महारानी

0
2380

म:
बाह्र वर्षको थिएँ । कि अल्लि थिइँन कि ? सम्झन्छु, बुवाको कम्मर कम्मर आउँथे । तिमी त घुँडा घुँडा पनि आँउथ्यौ के भन्नु जस्ती । दुई चुल्ठी कपाल बाटेर माथिल्तिर भाँचे जस्तो पिरिक्क पिरिक्क पारेर कपालमा रातोरिबन हालेकी हुन्थ्यौ । आँखा त चिम्सा चिम्सा हुन् तिम्रा, तर गाजल लाएर अलि ठूला पार्न खोज्थ्यौ । यो पनि झल्झली सम्झिन्छु, तिम्रा लुगा सधैँ सुकिला हुन्थे । हामी चाहीं दिन-रात बगरमा उफ्रेर कपाल भरि एक रास बालुवा बोकेर हिँड्थ्यौँ, तिमी सधैँ चिटिक्क गुडिया जस्ती ।

एक दिन धुस्रो फुस्रो भएर घर फर्कंदै थिएँ । अर्कोतिरबाट तिमी आउँदै थियौ, कसो कसो तिम्रो गालामा हातले छोइएछ, काम पुगिहाल्यो ।
CoImage
“मलाई फोहोर बनाइस्, बालुवा दलेर!” तिमी कुर्लियौ ।
“कसैलाई बालुवा दल्या छैन हाम्ले,” मैले पनि ओठे जवाफ फर्काएँ, र कुदें आफ्नै घरतिर ।

स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै गएर बुवालाई पोल लगाएँ, “पसेलेकी छोरी, आफैँ म भा छेउ ढेसिन आथी, पछि त मैले फोहोर पारें भन्दिरैछे ।” बुवा संधैको सन्त, त्यो दिन पनि भनिदिनु भयो, “छाड्दे, तिनेरका सन्तान नै त्यस्तै छन् ।”

जस्ता सुकै हुन्, मलाई के वास्ता । त्यो दिन देखि तिमीलाई देख्नेबित्तिकै मुख बिच्क्याउँथे, सकेसम्म तर्केरै हिन्थें । अरुलाई सुनाउँथे, “त्यो केटी नाप्पेकी छे है, नजाओ त्यसको छेउ ।” तिमीले थाहा पायौ-पाइनौ मलाई पत्तो छैन, मैले भने धेरैलाई भड्काएँ आठ-दस दिन । अझै यसमै लाग्थें होला, तिमी पैनीमा नखसेकी भए । अथवा मैले नदेखेको भए ।

तिमी चिप्लेर पछारियौ, म पछि पछि आइराखेको, आँखा त्यतै पुगिहाले । हात नदिउँ मिलेन, फरक नटक्टक्याइदिउँ भएन । इनारबाट पानी तानी तानी हिलो पखाल्न लाएँ नि, के गर्नु, ऊ बेलादेखिको मनकारी म ।

कम्ताकी घमण्डी थियौ र, धन्यवादको एक वचन पनि मुखबाट झारिनौ । हामीसँग बोल्दा तिम्रो चमक घट्थ्यो होला नि । चुपै लागेर पनि गर्न चाहीं धेरै गर्यौ तिमीले, त्यो त मान्नै पर्यो । कहिले पोलेका मकै ल्याइदियौ, कहिले पाकेका आँप । एक खेप त मेरा झोलामा दुइटा चाउचाउ नि हालिदियौ, कसैले थाहा नपाओस् भनेर कागतमा पोको पारिवरि ।

स्कुलमा नि हामी सँगसँगै बस्न थालेका थियौँ । पछाडिबाट केटाहरुले प्याच्च प्याच्च केकेजाति भनिराख्थे, तिमीले उतिसारो ध्यान दिएजस्तो लाग्दैन । मलाई त झन के मतलब, कहिले टिफिनको घण्टी बज्ला र तिमीले झोलाबाट खानेकुरा निकालौली भन्ने मात्र ध्याउन्न हुन्थ्यो । सुन्तले मिठाई, बाबा बिस्कुट र चिल्ला डुनट त कति खुवायौ कति !

स्कुल सकिएर पनि हामी एउटै बाटो घरतिर लाग्थ्यौँ । तर पुलनेर पुगेपछि तिमी देब्रेतिर मोडिन्थ्यौ, अनि म चाहीं पुल तर्न । त्यो पुल एक्लै काट्नु पर्दा मलाई कम्ती पट्यार लाग्दैनथ्यो, छेउमा समातेर बेस्सरी हल्लाउँदै र अरुलाई तर्साउँदै बल्ल बल्ल पल्लो किनारमा भएको घर पुग्थें ।

भोलिपल्ट बिहान पुल अलिक छोटिएजस्तो लाग्थ्यो है । कुदेर पुल तर्नेबित्तिकै तिमी पर्खिराखेकी हुन्थ्यौ नि त । अनि त उही, कापी खोसाखोस, कपाल तानातान, झोला फालाफाल । त्यति रमाइलो त फेरि कहिल्यै भएन जिन्दगीमा ।

dreams02

* * *
र एकदिन, अझ भनौं एक रात, त्यो पुल भाँचियो । रातभरि पहिरो गाको रे । मुर्दा जस्तो निदाउने म,केही पत्तो पाइनँ । आमाले चाहीँ धर्ती फुट्यो भन्ठान्नु भएको रे । बिहानै सुन्ने बित्तिकै कुदेर पुलछेउ पुगेँ । यहाँ पुल पनि थियो के त ! जस्तो भाको रैछ । अरु बोलिरहेका थिए, मेरो मगजमा केही घुसेन । म पिरले रन्थनिएँ – अब कसरी स्कुल जानु ? स्कुल जानु नपरे त खुब रमाउथें नि, तर त्यहाँ नगई तिमीलाई कसरी भेट्नु ? अर्को पुल थियो छ घण्टा पर्तिर । बिचमा बस्ती भए पो पुल हुनु !

के गरुँ र कसो गरुँका सुरमा भौतारिएँ बगरका ढुंगा खेलाउँदै । अँहँ, कतै केही उपाय लाग्ने देखिन । अल्लि पर केटाहरु गुच्चा खेल्दैथिए, मलाई भिड्न मनै लागेन । लुसुक्क घर फर्किएँ, सिरक ओढेर सुतिदिएँ दिनभरि । र त्यसपछिका धेरै दिन, त्यसैगरी बिते ।

आमाले ननिको मान्नुभएको देखिराको थिएँ, बुवाले पनि याद गरिसक्नु भएको थियो । न्यास्रियो भन्ठानेर होला, मलाई फुल्याउन अनेक जुक्ति लाउनुभो । तर अँहँ, पटक्कै फिरिन म । बेला बेला भत्केको पुलको डिलमै पुगेर हेर्थेँ, पल्लो छेउमा बुट्टे सर्ट लाएर उभ्भेकी तिमी नै हौ कि जस्तो लाग्थ्यो । निकै बेर निध्याएर हेर्थेँ । अनि फेरि उही त हो, लुरुलुरु घर ।

* * *
म यसैगरी वर्षौं कटाइदिन्थेँ होला, हाम्रो गाउँमा महेन्द्र दाइ नटुप्लुक्किएको भए । महेन्द्र मेरो काकाको छोरा, बजारमै बसेर पढ्थ्यो, अहिले दशैंमा बा–आमा भेट्न बाह्र घण्टाको बाटो छिचोलेर आएको रैछ । एकैछिन भए पनि मन बौरियो, तर उसले हतार–हतार सुनाइहाल्यो, “तेरी मुख फुलाउने महारानीको त बिहे हुन लाको छ ।”

को र कहिले भनेर सोध्ने होस पनि भएन मलाई । यत्ति थाहा थियो, बिहे भए अरु केटीजस्तै शहर पुग्छे,मैले नदेख्ने-नभेट्ने ठाउँमा । त्यहाँबाट बोलाएर ल्याउने न मसँग शक्ति हुन्छ, न समय । अनि मलाई जेरी ल्याएर ख्वाउने को, बालुवा घर बनाउँदै भत्काउँदै खेल्ने को ?

खरो भो नि, खरो । तुरुन्तै बुवाका कोठामा पुगेर भनेँ, “पुल बनाइदिनोस्, नत्र म अर्को पुलबाट तर्छु ।”

बुवा तर्सिनुभो, अब काँबाट ल्याउने पुल, मैले ढिपी गरेर दशैँ नआउँदै हाल्देको पिङ्ग जस्तो हो र । मेरो बहुलठ्ठीपनको कुरो आमालाई सुनाउन बुवा हिँड्नुभो, म बाल क्लब तिर हान्निएँ । अरुबेला त त्यो खिइएको बोर्ड देखेर ओठ लेप्र्याँउँथे, सदस्य बन्न पैसा उठाउँदै आउँदा खिस्याएर भागिदिन्थेँ । अब भित्र पसेर रुँला झैँ गरेर बिन्ती बिसाएँ, “बजारमा एउटी बाह्र वर्षकी केटीको बिहे हुन लाको छ, रोकिदिनु परो ।”

मिटिङ चल्दै रैछ, सबैले मुखामुख गरे । अधेक्ष भनाउँदोले निकै घोरिएर हेरो मलाई, “को केटी नि ?”

म एकछिन अकमक्किएँ, अनि सुनाएँ, “हामीसँगै पढ्ने केटी हो, साहुकी छोरी ।”

कोषाधेक्षे ङिच्च गरेर हाँस्न थाली, “ए, तेई भर पो !”

कुरा फैलियो, सबै हाँस्न थालेँ, तर ओठबाट तिम्रो नाम फुस्केन ।

अधेक्षेले भन्यो, “रोक्नु त पर्ने हो, तर जाने कसरी ?”

मेलै जान्ने भएर बोलिहालें, “मेरा बाले पुल बनाउँदै हुनुन्छ ।”

अब त झन सबै मरीमरी हाँस्न थाले ।

औडाहा भो मलाई, सभापतिले चाहिं बुझेछ, अरुलाई चुप लाउँदै भन्यो, “ल, ल, पुल बन्नेबित्तिकै जाउँला !”

त्यसपछि त मेरो सपना, जपना, तिर्सना, एउटै – पुल । सबेरै पुल, साँझै पुल, भात खाँदा पुल, ओछ्यान पस्दा पुल । आमा त आत्तिनु भएछ, छोरालाई के ले छोप्यो भनेर । बालाई कम्ता भनसुन गर्नुभको होइन, तर बाले पनि के गर्नुस् बिचरा, एक्लै पुल बनाउने कुरो आएन ।

अनि म थला परें। नराम्रैसँग । भाको के हो कसैलाई थाहा थिएन । हनहनी जोरो आउने, फेरि जिउ चिसिएर काठ हुने, पिडुँला सुन्निने, हात बाउँडिने । आँखा नै पिर्लिक पिर्लिक पार्न थालेपछि चाहीं आमालाई अति भएछ, आफुँसग भएजति सिरिसम्पत्ति साटसुट्टै बालाई दिनुभएछ, पुल बनाउन । एउटै सन्तान पो परें त, मेरा अघि आमालाई गहना गुरियाको के मोह ।

बाले कसलाई कति फुल्याउनु पर्यो होला, ककसको अघि हात जोड्नुभो होला, कति नाइँ नास्ति सुन्नुपरो होला । सबैले बहुलाएकै सोचे होलान् नि, छोराको ढिपीले एक्लै पुल बनाउनसुरिएको बाउ ! तर कसो कसो सहयोगी हात निस्केछन् । हुन त सबैकुरा पैसा न हो ! म ओछ्यानमा घुस्रेको छ दिनका दिन, पुल तयार भो । एकदमै कच्ची, बाँस र काठका फलेक जोडेर बनाको फड्के । तर पुल त पुल नै हो नि ।

सुन्ने बित्तिकै म तङिग्रएँ – त्यो पनि यति चाँडो, आजसम्मको इतिहासमा कोही सिकिस्त बिरामी त्यति चाँडो सद्दे भएको थिएन होला । सुकेका खुट्टामा कैलेको बल आएको हो, हावाकै वेगमा पुलछेउ पुगेँ । त्यो पुल… त्यो पुलजति
सुन्दर वस्तु यो संसारमा न कुनै थियो, न हुनेछ !

dreams03

* * *

कोही त साँझ परिसक्यो भनेर टालटुल पार्न खोज्दैथे, मैले कहाँ मान्थेँ र । तान्दै घचेट्दै बाल क्लबका सबैलाई तिम्रा आँगनमा पुर्याँएँ । हुन त हामीनपुग्या भा नि बा आमालाई तिमीले हत्तु पारेकी रैछौ । टाउको भित्तामा बजारेर रगतपच्छे बनाएकी रैछौ, बिहा गर्नु भन्दा त मर्छु भनेर माटोको ढिस्कोबाट फाल हाल्दा खुट्टा पनि भाँचिछौ । बा-आमा न हुन्, मन पग्ल्यो, छोरीको दुर्दशा कति दिन देख्न सक्थे र । हामीले तेत्ति सम्झाउन नि परेन, सहजै माने, बाले त भनि दिए, “अब बिहा गर्छु भने नि गर्दिदैनौं,लगाओस् उसकै कितापलाई माला !”

खम्बामा ढेसिएर बसिराखेकी तिमीलाई पुलुक्क हेरें । कति दुखेको थियो होला, तर तिमी हँसिली थियौ । तेसपछि पनि हामी पाँच वर्ष सँगै पढ्यौं, पहिलाको दिनचर्यामा रत्तिभर फरक आएन ।

एउटा हल्ला चाहीं मैले सुनेथें, त्यो पुललाई तिमी “पेवा” भन्थ्यौ रे, त्यहाँबाट हिँड्ने सबैसँग कर उठाउँछु भन्थ्यौ रे, कोही पुलमा दौडियो भने रिसाउँथ्यौ रे ।

अनि अर्को कुरा पनि सुनेको छु, बिहान बिहानै उठेर मन्दिर जानु भन्दा पहिला तिमी यही पुलको पुजा गर्छौ रे । कति सत्ते हो, त्यो तिमी नै जान, भन्न मन छ भने भन ।

* * *

तिमी:

अरु सबै कुरा सत्ते हुन्, एउटा बाहेक । सखारै उठेर म मन्दिर गएकी हुन्न ।
यही पुललाई नै धुपबाती गर्न आएकी हुन्छु ।

****

Text By: Richa Bhattarai
Photography By: Mohan Duwal

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here