भन्ने दृढता थियो।

म मेरो मायाको घुम्टो अन्जुको शीरमा यसरी ओढाउन चाहन्थेँ कि उसले त्यो घुम्टो उठाएर सागरलाई हेर्ने मन नै नगरोस्।
अलि-अलि बाइक चलाउन जान्ने भएपछि म साथीहरूको बाइक मागेर यसो हात बसाउने प्रयास गर्थेँ। त्यसै सिलसिलामा एकदिन घरनजिकै बाइक घुमाउँदै थिएँ। अचानक बाइक अनियन्त्रित भयो। सिकारू भएर होला बाइक पल्टियो। मलाई गहिरो चोट लाग्यो। साथीहरूले हस्पिटल लगे। खुट्टा भाँचिएछ। डाक्टरले अप्रेसन गर्नुपर्छ भने। अप्रेसनका लागी हस्पिटलमै भर्ना भएँ।
एकदिन अन्जु हस्पिटलमै आएर रोई।

‘यो सब मेरै कारणले भयो।’ उसले आँखाभरि आँशु पार्दै बोलि।

‘हैट्। कसरी हुनु नि तिम्ले गर्दा। दुर्घटना त हुनु परेपछि जसरी पनि भइहाल्छ नि।’ म दुखाई सहँदै मुस्कुराएँ।

‘मैले नै तिमीलाई बाइक लिउ भनेर उक्साएँ नि त। मैले त्यसो नभनेको भए तिमिले बाइक पनि चलाउदैनथियौ अनि यसरी एक्सिडेन्ट पनि हुँदैनथियो।’ उसले अझै रून्चे मुख बनाई।

त्यसदिन अन्जु दिनभरि हस्पिटल बसि। मलाई बाथरूम जान पनि काँधको सहारा दिई। राती पनि कुरेर बस्छु भनि। मैले उसलाई सम्झाएर पठाएँ।
म उसको अगाडि बलियो बन्दै उसका आवश्यकताहरूमा साथ दिँदै उसको मन जित्न चाहन्थेँ तर नियतिले उल्टो खेल खोलिरहेको थियो। म अन्जुको नजरमा झन्-झन् कमजोर र बेसहारा बन्दै थिएँ।

म उसको प्रेम चाहन्थेँ तर ऊ मलाई सहानुभुति र दया दिइरहन्थि। मेरो प्रेम अस्विकार गरेर उसले एउटा साथी बनिदिने गरि मलाई दया गरेकि थिई। त्यसपछि म बिरामी हुँदा मलाई कमजोर ठानेर सहानुभुति दिएकि थिई। पछि खुट्टा निको भएर कलेज आउने-जाने गर्दा माइक्रोबसमा पनि ऊ मेरा निम्ति सीट मागिदिन्थि। म यति कमजोर थिएँ कि उसको दिल जित्न असमर्थ भएँ। म त केवल उसले फ्याँकेको दया टिपेर सुम्सुम्याउँदै हिँड्थेँ।
दिनहरू बितिरहे। हाम्रो साथ पनि चलिरहेको थियो। एकदिन अकस्मात् अन्जु बाटोमा भक्कानो छोडेर रोई।

‘ओई के भयो तिमीलाई? किन रोएकि?’ मैले उसको कुम सुस्तरि छोएँ।

‘किन सबै केटामान्छेहरू तिमीजस्ता हुँदैनन्?’ उसले आँशु पुछ्दै सोधि।

‘के भनेकि तिम्ले मैले त कुरै बुझिन। कसले के भन्यो र तिमीलाई?’

‘भयो छोड।’ ऊ अलि सम्हालिन खोजि।

‘भन न। कि सागरले…,’

‘त्यो कुकुरको नाम नै नलिउ न।’ उसको आवाज ठुलो आयो।

‘किन के भयो र?’ म अचम्मित भएँ।

‘त्यस्ता मान्छेको शरीर अनि मनसँग खेल्नेहरूलाई टुक्रा-टुक्रा पारेर काट्न पनि किन सकिँदैन होला?’
म जिल्ल परेँ। ऊ मुर्मुरिँदै थिई। दाह्रा किट्दै थिई।

प्रेमको नाटक गरेर सागरले अन्जुको शरीरसँग खेलेछ। उसले अन्जुको विश्वासको फाइदा उठाएरपछि विश्वासघात गरेछ। कति सजिलै कसैलाई आँखा चिम्म गरेर भरोसा गर्छन् केटिहरू, अचम्म लाग्छ।

‘आजकाल बोल्नै छोडेको थियो। भेट्न पनि मान्दैनथियो। मैले कति कर गरेपछि भनेरै छोड्यो, उसले त केवल मेरो शरीरसँग पो प्रेम गरेको रे। मनसँग हैन रे।’ अन्जु रोइरहेकि थिई। म केहि भन्न पनि सकिरहेको थिइनँ।

‘भयो नरोउ न। त्यो धोकेबाजलाई चिनिहाल्यौ। अब ठिक हुन्छ बिस्तारै।’ केहिबेरपछि मैले सम्झाउने प्रयास गरेँ।

‘कसरी ठिक हुन्छ? मेरो पेटमा त्यसको पाप छ।’ ऊ झनै ठुलो स्वरमा रून थालि।

‘त्यसोभए त सागरसँग कुरा गर्नु पर्छ।’

‘भयो त्यो पापीको अनुहार चिनिसकेँ। अब फेरि त्यसको अनुहार हेर्नु छैन मलाई। त्यसको जवाफ के आउँछ थाहा पाइसकेँ मैले।’ मैले अन्जु रिसाएको पहिलोचोटि देखेँ। आज ऊ ज्यादै फरक देखिएकि थिई। मलाई अचम्म लाग्दै थियो। जसलाई देखेर र जस्तो सोचेर म प्रेममा परेको थिएँ त्यो मान्छे बिल्कुल अर्कै भएकि थिई।

‘कति महिना भयो र?’ मलाई उसका कुराहरू सुन्न कठिन भइरहेको थियो। तैपनि सोधेँ।

‘धेरै दिन त भएको छैन।’ उसले लाचार भएरै सुनाई।

‘त्यसोभए त त्यसलाई हटाउन मिल्छ त।’

उसले पुलुक्क मेरा आँखामा आशाका नजरले हेरि।

‘कसरी नि?’

‘औषधि पाइन्छ नि त औषधि पसलहरूमा।’

‘मलाई त कहाँ किन्ने के गर्ने पनि थाहा छैन। त्यो पापीको अनुहार पनि जिन्दगीभर हेर्दिनँ भनेर थुकेर आएको छु। तिमी नै हेल्प गर्देउ न ल!’

अन्जु लाचार थिई। मलाई पनि उसको यो विकराल समस्यामा साथ दिने मौका मिलेको थियो। तर पनि मन खिन्न थियो। माया त मनले गरेको थिएँ तैपनि ऊ मेरो सामु शरीर बिटुलो पारेर आइपुगेकि थिई। मेरो नजरमा मैले प्रेम गरेकि सुन्दरी बिस्तारै कुरूप लाग्न थालिसकेकि थिई।
मन गह्रुंगो पारेर उसका निम्ति औषधि किनेर ल्याएँ। सबै कुरा बुझाएर औषधि दिएँ।

अन्जुको मुहारमा पहिलेजस्तो चमक देखिँदैनथियो। उसको मुस्कान पनि फिका हुन थालिसकेको थियो।
आखिर साँचो माया भनेको नै यहि रहेछ। जति नै टाढा बनाउन खोजेपनि, जति नै फोहोरी सोचेपनि मनले मानेन। मलाई अन्जुको मनमा बस्ने मन भइरह्यो। उसको नमिठो विगत बिर्सेर उसको भविष्य सुमधुर बनाउने चाहना पलाउन थाल्यो।

एकदिन कुरैकुरामा अन्जुलाई जिस्काउँदै भनेँ,’तिम्रो ब्वाईफ्रेण्डको फोटो देखाउ न ल।’
उसले आँखाभरि आँशु बनाई। मलाई बेकार उसको मन दुखाएँ भनेर पश्चाताप भयो। ऊ मेरा आँखामा हेरिरहेकि थिई। मैले पनि उसका आँखामा हेरेँ। त्यहाँ मेरो अनुहारको चित्र थियो।

‘देखेउ?’ उसले आँखा झिम्काई।

‘अँ देखेँ।’ म पनि हाँसेँ।

ऊ एक्कासी रून थालि। रूँदारूँदै बोल्न थालि।

‘यो सम्भव छैन, कदापि सम्भव छैन। हामी साथी नै ठिक छौँ। म त बिटुलो भइसकेकि मान्छे तिमीप्रति धोका हुन्छ बुझ्यौ।’

‘प्रेम त मनले मनसँग गर्ने हो नि। शरीर त कहिले के हुन्छ कहिले के। भोली तिमीलाई रोग लाग्यो भने पनि माया गर्न छाड्नु त मैले?’

‘कुरा त्यस्तो हैन नि लाटा। भविष्यमा कुनैदिन यहि कुरा निस्कियो भने जिन्दगी झनै कठिन हुन्छ नि त।’

‘सुरूमै थाहा पाएपछि त केहि हुँदैन। कठिन त कुनै अन्जानसँग बिहे गरेउ र उसले थाहा पायो भने हुन्छ लाटि!’

‘साँच्चै माया गर्छौ मलाई? यस्तो थाहा पाएर पनि साथ दिन्छौ?’ उसले मेरो हात समाएर सोधि।

‘तिम्रा यी गहिरा आँखाहरूभन्दा पनि गहिरो माया गर्छु लाटि। साथ त तिमीलाई नरकसम्म पनि दिनसक्छु।’

‘उफ् गफाडिका गफ।’ उसले हाँसेर मलाई अँगालो हालि। मेरो प्रेममा उसले लालमोहर लगाइदिएकि थिई।

‘यो सब हुनुअगाडि नै तिमीलाई भेट्न पाएको भए।’ ऊ मेरो छाती भिज्नेगरि आँशु निकाल्दै बोलि।

‘यो सब भएर र त मेरो प्रेमको परिक्षा भयो नि लाटि। म परिक्षामा पास भएँ नि त।’

ऊ केहि बोलिन। केवल मलाई दह्रोसँग अँगालेर उभिइरहि। पर क्षितिजमा दाग लागेको जुन पनि उदाउन लागेको थियो। त्यो जुन यति उज्यालो र सुन्दर थियो कि उसको मुहारको दाग त्यहि उज्यालोमा हराएझैँ लाग्थ्यो।

-सुरेश बादल

लेखक सुरेश बादलको अघिल्लो कथा “सारा” पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here