स्थानीय तहको निर्वाचनले प्रदेश नम्बर ३,४ र ६ का मतदान केन्द्रमा प्रवेश गरिसक्यो । २८३ तहको लागि १३,५५६ जना निर्वाचित हुने यो चुनाब नेपालको ईतिहासमा पहिलो पटक हुँदै छ । २० वर्ष अघि भएको चुनाब स्थानीय निकायको लागि थियो, जसका अधिकारहरु सीमित थिए । तर, यहि बैशाख ३१ मा ३ वटा प्रदेश र अन्य प्रदेशमा दोश्रो चरणमा हुने यो निर्वाचन गाउँगाउँमा सिंहदरबार ल्याएर आउनेछ ।
यति महत्वपूर्ण चुनाबमा सात छाप कता हाल्ने त ? धेरै जनताहरु कन्फ्युजनमा हुनुहुन्छ होला । तपाईको कन्फ्युजनको मात्रालाई झनै झनै उग्र बनाउन टिप्पणीहरु प्रस्तुत गर्दैछौं ।
नेपाली काङ्ग्रेस
नेपाली काङ्ग्रेसलाई सात छाप लगाउनु पर्ने पहिलो कारण त यसको चुनाब चिन्ह नै हो । भरिया दाईको बिसाउने चौतारी देखि नेपालको धन हरियो बन सम्म रुखको जबर्जस्त आवश्यकता छ । पुजीवादी व्यबस्थाको वकालत गर्ने पार्टी भएकाले धनी बन्न ईच्छुक जनताले रुख चिन्हमा सात छाप लगाउन जरुरी छ ।
यो पार्टिले अन्य पार्टीको जस्तो भ्रम बाड्दैन, बरु भुइचालोको बेला जस्तापाता वितरण देखि देश डुब्न लागेको बेला नदिनाला बेचबिखनमा विशेष सहयोग गर्छ । यसर्थ, श्वास फेर्नलाई चाहिने अक्सिजनको पुर्ती गरिदिने रुख चिन्हमा आफ्ना अमूल्य सात छाप लगाई, नेताज्युको सात पुस्तासम्मलाई पुग्ने सम्पती आर्जन प्रक्रियामा सामेल बनौ ।
नेकपा एमाले
मनमोहन, मदन भन्डारी हुँदै माकुने झल्लुहरुले पार्टि चलाउन्जेल बुढेसकालको सहारा सुर्य चिन्हमा सात छाप लगाउनु पर्ने थोरै कारण थिए । वृद्धभत्ता, वृद्धभत्ता र वृद्धभत्ता नै मुख्य कारण थियो जसलाई देखाएर एमालेले भोट माग्थ्यो ।
त्यसैले उ सधै दोश्रो र जंगली हस्तक्षेप पछि तेस्रो भएको थियो । तर, एमालेको बागडोर केपी वलीकोले सम्हालिसकेपछी, सुर्य चिन्हमा मतदान गर्नु पर्ने थुप्रै कारण बनिसकेका छन् । युवाको हातहातमा र ओठओठमा रहने सुर्य, वृद्ध-वृद्दाको बैंक खातामा सीमित भएको सुर्यले आफ्नो दायरा बढाएको छ । अंगीकृत नागरिकता बाड्नबाट रोक्न, महाअभियोग जस्तो कु-कदम रोक्न, नाकाबन्दीे सामना गरि राष्ट्रियता बचाउन सफल भएको पार्टी जस्ता थुप्रै भ्रम फिजाउन सफल पार्टी नेकपा एमाले नै अहिलेको मुख्य आवश्यकता हो ।
अलि ठिक्कको ज्यान भएकाहरुको लागि एमाले र युवा संघ उपयुक्त बिकल्प हो। एमालेलाई भोट नहाल्नु भनेको वृद्धभत्ताका बिरुद्ध हुनु हो, ती निर्दोश हजुरबुवा-आमाका विरुद्ध बोल्नु हो। एमालेलाई भोट नहाल्नु भनेको नेपाललाई बिहारको जिल्ला बनाउनु हो। एमालेलाई भोट नहाल्नु भनेको रास्ट्रवादको भ्रममुक्त हुनु हो ।
तपाईहरु कोहि पनि भ्रममुक्त हुन पाउनु हुन्न । तपाईहरु कोहि पनि काम नगरी खाने वृद्धभत्ता गलत हो भन्न पाउनु हुन्न । यसर्थ सम्पुर्ण लोडसेडिङबादी भेडाप्रजातिहरुमा सुर्य चिन्हमा सात छाप ठोकेर नाकाबन्दीको सामना गर्ने सामर्थ्यलाई झन बलियो बनाउन, बुढेसकालको सहारा मजबुद बनाउन, राष्ट्रवाद भ्रमलाई झन उचाइमा पुर्या उन यो टिप्पणीकार आह्वान गर्दछ ।
नेकपा माओबादी केन्द्र
हाम्रो महान् तथा गौरबशाली पार्टीलाई जिताउनु पर्ने थुप्रै कारण मध्य मुख्य कारण हो उज्यालो नेपाल । चमत्कारिक ढङ्गमा कुलमान इफेक्टले काम गरेपछी, काठमाडौ लगायत देशभर लोडसेडिङ निर्मुल वा न्यूनीकरण भएको छ ।
उर्जामन्त्री प्रभाकर र प्रधानमन्त्री प्रचन्ड कै कारण देश उज्यालो तर्फ लम्किरहेको हुनाले सम्पुर्ण उज्यालो चाहने गुरिल्लाजनहरुको सात छाप गोलाकार भित्रको हसिया हथौडामा खस्न जरुरी छ । माओबादी केन्द्रलाई भोट हाल्नु पर्ने अर्को कारण के पनि हो भने, माओबादी दस वर्षे जनयुद्ध लडेर आएको शक्ति हो ।
बडो संघर्षशील ईतिहास रहेको यो पार्टीलाई सात छाप लगाउने हो भने मात्र धनयुद्दका शहिदहरुले तर्साउन छोड्नेछन । हसिया गाउघरमा दैनिक प्रयोजनमा आइराख्ने भएकाले पनि सम्पुर्ण गाउमा बस्ने झोलेहरुले माओबादी केन्द्रको चुनाब चिन्हमा सात छाप लगाउन जरुरी छ ।
यसबाहेक माओबादी केन्द्रलाई जिताउनु पर्ने कारण के पनि छ भने, यदि जिताउने होइन भने उ धाधली भयो भन्दै बुरुक बुरुक उफ्रिन थाल्छ । माओबादी केन्द्रलाई सात छाप लगाउने होइन भने, एमाले सत्तामा आउँछ र देशैभरी लोडसेडिङ गराउछ भन्ने कुतर्क प्रस्तुत गर्ने महान् पार्टिमा सात छाप हानी लोडसेडिङ र एमालेमुक्त नेपाल निर्माण गर्न सम्पुर्ण न्यायकामी छापामारजनमा यो टिप्पणीकार बिन्ती गर्दछ ।
राप्रपा
राप्रपामा तपाइको अमूल्य सात छाप हान्नु पर्ने कारण भनेको अहिलेको राप्रपा उहिलेको काङ्ग्रेस हो । ४० वर्षमाथिका सम्पुर्ण काङ्ग्रेसजनले राप्रपामा भोट हाल्नु पर्छ किनकी, त्यो समय काङ्ग्रेस प्रजातन्त्र, हिन्दुराज्य र संबैधानिक राजतन्त्रको वकालत गर्दथ्यो । त्यही नीति मन परेर काङ्ग्रेस भएकाहरु अबको गणतन्त्र र धर्मनरिपेक्षता मान्ने अनि माओबादीसङ्ग तालमेल गर्ने काङ्ग्रेसमा बस्न जरुरी छैन बरु, राजाको कान्छो छोरो बन्न नसकेको पार्टी राप्रपा नेपालमा आउन जरुरी छ ।
त्यस्तै, गाई हाम्रो राष्ट्रिय जनावर हो । राष्ट्रिय जनावरको सम्मानार्थ पनि तपाइले राप्रपालाई भोट हाल्न पर्ने हुन्छ । खेतीपाती गरेर पैसा कमाइन्न, त्यसैले अब गाईपालन गर्नुपर्छ भन्ने सोचमा रहेका किसानको लागि राप्रपा सुनौलो अवसर हो । देश बचाउने एक मात्र शक्ति राजा भएको त “राजा आउ देश बचाउ“ वाला डाइलगबाटै सबैलाई थाहा नै छ । त्यसैले यी नेताको लुटतन्त्र रोकि ज्ञानेन्द्र शाहको परिवारको लुटतन्त्र अनि, र्यावल काड्न जाने कमल थापाहरुको हितको लागि भए पनि राप्रपा नेपालको चुनाब चिन्ह गाईमा सात छाप लगाऔ ।
राष्ट्रिय जनता पार्टी
राष्ट्रिय जनता पार्टी नेपालको राजनैतिक इतिहासमा निकै चर्चित पार्टी हो । नाम त राजपा नै हो पार्टिको तर जन्ता कसैले मधेसी दल, कसैले मधेसबादी दल, कसैले फोरमहरु, र कसैकसैले त भाजपाको नेपाल ब्रान्च पनि भन्न पछि पर्दैनन्। यति बहुनामी यो पार्र्टीको नाम राजपा चै केही दिन हप्ता अघि मात्र भएको हो ।
राजपा लाई भोट हाल्नु पर्ने मुख्य कारण भनेको, यिनिहरु देशलाई बिदेश बनाइदिन्छन्। भएन त काइदा । राजपाको महत्वाकांक्षी लक्ष्य भनेकै देशलाई विदेश बनाउनु हो। हामी सम्पुर्ण जनता कै हितमा टाढाको बिदेश बनाउदा गाह्रो पर्ने भएकोले नजिकैको बिदेश अर्थात भारतमा गाभ्नु यो पार्टिको मुख्य लक्ष्य हो ।
राजपालाई सात छाप लगाउने हो भने हामिले भु(परिवेस्ठित हुनुको पीडा खप्नु पर्ने छैन । हामीले पेट्रोल आयात गर्नु पर्ने छैन । डलरको रेट १०३ तिर्नु पर्ने छैन । सानो देश भनेर चित्त दुखाउनु पर्ने छैन ।
बर्खायाम नजिकिदै गरेको र एमालेको सुर्य चर्किन थालेको बेला सन्तुलित भएर राजपाको छाता चुनाब चिन्हमा भोट हाल्नु भारतक आवश्यकता हो। केही नगरेरै हाम्रो भावनाको कदर गर्दै देशलाई बिदेश बनाउने राजपामा सात छाप लगाउन यो टिप्पणीकार सबैलाई आग्रह गर्छ, अन्यथा सडक तताइने छ, गोलि खान किन नपरोस्, काठमान्डूको दानापानी बन्द गरिने छ !
नयाँ शक्ति नेपाल
नयाँ शक्ति नेपालमा भोट हाल्नुको मुख्य कारण देशलाई माओवादी मुक्त बनाएर पुर्व माओबादी युक्त बनाउनु हो। प्रचण्ड माओबादीमा लेनदेन नमिलेपछी मातृका, वैद्य, बिप्लपको बाटो रोज्दै नया घर बनाउन हिडेका लालध्वजको यो पार्टीको एकमात्र निकाश आर्थिक बिकास हो । प्रचन्डबाट टुक्रिएर, उपेन्द्र यादबसङ्ग मिलेर, माओबादीको र राजपाको एक दुई भोट काट्नु नया शक्तिको मुख्य मिसन हो । टिप्पणीकारले नयाशक्तीका उमेदवारलाई सात छाप हान्न अनुरोध गर्नुको भयानक कारण के पनि छ भने, नया शक्तिको आँखाले रअ्को चलखेलसम्म देख्न सक्छ ।
काठमाडौको सडक कस्ले ठूलो बनायो? प्रचण्डलाई युद्धबाट शान्ति प्रक्रियामा कस्ले ल्याएर आयो? जस्ता ऐच्छिक प्रश्न उत्तर बन्ने नया शक्तिमा सात छाप हालौ, देशलाई सिन्धुलीको बाटो जस्तै घुमराहमा पारौ ! पुनश्चस् सात छाप लगाउन मन नभए पाँच छाप गालामा लगाउनुहोला तर, जुत्ता चप्पालको प्रयोग कुनै पनि हालतमा प्रयोग नगर्न होला ।
विवेकशील नेपाली
यसपाली… विवेकशील नेपाली किनकी विवेकशीलले हजुरहरुको विवेकमा सिल लगाइदिन्छ र एनजिओको छत्रछायामा सुन्दरमान्डुको आश्वासन दिन्छ । २१औ शताब्दीको यो युगमा २१ वर्षकै उमेदवारलाई भोट हाल्नु पर्छ भन्ने मान्यताका साथ चुनाबमा समेल भएको यो संस्था माइतीघरको चटपटे पानीपुरी अनि चियापसलेको आम्दानीको स्रोत हो ।
गोबिन्द केसिको ज्यान जोगाउन सफल यो संस्थालाई सात छाप लगाउनुको मुख्य कारण अर्को चुनाबबाट छाप हान्न गाउँ जानुपर्ने, दिनभरी लाइन लाग्नु पर्ने झन्झटको अन्त्य गरिदिन्छ । फेसबुक मार्फत नै भोट हाल्न लगाएर एक नम्बर पार्टी बन्ने सोचाईमा रहेको यो पार्टिमा भोट नहाल्नु भनेको, लुटतन्त्रको मतियार बन्नु हो, भ्रस्टाचारी बन्नु हो । यो राजनैतिक दल भन्दा पनि एक गैरसरकारी संस्था हो भन्ने कुरा पनि अवगत गराउन चाहन्छु ।